माधव पराजुली
अनलाईन खवरबाट
गत हप्ता मात्रै नेपालमा तीन ठूला सडक दुर्घटना भए । धादिङमा ३१, गुल्मीमा ९ र उदयपुरमा ९ जनाले अकालमा ज्यान गुमाउनुपर्यो । नेपाल सरकारले धादिङको दुर्घटना छानविन गर्न समिति बनायो । अब पक्कै पनि गुल्मी र उदयपुरको दुर्घटनाको छानविन गर्न पनि समिति बनाइने छनेपालमा सडक दुर्घटना हुनु र छानविन समिति बनाउनु वा विभिन्न राजनीतिक दलले समवेदना प्रकट गर्नु खासै नौलो विषय होइन । तर, अहिलेसम्म कति छानविन समिति बने, ती समितिले के काम गरे, तिनको रिपोर्ट कहाँ छ, के सुझाव दिए र त्यो सुझावले सरकारलाई कति मद्दत गर्यो ? यसमा सरकार नै अनविज्ञ छ ।
राजविराजबाट काठमाण्डौं हिँडेको गाडीको सवारी चालकले मादक पदार्थ सेवन गरेको भन्ने विभिन्न पत्रपत्रिकाले उल्लेख गरेका छन् । गल्मीको दुर्घटना अर्को गाडीलाई साइड दिँदा भन्ने छ । राजविराजबाट काठमाण्डौं हिँडेको गाडी कुन होटलमा रोकियो र चालकले कहाँ मादक पदार्थ सेवन गर्यो ? के त्यो पहिचान छैन ? के त्यो होटेललाई सडक सुरक्षाको कुनै मतलव हुनुपर्दैन ? हैन भने त्यो होटलवालालाई कार्वाही हुन्छ कि हुँदैन ?
मादक पदार्थ सेवन गरेर दुर्घटनास्थलसम्म पुग्दा कति ठाउँमा ट्राफिक जाँच हुन्छ ? र ती ट्राफिकले के जाँच गरे ? कति ठाउँमा सवारी साधनले गर्ने गल्ती चालक र ट्राफिकको पैसामा हिसाव मिलान हुन्छ ? त्यही पैसाको लोभमा पनि ठूला ठूला सडक दुर्घटना हुने गरेका छन् ।
हालसम्म नेपालमा २७ लाख ८३ हजार ४२८ सवारी साधन यातायात ब्यवस्था विभाग अन्तरगत दर्ता भएका छन् । बाग्मती अञ्चलमा सबैभन्दा बढी १० लाख ४२ हजार ८५६ र सबैभन्दा कम कर्णालीमा ५३७ सवारी साधन दर्ता भएको देखिन्छ । यी सवारीसाधन मध्ये कति सडकमा चलाउन मिल्ने र कति नमिल्ने अवस्थामा छन् ? कतै उल्लेख गरेको देखिँदैन ।
नेपालको २०१५/१६ को प्रतिवेदन अनुसार प्रत्येक दिन २७ वटा साना ठूला सवारी दुर्घटना हुने गर्दछन् भने प्रत्येक दिन ५ जनाले ज्यान गुमाउने गर्दछन् । यसमा दोष कसको ? के कारणले प्रत्येक वर्ष सवारी दुर्घटना बढिरहेका छन् ।
नेपालमा हुने अधिकांश सवारी दुर्घटना लापरवाहीले गर्दा भएको देखिन्छ । के दुर्घटना न्यूनीकरण गर्न सकिँदैन ? हामी योजनावद्ध तवरमा काम गर्नेभन्दा पनि प्रतिकारात्मक तरिकाले काम गर्न रुचाउँछौं । त्यसैको फलस्वरुप आज दिन प्रतिदिन दुर्घटना बढिराखेका छन् ।
मुलतः सडक दुर्घटना अहिले विश्वका धेरै देशको ठूलो समस्याको विषय हो । फरक के मात्र हो भने विकसित देशमा भन्दा कम विकसित देशमा सडक दुर्घटना बढी हुने गरेको विभिन्न तथ्यांकले देखाउँछ । अफ्रिकी मुलुकमा सडक दुर्घटना अन्य मुलुकमा भन्दा धेरै छ । त्यसमा पनि निम्न आय हुने मानिस र पुरुषहरु बढी प्रभावित हुने गरेको पाइन्छ ।
