रिफ्रेस सेन्टरको दयनिय अवस्था
भगवती पाण्डे
बुटवल भदौ ९ . दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले नवलपरासीको कावासोतीमा स्थापना गरेको रिफ्रेस सेन्टर काम बिहिन र लथालिङग भएको छ ।
करिव ३ बर्षदेखि स्थापना भई प्रयोगमा आएको उक्त रिफ्रेस सेन्टरको सञ्चालन र व्यवस्थापन गर्नुपर्ने ट्राफिक प्रहरी स्वयंले ध्यान नदिंदा यस्तो अवस्था आएको हो ।
लामो दुरीमा सवारी सञ्चालन गर्ने चालकहरुले केही क्षण बिश्राम गर्ने थलोको रुपमा बिकास गर्ने र चालकहरुको सामान्य स्वास्थ्य अवस्था परिक्षण गर्ने भन्दै ट्राफिक प्रहरीले उक्त रिफ्रेस सेन्टर स्थापना गरेको बताएको थियो ।
तर उक्त सेन्टरलाई गम्भिरतापुर्वक नलिदा काम बिहिन मात्र होईन सार्वजनिक शौचालयमा परिणत हुने अवस्थामा पुगेको छ ।
रिफ्रेस सेन्टर स्थापना गर्दा एकजना प्राविधिक प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दारबाट स्वास्थ्य परिक्षण गर्ने जनाएको भएपनि सेन्टरमा अहिले एकजना मानसिक रोगका बिरामीले डेराको रुपमा प्रयोग गरेका छन् ।
श्रोतको अभावमा रिफ्रेस सेन्टरमा चालकहरुका लागी न्युनतम आवश्यकताका फर्निचर समेत नभएका कारण प्रभावकारी प्रयोग हुन नसकेको भन्दै ट्राफिक प्रहरीले हात थापेपछि बुटवलका बिभिन्न संघ संस्थाहरुले आवश्यक फर्निचर सहयोग गरेका थिए ।
रिफ्रेस सेन्टरलाई व्यवस्थीत र स्तरीय बनाउन भन्दै रोट्र¥याक्ट क्लव अफ बुटवल, रोट्र¥याक्ट क्लव अफ बुटवल डाउन टाउन, केमसन बुटवल, सलिना ट्रावल्स र नेपाल औषधी व्यवसायी संघ लगायतका संस्थाहरुले गत बर्षको मंसिर २३ गते आवश्यक फर्निचर तथा उपकरण उपलब्ध गराएका थिए ।
तर सहयोगी दाताहरुले दिएका बेडहरु ८ महिनाकै अवधीमा अत्यन्त फोहर र घिनलाग्दा अवस्थामा यत्रतत्र छरिएर रहेका छन् । रिफ्रेस सेन्टरमा पुग्ने कुनैपनि चालक वा परिचालकले उक्त बेडहरुको प्रयोग गर्न सक्ने अवस्थामा छैनन् । जताततै फोहरै फोहोर छ, सामान्य सरसफाई समेत गरीएको छैन ।
लामो दुरीका सवारी साधन संचालन गर्र्ने चालकहरुलाई थकाई लाग्दा बिश्राम गर्ने आरमदायि कुर्ची रक्तचाप परिक्षण गर्ने उपकरण, तथा आंखाको सामान्य परिक्षण गर्ने लगायतका उपकरण हस्तान्तरण गरिएपनि ति सामानहरुको उपयोगिता समेत भएको छैन ।
रिफ्रेस सेन्टरलाई चालकहरुको नियमीत स्वास्थ्य परिक्षण संगै विश्रामको समयमा यात्रुसंग चालकको आनीवानीबारे जानकारी लिने गरि विकास गरिने योजना बनाईएको थियो ।
राम्रो कामका लागि दिएका सामग्रीहरु सहि प्रयोग र व्यवस्थापन हुन नसकेकोमा आफुहरुलाई दुख लागेको केमचेन लुम्विनीका अध्यक्ष बिजय खनालले दुखेसो गरे ।
पछिल्लो समय रिफ्रेस सेन्टर अनियमित भएको, ट्राफिक प्रहरीको ईच्छाका भरमा हुने गरेको र फोहरका कारण चालकहरुलाई पनि त्यहा पठाउन नसकिएको पश्चिम नेपाल बस व्यवसायी संघका कार्यसमिती सदस्य सागर सापकोटाले बताए ।