मजदुरहरुका आवाज दविने तर्फ भलाईकोष सचेत रहन आग्रह
यातायात मजदुर तथा व्यवसायी भलाई कोषको ४० र्औ वार्षिक साधारणसभा विहीबार सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा बोल्ने वक्ताहरुले मजदुरहरुको हित र अधिकारको रक्षाको लागि भन्दै स्थापना गरिएको भलाईकोषले पछिल्लो समय व्यवसायी र मजदुरहरु लाई एकआपसमा जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रमको उद्घाटन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले व्यवसायीहरुको बोलवाला बढ्दै जांदा मजदुरहरुका आवाज दविनेतर्फ भलाईकोष सचेत रहन आग्रह गर्नुभयो ।
उहांले व्यवसायी र मजदुरहरुका समस्या एकआपसमा सम्बन्धित रहेको उल्लेख गर्दै भलाईकोषलाई मजदुर र व्यवसायीहरु दुवैको हितमा हुनेगरी संचालन गर्न आग्रह गर्नुभयो । उहांले रुपन्देहीमा शव बाहनको आवश्यकता रहेको उल्लेख गर्दै भलाईकोषले शव वाहन ल्याउन चाहे भन्सार छुट संगै अन्य प्रकृयामा पनि आफ्नो सहयोग रहने बताउनुभयो ।
भलाईकोषका अध्यक्ष नारायण प्रसाद भट्टराईको अध्यक्षता, महासचिव दिनेश फुल्लेलको संचालन तथा उपाध्यक्ष दिनेश गुरुङको स्वागतमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिती सदस्य प्रेम नारायण खरेल, एमालेका जिल्ला उपाध्यक्ष शिव सुवेदी, पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक प्रकाश अधिकारी, भलाईकोषका पूर्व अध्यक्ष कुमार थापा, पश्चिम नेपाल बस व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरे, नेपाल ट्रेड युनियन महासंघ लुम्बिनी राप्ती अञ्चल अध्यक्ष हरी कार्की, टे«ड युनियन कांग्रेसका काजीमान श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सोहि अवसरमा सवारी दुर्घटनामा परि ज्यान गुमाएका टिप्पर चालक सुनवल किर्तिपुरका तिल बहादुर गुरुङकी श्रीमती दिलमायां गुरुङलाई सहयोग स्वरुप नगद २५ हजार र मृत्यु भएका अर्का चालक सुनवल प्रगतीटोलका प्रेम कार्कीकी श्रीमती मायां कार्कीलाई नगद १० हजार रुपैया प्रदान गरिएको थियो ।