अहिले विश्वमा १.२ विलियन सवारी साधन सडकमा गुड्ने गरेको पाइन्छ भने यो संख्या सन् ०३५ सम्म बढेर २ विलियन हुने अनुमान गरिएको छ । दिनानुदिन सडकमा सवारी साधनको संख्या थपिँदै जाने र दुर्घटना बढ्दै जाने हो भने अकालमा ज्यान गुमाउने संख्या झनै बढ्ने देखिन्छ ।
डब्लुएचओको २०१५ को प्रतिवेदनलाई आधार मान्दा प्रत्येक वर्ष १.२५ मिलियन मानिसले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् भने यसको ९० प्रतिशत मध्यम तथा निम्न आय हुने देशका पर्ने गरेका छन्, जहाँ विश्वको ५४ प्रतिशत मात्र सवारी साधन छन् ।
सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढी हुने मुलुकमा भारत पहिलो नम्बरमा पर्छ भने चीन, अमेरिका, रसिया र ब्राजिल क्रमशः दोस्रो, तेस्रो, चौथो तथा पाँचौं नम्बरमा पर्छन् ।
नेपालमा सडक दुर्घटनाका तीन कारण
सडक दुर्घटना हुने प्रमुख कारणहरुमा १) सडकको अवस्था २) सवारी साधनको अवस्था र ३) सवारी चालकको अवस्थालाई लिइने गरिन्छ । अन्य कारणहरुमा बाटो काट्ने बटुवा, जनावरहरु र सवारी साधनमा यात्रा गर्ने यात्रु पनि दुर्घटनाको कारण बन्ने गरेको पाइन्छ ।
सवारी दुर्घटना कम गर्न कुनै एक पक्षमात्रै लागेर हुँदैन । यसमा सरकार, निजी क्षेत्र तथा आम जनताको साथ र सहयोग आवश्यक पर्छ ।
नेपालमा दुर्घटना हुने मुख्य तीन कारण छन्ः सडक, साधन र चालक । यी तीनपक्ष नै सुदृढ अवस्थामा नभएकैले दुर्घटना बढेको पाइन्छ । यदि यी अवस्थाहरु ठीक छन् भने दुर्घटना कम हुन सक्छ र ठीक छैन भने सवारी दुर्घटना बढी हुने गर्छ । यदि सरकारले सडक दुर्घटना कम गर्न चाहन्छ भने यी तीनवटा कुरामा ध्यान दिई उचित कदम चाल्नु उचित देखिन्छ । अन्यथा, जति नै छानविन समिति बनाए पनि र जति प्रतिवेदन बनाए पनि दुर्घटना कम गर्न सकिँदैन ।
१) सडकको अवस्थाः सडक देश विकासको मेरुदण्ड होभन्दा अन्यथा नहोला । विश्वका जति पनि विकसित देशहरु छन् त्यो देशका सडक अति नै मजबुत देखिने गर्छन् ।
अर्को अर्थमा, कुनै देश वा ठाउँको सडकको अवस्थाले त्यो देश वा ठाउँ कति विकसित छ भन्ने देखाउँछ । उदाहरणका लागि जापान, चीन, अमेरिकाले सडक निर्माणमा ठूलो लगानी गरिसके र त्यहाँका सडकहरु अत्यन्त मजबुत र उच्चस्तरीय हुने गर्छ ।
अमेरिकामा हालसम्म ६७ लाख २२ हजार ३४७ किमी सडक छ भने भारतमा ५४ लाख ७२ हजार १४४ किमी र चीनमा ४६ लाख ९६ हजार ३०० किमी सडक छ । जबकि नेपालमा कालोपत्रे सडकको लम्वाई चानचुन १२ हजार किमी मात्र छ । यसमा पनि नेपालको सडक प्रायः एक लेन वा दुई लेनको मात्रै छ । सडकविनाको विकास सम्भव नहुने कुरा कणर्ाली वा सुदुरपश्चिमका जिल्लाहरुलाई हेर्दा राम्रो ज्ञान हुन्छ ।
हाल प्रचलनमा रहेको र धेरै सवारी साधन गुडने सडकमध्ये पूर्वपश्चिम राजमार्ग तथा काठमाण्डौ जाने सडक जो दुई लेनको मात्र छ । अन्य सडकहरु कुनै पनि हिसाबले बैज्ञानिक छैनन् । पहाडका प्रायः सडकहरु साँघुरा छन् । दुईवटा सवारी साधन एकैपटक छिर्न धौधौ पर्दछ, ग्रेडिङ मिलेको छैन । सडकहरु कच्ची छन्, घुम्तीहरु नजिक नजिकवाट काटिएका छन्, प्रायः घुम्तीहरुमा गाडी घुमाउनेसम्म ठाउँ पुग्दैन ।
