भगवती पाण्डे ,
बुटवल आषाढ १५
सवारी साधनलाई ट्राफिक प्रहरीले लिंदै आएको जरिवाना रकम अत्यधिक वृद्धि गरिएको भन्दै आन्दोलित यातायात सम्बद्ध संघ संस्थाहरुले बुधवारदेखि दोश्रो चरणको आन्दोलन अन्तर्गत बुधवार यातायात व्यवस्था कार्यालय बुटवलमा कालो झण्डा सहित धर्ना दिएका छन् ।
सरकारले यातायात व्यवसायीहरु संग विगतमा गरेका सहमती कार्यान्वयन गर्नुको सट्टा सरोकारवालाहरु संग समन्वय नै नगरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६३ र १६४ मा रहेको जरिवाना रकमलाई अत्यधिक वृद्धि गरेको भन्दै उनिहरु आन्दोलित भएका हुन् ।
बुधवार विहान १० बजेदेखि ११ बजेसम्म यातायात व्यवस्था कार्यालय बुटवलको मुख्य गेटमा धर्ना दिएका हुन् । व्यवसायीहरुको धर्नाको कारण कार्यालयको सेवा १ घण्टा अबरुद्ध भएको थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघ नेपाल संग आवद्ध यातायात संगसंस्था तथा यातायात मजदुर संगठनहरुले संयुक्त रुपमा आन्दोलन मुल समिती गठन गरि आन्दोलनका कार्यक्रम गर्दै आएका हुन् ।
संघर्ष समितीका केन्द्रिय सदस्य एवं पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष्ँ दधिराम खरेलले ट्राफिक प्रहरीले १५ प्रतिशत कमिसनको लोभमा यातायात मजदुरमाथी चर्को जरिवाना थोपर्ने गरेको बताउंदै जरिवाना वापतको कमिसन रकम दुर्घटना न्यूनिकरणको क्ष्ँेत्रमा लगाउनुपर्ने बताउनुभयो ।
यातायात व्यवसायीहरुले सवारी साधन सञ्चालन गरेबापत सरकारलाई तिर्दै आएको राजस्व तथा सवारी कर लगायतका विभिन्न जरिवानाको रुपमा उठाउने रकम कमीसनको रुपमा बांढ्ने नभई यातायात क्षेत्रलाई व्यवस्थित गर्न खर्च गर्नुपर्ने उहांले बताउनु भयो ।
सरकारको यस्तो निर्णयले यातायात सञ्चालनमा अप्ठेरो पर्ने भन्दै देशभरका करीब १४ वटा यातायात व्यवसायमा आबद्ध संघ,संगठनहरु आन्दोलनमा छन् । आफुहरु अहिलेसम्म शान्तिपुर्ण रुपमा आफ्ना मागहरु सरकारलाई राख्दै आईरहेको र अझै सम्बोधन नभए साउन ९ र १० गते देशैभरका प्रमुख जिल्ला अधिकारीलाई सवारी साधनको सांचो बुझाउने यातायात व्यवसायी राष्टिय महासंघका लुम्बिनी अञ्चल संयोजक डिल बहादुर ढुंगानाले जानकारी दिनुभयो ।
यातायात सम्बद्ध संघसंस्थाहरु संगको आवश्यक छलफल पछि मात्र संसोधित नियम कार्यान्वयन गर्न गृहप्रशासनले निर्देशन दिएपनि ट्राफिक प्रहरीले जेठ १ गतेदेखि ५ सयदेखि १५ सय रुपैया सम्म जरिवाना असुल गर्न थालेपछि उनिहरु आन्दोलित भएका हुन् । यातायात व्यवस्था ऐनको दफा १६४ अनुसार कसुर गर्नेलाई ट्राफिक प्रहरीले २५ रुपैया देखी २ सय रुपैया जरिवाना लिंदै आएकोमा जेठ १ गतेदेखि ५ सयदेखि १५ सय रुपैयासम्म लिन थालेको हो ।