नेपालमै बन्ने भो मोटर स्पोर्ट्सका लागि रेसिङ ट्रयाक
मंसिर १६, काभ्रे – काभ्रेको धुलिखेलमा मोटर स्पोर्ट्सका लागि आवश्यक रेसिङ ट्रयाक निर्माण गरिने भएको छ । आज आयोजित एक कार्यक्रममा रेसिङ ट्रयाकका लागि धुलिखेलको जग्गा हस्तान्तरण गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य बद्री अधिकारीको प्रमुख आतिथ्यतामा नेपाल अटोमोबाइल्स एसोसिएन (नासा) का कार्यवाहक अध्यक्ष मेघराज पौडेल र जग्गा धनीहरुका बीचमा आज आयोजित कार्यक्रममा सम्झौता आदानप्रदान भएको थियो । उक्त अवसरमा दुवै पक्षले यो सम्झौताबाट नेपालको मोटर स्पोर्ट्सका साथै धुलिखेलको पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए ।
रेसिङ ट्रयाक निर्माणका लागि नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) लाई सो जग्गा हस्तान्तरण गरिएको हो । धुलिखेल नगरपालिका वडा नम्बर ३ स्थित पूर्व प्रस्तावित बेइजिङ प्लानको निजी जग्गा नासाले भाडामा लिएको हो । सोही जग्गामा रेसिङ ट्रयाक निर्माण गर्ने नासाको योजना छ । उक्त मोटर स्पोर्ट्स रेसिङ ट्रयाकमा गो कार्टिङ, सुरक्षित ड्राइभिङ तालिम तथा मोटर÷मोटरसाइकल स्पोर्ट्समा आधारित विभिन्न प्रतियोगिताहरुको आयोजना गरी मोटर स्पोर्ट्स एवं आन्तरिक र वाह्य पर्यटन वृद्धि गर्ने नासाको लक्ष्य रहेको छ ।
काठमाडौंबाट नजिक भएको र भौगोलिक रुपले पनि मोटर स्पोर्ट्सको लागि सुहाउदो स्थान भएको, छिमेकी राष्ट्र चीन र भारत दुवैका लागि सुहाउदो गन्तव्य भएकोले धुलिखेल मोटर स्पोर्ट्सको लागि रोजाइमा पर्ने र यसले धुलिखेलको अर्थतन्त्र अझ क्रियाशील र मजबुत बनाउनुका साथै धुलिखेलबासीका लागि नयाँ रोजगारीको समेत सिर्जना गर्ने विश्वास लिइएको छ ।
त्यसैगरी रेसिङ ट्रयाकबाट खेलाडीहरुको विकास गर्नुका साथै यो नेपालको पहिलो र एक मात्र रेसिङ ट्रयाक हुने भएकाले प्रचुर मात्रामा स्वदेशीका साथै विदेशी खेलाडीहरुको आगमनको सम्भाव्यता समेत बढाउने विश्वास गरिएको छ । सन् २००८ मा स्थापित नेपाल अटोमोवाइल स्पोर्टस् एसोसिएसन (नासा) नेपालमा मोटर, मोटरसाइकल स्पोर्टस् तथा अटोमोवाइल क्षेत्रसँग सम्बन्धित राष्ट्रिय संघ हो । मोटर स्पोर्टस्, अटोमोवाइल मोविलिटि र टुरिजम तथा रोड सेफ्टी यसका मुख्य ३ कार्य हुन् , जसमा मोटर तथा मोटरसाइकलका खेल प्रतियोगिताको आयोजना, व्यवस्थापन र सुपरिवेक्षण समेत पर्छन् । त्यसै गरी सदस्यहरुलाई मोविलिटि सेवा प्रदान गर्नु, ड्राइभ टुरिजमको विकास र व्यवस्था गर्नु तथा रोड सेफ्टी कार्यको नेतृत्व गर्नु आदि समेत यसका कार्य हुन् । नासा अन्तर्राष्ट्रिय मोटरिङ संस्था ‘फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआर्र्ईए) र फेडरेसन इन्टरनेसनल डेल मोटोसाइक्लिज्म (एफआईएम) मा पनि सन् २०११ देखि आबद्ध रहदै आएको संघ हो ।
रेसिङ ट्रयाकको अभाव, कानूनी अडचन, प्राविधिक तथा खेलाडी हरुको अपर्याप्तता, भौतिक पूर्वाधारको अभाव र आवश्यक व्यवसायिक लगानीको अभावको बीचमा पनि स्थापना काल देखिनै निरन्तर सक्रिय नासा आज नेपाली खेलकुदको मात्र होइन, टुरिज्म र रोड सेफ्टीको समेत आधार स्तम्भ बन्न पुगेको छ