पुराना सडकहरु जुन सदरमुकामसँग जोडिएका छन्, ती प्रायः मान्छेले खनेर बनाएका सडकहरु हुन् जतिखेर दिनमा एउटा वा दुईवटा मात्र गाडी गुड्ने गर्दथे । पछि तिनै सडकहरु ठेकेदारको जिम्मा लगाइयो र कालोपत्रे गरियो । सडकमा कतै सडक संकेतसम्म राखिएको छैन ।
सडकको अवस्थाले गर्दा हुने सम्पूर्ण दुर्घटनाको कारण सरकार बाहेक अरु कोही हुँदैन किनकि सडक बनाउने जिम्मा सरकारले लिएको छ
हालसालै दुर्घटना भएको रिडीदेखि तम्घाससम्मको सडकमा ठाउँठाउँमा अर्को गाडीलाई साइड दिने ठाउँ बनाइएको छ, अन्यथा एउटा गाडीमात्रै पनि सकसले गुड्ने गर्छ । अन्य जिल्लामा जाने सडकहरु प्रायः यही अवस्थामा छन् ।
प्रायः ग्रामीण भागका सडक निर्माण गर्दा इञ्जिनियर प्रयोग गरिँदैन । यस्तो अवस्थाको सडक ड्राइभरलाई जिम्मा लगाउँछौं । अनि उही ड्राइभरलाई गाली गर्छौं र सुरक्षित यात्राको कल्पना गर्छौं ।
तराईका प्रायः सडकहरु साँघुरा छन् । काठमाडौंको सडकको अवस्थाबारे त हामी सबैजना प्रायः विज्ञ नै छौं । काठमाण्डौंमा जति पनि सवारी साधन छन्, तिनीहरु एकसाथ सडकमा निस्किने हो भने सडकमा अटाउँदैनन् होला । कहाँसम्म भने काठमाण्डौंमा कुनै सडक एकतर्फी हो भन्ने कुरा ट्राफिकले जरिवाना काटेपछि मात्रै थाहा हुन्छ ।
सडकको अवस्थाले गर्दा हुने सम्पूर्ण दुर्घटनाको कारण सरकार बाहेक अरु कोही हुँदैन किनकि सडक बनाउने जिम्मा सरकारले लिएको छ । त्यसैले, अहिलेसम्म बनेका सम्पूर्ण सडकहरुको वर्गीकरण गरी नयाँ योजनामा सडक निर्माण र स्तर उन्नति गर्नुपर्ने देखिन्छ ।
यसो गर्दा कम्तिमा पनि आगामी ५० वर्षका लागि आवश्यक पर्ने सडक निर्माण गर्ने र आगामी १०० वर्षका लागि सडकको जग्गा छुटाइ देशभरिको सडकको नक्सा कोर्नु त्यसबमोजिम सडक निर्माण गर्नु सान्दर्भिक हुन्छ ।
२) सवारी साधनको अवस्थाः सवारी धनीले सवारी साधन किनेपछि त्यसको माया लाग्नु र त्यसलाई सुरक्षित राख्नु स्वाभाविकै हो । त्यसैले होला, प्रायः नयाँ गाडीहरु शहरका पीच बाटोहरुमा चल्छन् भने पुराना तथा थोत्रा गाडीहरु अप्ठ्यारो ग्रामीण भागमा चलाउने गरिन्छ । उदाहरणका लागि जति सुगममा जानुहुन्छ, त्यहाँ नयाँ गाडीहरु देख्न पाइन्छ भने जति दुर्गममा गयो, त्यहाँ पुराना गाडीहरु देख्न पाइन्छ । तिनै पुराना र थोत्रा गाडीमा हामी असुरक्षित यात्रा गर्न बाध्य हुन्छौं । सरकारी तवरबाट चलाइएका साझा लगायतका गाडी पनि सहर केन्द्रित नै हुने गरेको छ ।
प्रायः पुराना र थोत्रा सवारी साधनहरुमा समस्या आउने र दुर्घटनामा पर्ने गरेको पाइएको छ । आवश्यक मात्रामा सवारी साधनको सर्भिसिङ नगर्ने, यात्रुको सुरक्षा भन्दा पैसा कमाउनमा बढी ध्यान दिने गर्दा सवारी साधनको अवस्था बिग्रिने गरेको पाइन्छ ।
