काठमाडौं – नेपालमा रहेका क्लासिक र भिन्टेज गाडी, मोटरसाइकल र अन्य सम्पत्तिहरुको संरक्षण गर्ने सन्दर्भमा भिन्टेज एन्ड क्लासिक मोटर इन्क नेपालले पुरातत्व विभागको ध्यानाकर्षण गराएको छ । भिन्टेज एन्ड क्लासिक मोटर इन्कका अध्यक्ष मेघराज पौडेलको नेतृत्वको समूहले पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालसँग भेट गरी सो ध्यानाकर्षण गराएको हो । सो अवसरमा भिन्टेज एन्ड क्लासिक मोटर इन्क नेपालका सदस्यहरु सुवोधदास श्रेष्ठ र किशोर नकर्मीको पनि उपस्थिति थियो ।
सो अवसरमा ३०/४० वर्ष पुराना, नियमित प्रयोगमा नरहेका र स्वरुप नबिगारिएका सवारी साधनमा कर छुट दिनुपर्ने, विभागमा यस्ता सवारी साधनहरुको छुट्टै विवरण राख्नु पर्ने साथै यस संस्था लगायत अन्य सम्बद्ध निकाय वा संस्थाहरुसंगको सहकार्यमा सो सम्वन्धी नीति बनाइनु पर्ने तथा राष्ट्रको विशेष सभा समारोह, ऐतिहासिक दिवस, उत्सव तथा राष्ट्रकै गरिमा वृद्धि गर्ने अवस्थामा र सार्वजनिक विदाको दिनमा निश्चित क्षेत्रमा मात्र तिनको प्रयोग गर्ने नीति लिनु पर्ने वारेमा छलफल भएको थियो ।
त्यसैगरी विश्वव्यापी रुपमा पर्यटन प्रवद्धनको लागि ती साधनको समुचित प्रयोग गर्ने प्रवन्ध गर्नु पर्ने, सवारी साधनको लागि प्रर्दशनी कक्ष, पार्ट्समा भन्सार छुट र छुट्टै पहिचान (नं प्लेट) दिने प्रवन्ध गर्नु पर्ने तथा सो संस्था लगायत अन्य सम्बद्ध निकाय वा संस्थाहरुसँग सहकार्य गरी यस सम्बन्धी नीति नियम कानुनको तर्जुमा गरिनु पर्ने विषयका वारेमा छलफल भएको थियो ।
सो अवसरमा पुरातत्व विभागका महानिर्देशक दाहालले आगामी दिनमा क्लासिक तथा भिन्टेज कारको संरक्षण र प्रवद्र्धन गर्नका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने तथा अन्य कार्यमा समन्वयात्मक रुपमा अगाडि बढ्ने बताएका छन् ।
नेपालमा रहेका क्लासिक र भिन्टेज गाडी, मोटरसाइकल लगायतका सम्पत्तिको वारेमा अध्ययन, अनुसन्धान, सुचना संकलन, सम्पुर्ण ऐतिहासिक विवरण संकलन र संरक्षण गर्न, सम्बन्धित निकाय र जनमानसमा समेत तिनको महत्व वारे वुझाउन तथा भावी सन्ततीलाई गर्व गर्नसक्ने सम्पदा र त्यससँग जोडिएको संस्कृति छोड्ने उदेश्य सहित गत वर्ष नै नागरिक स्तरमा भिन्टेज एन्ड क्लासिक मोटर इन्क नेपाल स्थापना भई विभिन्न कार्यहरु गरिरहेको छ ।
नेपालको सन्दर्भमा नयाँ विषय भए पनि ३० वर्ष पुराना गाडीहरुलाई भिन्टेज र ४० वर्ष भन्दा पुराना गाडीहरुलाई क्लासिक गाडीको रुपमा युनेष्कोले पहिचान गरी संरक्षणको लागी विश्वब्यापी अभियानहरु संचालन गरिरहेको छ । संसारका कतिपय देशहरुमा पर्यटन पवद्र्धनको मुख्य आधार बनेका छन् त्यस्ता भिन्टेज, क्लासिक र ऐतिहासिक गाडीहरु ।
यस्ता गाडीहरुको संरक्षणका लागि नेपालमा पनि केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ अगाडि बढेको भिन्टेज एन्ड क्लासिक मोटर इन्क नेपालले जनाएको छ । यसबाट अन्य कुराका साथै नेपालमा समेत पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने देखिन्छ ।