जिप बिग्रीएको संकेत पाउंदापनि चालकको हेलचेक्रयाई
भगवती पाण्डे, बुटवल, भदौ १२
आईतवार दिउसो १ बजे अर्घाखांचीको सन्धिखर्कबाट प्यूठानको बांदिकोट जानको लागि १९ जना यात्रु बोकेर जिप स्टार्ट हुंदै थियो । भारतको बनारसबाट आफ्नो घर प्यूठान सौतामारे जान हिंडेका ३० वर्षिय केशर बहादुर जिसीपनि सोहि जिपमा बसेका थिए । गाडी स्टार्ट हुंदै गर्दा जिपमा बसेका एक यात्रुले जिपमा फरक आवाज आईरहेको छ जिप विग्रीएको हो की ? भनेर चालक यमबहादुर श्रीसलाई सोधे ।
चालक श्रीसले ति यात्रुलाई हकार्दै कहां बिग्रिनु हाम्रो गाडीको बारेमा हामीलाई थाहा हुन्छ कि तपाईलाई ? गाडी ठिक छ भन्दै जिपलाई अगाडी बढाए । १४ जनाको सिट क्षमता रहेको उक्त जिपमा चालकसहित १९ जना यात्रु र छतमा सामान पनि थियो ।
जिपको दोश्रो सिटको ढोकाछेउंमै बसेका केशर बहादुर जिसीलाई पनि जिप विग्रीएको होकी भन्दै शंका लाग्यो र गाडी बिग्रीएको हो भने अरुमा पनि जान सकिने भनेपछि चालक श्रीसले गाडी नबिग्रिएको ठिक भएको भन्दै ढुक्क भएर बस्न आग्रह गरे ।
सन्धिखर्क बाट यात्रा शुरु गर्दै गर्दा यात्रुहरुलाई जुन आशंका थियो आखिर त्यहि भयो । सन्धिखर्कदेखि २२ किलोमिटरको यात्रा पार गरी रतनमारे फिरफिरेको उकालोमा जिपले लोड तान्न नसकि पछाडी धकेलियो ।
उकालो भएपनि तिनवटा गाडी समेत सजिलै वापरपार गर्ने अत्यन्त फराकिलो सडकमा जिपमा ब्रेक नलागी पछाडी धकेलिएपछि चालक श्रीसले जिपको स्टेरिङ सम्हाल्ने भन्दापनि आफु सुरक्षित हुने सोंचे । १८ जना यात्रुलाई सडकबाट पल्टिदै गरेको जिपमा छोडेर यमबहादुर भागे ।
तल पल्टिदै गरेको जिपमा यात्रुहरु चिच्चाउंदै थिए । दोश्रो सिटको ढोका छेउंमा बसेका केशरबहादुरले ढोका खोल्न खोजे । ढोका नखुलेपछि लात्ताले हाने र बाहिर हामफाले । सबैभन्दा अगाडीको सिटमा धारापानीकी कमला पौडेल दुई छोरीहरुका साथमा बसेकी थिईन ।
केशरबहादुरले आफु हामफालेपछि अगाडीको ढोकाको छेउंमा रहेका बालिकाहरु मिना पौडेल र कविता पौडेललाई पनि तानेर बचाए । तर संगै रहेकी बालिकाहरुकी आमा संगै अन्य यात्रुहरुलाई बचाउन सकेनन् ।
आफु सवार गाडी दुर्घटनामा परि संगै यात्रा गरेका ११ जनाको ज्यान जांदा अरु ६ जना घाईते हुंदा पनि सामान्य चोटपटक समेत नलागेर सकुशल घर पुगेका केशरबहादुरलाई आफु सकुशल रहेकोमा जति खुसी लागेको छ अरुलाई बचाउन नसकेकोमा त्यो भन्दा धेरै दुःख लागेको छ ।
केशरबहादुर अहिले घरमा बुवाआमा, श्रीमती र नाबालक दुई छोराको साथमा घरमा रहेका छन् । टेलिफोन कुराकानीमा केशरबहादुरले भने “यात्रुहरुले जिपमा खराबी आएको संकेत दिंदा चालकले हेलेचेक्रयाई नगरेको भए सायद यो दुर्घटना हुने थिएन ।” सेतोपाटीबाट
केशरबहादुर जिसीसंगको कुराकानीमा आधारित