सवारी साधनको ब्रेक फेल हुने, टायर फुट्ने, टायर निस्कने जस्ता समस्याले गर्दा दुर्घटना हुने गरेको छ । सम्पूर्ण सवारी साधनको समय-समयमा सरकारी तवरबाट अनिवार्य जाँच तथा परीक्षण गर्ने र निश्चित अवधि तोकेर मापडण्ड नपुगेका साधनलाई हटाउने व्यवस्था मिलाउन सकियो भने सवारी साधन दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्न टेवा पुग्नेछ । यसका लागि प्रत्येक वर्ष सवारी साधन पुनः दर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था र दर्ता गर्न ‘चलाउनका लागि सुरक्षित’ मापडण्ड पूरा गर्नुपर्ने बाध्यकारी व्यवस्था लागु गर्न सक्नुपर्छ ।
सवारी साधनको अवस्था र चालकको अवस्था मात्र सुधार गर्न सक्यौं भने पनि सडक दुर्घटना कमीमा उल्येख्य सुधार ल्याउन सकिने देखिन्छ
३) चालकको अवस्थाः नेपालमा प्रायः ठाउँबाट रात्रिकालीन सवारी साधनहरु चल्ने गर्छन् र सबैजसो सवारी साधन एकजना चालकको भरमा रातभर गुडिराखेका हुन्छन् । एकजना चालकले कति घण्टासम्म गाडी चलाउन सक्छ ? हामी एकजना चालकका भरमा बाजुरा वा जुम्ला वा ताप्लेजुङबाट रात्रिबस काठमाण्डौंसम्म ल्याउन सक्छ भन्ने कल्पना गर्छौं भने कसरी हामी नागरिकको सुरक्षामा ध्यान दिएको बुझिन्छ ।
हामी सडक सुरक्षामा कत्ति पनि संवेदनशील हुन सकेका छैनौं जसको मतलव यो पनि हो कि हामी नागरिकको सुरक्षामा ध्यान दिन भ्याइराखेका छैनौं । हामी बेलाबेलामा दुईजना चालकको व्यवस्था गर्ने भनेर कुरा उठाउँछौं तर कार्यान्वयन हुँदैन । धेरै देशहरुमा नियमित रुपमा एक दिनमा ८ घण्टासम्म एकजनाले सवारी साधन गुडाउन सक्छ भन्ने मान्यता छ र आफ्ना नागरिकलाई त्यही बमोजिमसचेत बनाएको हुन्छ ।
लामो दुरीको सवारी चलाउने चालकले कम्तिमा पनि प्रत्येक २ घण्टामा सवारी साधन बाहिर निस्किएर ५/१० मिनेट यताउता हिँड्ने गरिन्छ । तर, हाम्रोमा चालकलाई अनावश्यक ठाउँमा जति पनि रोक्ने अनि अरुबेला हतारै भएको हुन्छ र यात्रुलाई पनि एकछिन रोक्न पनि हतारै भएको हुन्छ ।
सवारीसाधन चलाउँदा मोबाइलमा कुरा गर्ने, नजिकमा बसेको यात्रुसँग कुरा गर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, तिब्र गतिमा सवारी चलाउने आदि कारणले चालकको ध्यान साधनमा नभई अन्यत्र हुने हुँदा सडक दुर्घटना बढ्ने गरेको पाइएको छ । त्यस्तै यात्रु बोक्ने साधनमा बाख्रादेखि सुँगुरसम्म, मलदेखि चामलसम्म बोक्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने गरिन्छ । सुरक्षित यात्राका लागि सवारी चालक स्वास्थ्य हुनु र सडक सुरक्षाको पूर्ण ज्ञान हुनु जरुरी छ ।
अन्त्यमा, हामीलाई सडकको अवस्था सुधार गर्न केही समय लागे पनि सवारी साधनको अवस्था र चालकको अवस्था मात्र सुधार गर्न सक्यौं भने पनि सडक दुर्घटना कमीमा उल्येख्य सुधार ल्याउन सकिने देखिन्छ । यसमा सडक नियम पालना गराउन जिम्मा पाएको निकायको प्रमुख रुपमा तदरुकता हुनु आवश्यक छ ।
(पराजुली हाल अमेरिकामा बस्छन् ।)