सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चितवनदेखि पथलैयासम्म टाइमकार्ड व्यवस्था लागू गरेको छ ।
पूर्व–पश्चिम राजमार्गमापर्ने चितवन, मकवानपुर हुँदै पथलैयासम्मका लागि टाइमकार्ड व्यवस्था लागू गरिएको चितवनका ट्राफिक प्रहरी प्रमुख राजन भेटवालले जानकारी दिए।
चितवनदेखि पथलैयासम्मको ९४ किलोमिटरका लागि प्रहरीले एकसय २७ मिनेट समय तोकेको छ । उनका अनुसार तोकिएको भन्दा कम समयमा सो क्षेत्रमा पुग्ने सवारीलाई कारबाही गर्ने गरी कार्ड लागू गरिएको हो । सवारी दुर्घटनाको कारणमध्ये तीव्रगतिमा चलाउनु मुख्य रहेको पाइएकाले टाइमकार्ड लागू गरिएको हो ।
भेटवालका अनुसार चितवनदेखि मकवानपुरको मनहरी ४० किलोमिटर क्षेत्रको दुरीका लागि ५१ मिनेट तोकिएको छ । यस्तै मनहरी हेटौँडा २६ किलोमिटर दुरीका लागि ३५ मिनेट सयम तोकिएको छ ।
यस्तै हेटौँडादेखि पथलैया २८ किलोमिटरका लागि ४१ मिनेट समय ताकिएको छ । उक्त समय हेर्न प्रहरीले चितवनको गोन्द्राङ, मकवानपुरको मनहरी र रातमाटे तथा पथलैयामा कार्ड परीक्षण गर्ने व्यवस्था गरेको प्रहरीले जनाएको छ । चितवन जिल्लाभित्रको राजमार्गमा गोन्द्रादेखि लोथरसम्मको लागि पनि टाइमकार्ड तोकिएको छ ।
गोन्द्राङ खैरहनी १२ किलोमिटरलाई १५ मिनेट, खैरहनी भण्डारा ८ किलोलोमिटरलाई १० मिनेट, भण्डारा लोथर– ९ किलोमिटरलाई ११ मिनेट तोकिएको छ ।
यस्तै लोथरदेखि मकवानपुर मनहरी ११ किलोमिटरका लागि १५ मिनेट समय तोकिएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवन भएर दैनिक सात हजार बढी सवारी हिँड्ने गरेको प्रहरीले जनाएको छ । यता चितवनको भरतपुरदेखि काठमाडौँ जाने बाटो दारेचोकसम्मको रुटमा भने समय तोकिएको छैन । नारायणगढ– मुग्लिन सडक निर्माणाधिन रहेकाले सम्भव नरहेको प्रहरीले जनाएको छ । रासस