भदौ २६, काठमाडौं – नेपाल अटो डटकमबाट
नेपाल अटो मेकानिक्स व्यवसायी संघको आठौं अधिवेशन तथा २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले अटो मेकानिक्सहरुले आफ्ना कमी कमजोरीलाई सुधारेर अगाडि बढ्नु पर्ने आवश्यकता माथि जोड दिए । मन्त्री पाण्डेले संघले गरेका सकारात्मक कार्यलाई अगाडि बढाएर आगामी दिनमा गर्नु पर्ने कार्यको योजना निर्माणका साथ अगाडि बढ्न आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शेखर गोल्छाले राजस्वको प्रमुख स्रोतको रुपमा रहेको अटोमोबाइल व्यवसायको जीवनका रुपमा रहेका अटो मेकानिक्सहरुलाई सबैले सम्मान गर्नु पर्ने आवश्यकतामा जोड दिए । नेपालमा सवारी साधन परीक्षण केन्द्रको आवश्यकता माथि जोड दिदै गोल्छाले मेकानिक्सहरुलाई आवश्यक तालिम र अटो भिलेजको निर्माणका लागि पहल गर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले जेन्युइन पार्ट्सको प्रयोगले नै सवारी साधनको आयु पनि लामो हुने र सवारी साधन सुरक्षित हुने कुरा बताउदै यस्ता पार्ट्सको प्रवद्र्धनमा लाग्नु पर्ने आवश्यकतामा जोड दिए ।
अटो मेकानिक्स व्यवसायी महासंघका संस्थापक अध्यक्ष महेश बज्राचार्यले मेकानिक्सहरु सवारी साधनमा आउने नयाँ प्रविधिका वारेमा जानकार हुनु पर्ने आवश्यकतामा जोड दिदै यसका लागि संघले तालिम लगायतका कार्य गर्नु पर्ने बताए ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का महासचिव गोविन्द भट्टराईले सडक सुरक्षाका लागि सवारी साधनको अवस्था राम्रो हुनु पर्ने र यसका लागि अटो मेकानिक्सको भूमिका महत्वपूर्ण हुने कुरा बताए ।
उक्त अवसरमा अन्य विभिन्न बक्ताहरुले समेत सवारी साधनको संचालनका लागि अटो मेकानिक्सको भूमिकाका वारेमा प्रकाश पारेका थिए ।
कार्यक्रमको अवसरमा अटो मेकानिक्स पेशालाई मर्यादित र सम्मानित बनाउनका लागि लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्ने हरवंश सिंह र विनोदकुमार डालमियालाई सम्मान गरिएको थियो । त्यसैगरी यो वर्ष एसएलसी परीक्षा उत्तिर्ण गर्ने अटो मेकानिक्सका सन्तती र अटो मेकानिक्स व्यवसायी संघलाई आर्थिक सहयोग गर्ने विभिन्न व्यवसायीहरुलाई पनि सम्मान गरिएको थियो ।
अधिवेशनले दीपक खड्काको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ । प्रथम उपाध्यक्षमा उदयप्रसाद भण्डारी र द्वितीय उपाध्यक्षमा माधवबहादुर रिमाल निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा ठाकुरप्रसाद न्यौपाने, सचिवमा सुशील ढकाल, कोषाध्यक्षमा दीपेन्द्र बुढाथोकी र सह–कोषाध्यक्षमा मोहम्मद अस्फाक निर्वाचित भएका छन् । सदस्यहरुमा डालप्रसाद भट्टराई, सुमनप्रसाद सुवेदी, मोहम्मद अयुव, इन्द्रबहादुर प्रधान र बुद्धिकृष्ण गजुरेल निर्वाचित भएका छन्