बुटवल साउन ३२
यस क्षेत्रका यातायात ब्यवसायीहरुको संयुक्त भेलाले गत सनिवार नवलपरासीको वासावसाहीमा भएको घटनाको निन्दा र भत्सर्ना गरेको छ । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको आयोजनामा सम्पन्न भेलामा सहभागी यातायात व्यवसायी संघ,संस्था तथा यातायात मजदुर संघ,संगठनहरुको बैठकले नवलपरासीको बासामा बन्दकर्ताहरुको आक्रमणमा परि ना. ४ ख १६१८ नं. को ट्रकका चालकको मृत्यु भएकोमा संघ संगठनहरु गम्भिर बनाएको धारण ब्यक्त गरे ।
बैठक पछि जारी संयूक्त बिज्ञप्तीमा उक्त घटनाको सत्य तथ्य छानविन गरि घटनाका दोषिहरुमाथि कडा कारवाहीको माग गर्दै मृत्तकका परिवार तथा तोडफोड र आगजनी भएका सवारी साधनको क्षतिपूर्ती तत्काल उपलब्ध गराउन राज्यसंग माग गर्दछ भनिएको छ ।
यसका साथै घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरि कारवाहीको दायरामा ल्याउन माग गर्दै प्रशासनमा जाहेरी दिने निर्णय गरिएको बिज्ञप्तीमा जनाईएको छ । प्रसासनबाट स्कर्टिड्ड गरि सञ्चालन गरिएका सवारी साधनमाथि आक्रमण हुनु तथा मजदुरलाई कुटपिट गरि हत्या सम्मको घटना घट्नुले राज्यको सुरक्षा व्यवस्था कमजोर भएको ठहर गर्दैै त्यसको पहिलो जिम्मेवारी राज्यले लिनुपर्ने तथा उक्त घटनामा गम्भिर नभए त्यसका विरुद्ध चरणबद्ध आन्दोलन गर्न सम्पूर्ण यातायात व्यवसायी तथा यातायात मजदुरहरुलाई आहवान गर्दै त्यसका लागि केन्द्रीय महासंघहरुमार्फत आन्दोलन थाल्न अनुरोध गर्ने निर्णय गरेको जनाईएको छ ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति, अध्यक्ष लोकराज पोखरेल, पश्चिम नेपाल बस व्यवसायी संघ, अध्यक्ष दधिराम खरेल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रिय सदस्य राजेन्द्र रिजाल, नेपाल यातायात मजदुर संघ, अध्यक्ष,कृष्णप्रसाद वेल्वासे, अखिल नेपाल यातायात मजदुर संघ जिल्ला समिति, रुपन्देही अध्यक्ष,मित्रबन्धु न्यौपाने, सिद्धार्थ यातायात ब्यवसायी समिती अध्यक्ष सुर्य कुमार सारु मगर अखिल नेपाल यातायात मजदुर संघका प्रेम कुमार घिसिङ बुटवल यातयात ब्यवसायी समितीका अध्यक्ष डिलबहादुर थापा लगायत द्धारा हस्ताक्षरीत बिज्ञप्तीमा घटनामा परि मृत्यु भएका चालक मजदुर र क्षतिग्रस्त सवारी साधनहरुलाई क्षतिपूर्ति, घटनामा संलग्न व्यक्तिहरुलाई कारवाही र निर्वाधरुपमा सवारी सञ्चालन गर्ने बातावरण नबन्दासम्म मृतकको शव नउठाउने निर्णय गरिएको बैठक पछि जारी बिज्ञप्तीमा उल्लेख गरीएको छ ।