काठमाण्डौ भदौ ७
सरकारले सवारी नियम उल्लंघन गर्ने सवारीमाथि हुने जरिवानाको शुल्कलाई बढाउने गरी योजना बनाएको बताईएको छ ।
सवारी नियमको कार्यान्वयन नगरिंदा पछिल्लो समय सवारी दुर्घटनामा वृद्धि भएको र त्यसले ठूलो जनधनको क्ष्ँती भएको भन्दै सवारी चालकलाई जिम्मेवार र आफ्नो पेशाप्रति जवाफदेहि बनाउन सरकारले जरिवाना शुल्क बढाउने गृहकार्य गरेको जनाएको छ ।
सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन गर्दै कसुरको मात्रा हेरेर ट्राफिक नियम पालना नगर्ने सवारीसंग ५० हजार रुपैयांसम्म जरिवाना गर्न सक्ने व्यवस्था गर्न लागेको हो । अहिले सवारी नियम उलंघन गर्ने सवारी र सवारी धनिलाई ५ हजार रुपैयांसम्म जरिवानाको व्यवस्था छ । यसमा परिमार्जन गर्दै अब न्युनतम ५ हजारदेखि ५० हजार बनाउने तयारी भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागले कुन कसुरका लागि कति जरिवाना तोक्ने लिने भन्ने विषयमा औपचारिक निर्णय गरिनसकेपनि वृद्धिका लागि प्रस्ताव गरिने जरिवानाको लागि पूर्वतयारी गरेको जनाएको छ । केही समयअघि जरिवाना रकम बढाएपछि सवारी नियम पालनाको क्रम बढेको पाइएको सरकारको दाबी छ ।
यसैगरी सरकारले केही ठूला र महत्वपूर्ण सवारी नियमहरु उल्लंघन गर्ने विरुद्ध जेल सजायसम्म तोक्ने गरी ऐनको मस्यौदा तयार गर्दै छ ।
त्यस्ता चालकको लाइसेन्स ६ महिनासम्मका लागि निलम्बन गर्ने व्यवस्था पनि गर्न संशोधनमा प्रस्ताव गरिने भएको छ ।
विभागले नयां प्रस्तावमा ज्यान लिने सवारीका चालकको लाइसेन्स खारेज गर्न पनि प्रस्ताव गरेको छ ।
एउटै चालकले पटक पटक सवारी दुर्घटनामा यात्रुको ज्यान लिने क्रम बढेको भन्दै ऐनमा हेलचेक्राइ गर्ने चालकको लाइसेन्स तुरुन्त खारेज गर्ने व्यवस्था गर्न लागिएको हो ।