श्याम पोखरेल
बुटवल,भदौ ८ ।
मर्मतको अभावमा बुटवलका भित्री सडकहरु जीर्ण बन्दै गएका छन् । भत्किनुका साथै सडकमा परेका साना ठूला खाडलहरुको समयमै मर्मत नगरिएका कारण भित्री सडकहरु जीर्ण बनेका हुन् ।
बुटवल उपमहानगरपालिका भित्रका अधिकांस भित्री सडकहरु समयमै उचित ढंगले मर्मत नभएका कारण सडक यात्रीले सास्ती भोग्नु परेको छ ।
मर्मत नभएका कारण वर्षायाममा सडकमा पानी जमेर सडक हिलाम्य हुने र हिउंदमा धुलो थुप्रीने भएकाले सडकयात्री जोखिम मोलेर यात्रा गर्न बाध्यता छ ।
बुटवलका अधिकांस भित्री सडकहरु जीर्ण बन्दा पनि सम्बन्धित निकायले मर्मतका लागि ध्यान नदिएको घनश्याम घिमिरे बताउनुहुन्छ ।
भत्किएका सडकहरु मर्मतका लागि वजेट माग गर्न बुटवल उपमहानगरपालिका पटक पटक गएपनि वजेट नदिने गरेको नगरवासीले गुनासो गर्ने गरेका छन् ।
सडक मर्मतका लागि विनियोजन गरिएको वजेट फ्रीज हुने भएकाले सडकहरु मर्मत नहुंदा सास्ती भोग्नु परेको नगरपालिकाप्रति नगरवासीले गुनासो गर्न थालेका छन् ।
सडक मर्मतका लागि गत आर्थिक वर्ष २०७१ । ०७२ मा सडक वोर्डले ८० लाख दिएपनि वजेट खर्च हुन नसकेको बुटवल उपमहानगरपालिकाका योजना शाखाका वरिष्ठ अधिकृत रामप्रसाद अर्यालले बताउनुभयो ।
अधिकृत अर्यालका अनुसार सडक मर्मत गर्नका लागि डेण्डर गदौगर्दै असार मसान्त लागेकाले काम गर्न बांकी रहेको हो । केही काम भएपनि असार मसान्त लागेपछि क्षेत्रबाट आउने रकम रोकिएकाले बांकी रहेको काम असोजबाट शुरु गरिने योजना अधिकृत अर्यालले बताउनुभयो ।
बुटवल क्षेत्रका सडकहरु मर्मतका लागि यस आर्थिक वर्ष बुटवल उपमहानगरपालिकाले १ करोड २० लाख बराबरको काम गर्ने योजना बनाएको बताईएको छ ।
बुटवलको मुख्य सडकलाई चारलेन सडक विस्तार शुरुभएपछि बढी मात्रमा भित्री सडकहरु प्रयोग हुने गरेका छन् ।
भित्री सडकमा परेका खाडलका कारण दैनिकजसो सानातिना सडक दुर्घटना हुने गरेका छन् । सडक भत्किएकै कारण सडक दुर्घटना हुंदा पनि बुटवल उपमहानगरपालिका, सडक विभाग र क्षेत्रीय ट्राफिक कार्यालय बुटवल लगायतका सम्बन्धित निकायले प्रभावकारी भुमिका खेल्न सकेका छैनन् ।