काठमाडौं – आगामी जेठ १ गते देखि ३ गते सम्म काठमाडौंमा हुने भिन्टेज मोटर एक्स्पोको मूख्य प्रायोजकमा भक्सवागन हुने भएको छ । भक्सवागन गाडीको नेपालका लागि आधिकारिक बितरक पूजा इन्टरनेसनल प्रालिको मूख्य प्रायोजनमा हुने भिन्टेज मोटर एक्स्पोको आयोजक भिन्टेज एन्ड क्लासिक मोटर इन्क नेपाल रहेको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । सम्मेलनमा भिन्टेज एन्ड क्लासिक मोटर इन्क नेपालका अध्यक्ष मेघराज पौडेलले एक्स्पो शुरु हुनु अघि लैनचौरबाट भिन्टेज गाडीहरुको ¥याली शुरु भई बबरमहलमा पुगेर समापन हुने जानकारी समेत दिए ।
बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा संचालन गरिने सो प्रदर्शनी जेठ १ देखि ३ गतेसम्म चल्ने छ । प्रदर्शनीमा सहभागीहरु मूलतः अटोमोबाइलका व्यवसायीहरु, संरक्षणकर्ताहरु, नीति निर्माताहरु, कला साहित्यका स्थापित व्यक्तित्वहरु र स्कुल, कलेजका विद्यार्थीहरु हुनेछन् ।
जेठ ३ गते ५ बजे यूवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले समापन गर्ने सो प्रर्दशनीको जेठ १ गते ३ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री बल बहादुर महतले शुभारम्भ गर्ने छन् । प्रदर्शनीको मुख्य बक्तामा एलाइन्स इन्टरनेसनल डी टुरिजम् (एआईटी) का उपाध्यक्ष तथा भिन्टेज एन्ड क्लासिक कार क्लब अफ इन्डियाका अध्यक्ष नितिन डोसा रहने छन् ।
भक्सवागन प्रतिष्ठित जर्मन अटोमोबाइल निर्माता कम्पनी हो । जर्मन शव्द भक्सवागनको अर्थ ‘जनताको कार’ हुन्छ । यस कम्पनीका गाडीहरु विश्वका सर्वाधिक विक्री हुने गाडीहरुमा पर्छन् । भक्सवागनको आफ्नै शतप्रतिशत स्वामित्वमा थुप्रै ब्रान्डहरु रहेका छन्, जसमा बेन्ट्ली, स्कोडा, ल्याम्बोर्गिनी, आउडी, बुगाटी, सियट, पोर्श, सानिया, म्यान आदि छन् ।
भक्सवागनको स्थापना सर्वप्रथम १९३७ मा जर्मन श्रमिक मोर्चा नाजी टे्र्ड युनियनले गरेको हो । १९३७ मै यसको पहिलो मोडेलका रुपमा प्रसिद्ध बिटल कार आयो । नेपालमा पनि पुराना बिटल कारहरु कतै देखिन्छन् । चलनचल्तिको भाषामा हामी ती कारलाई ‘भ्यागुते कार’ पनि भन्छौ । फरक बनावट र लुक्सका कारण ती कारको छुट्टै आकर्षण छ ।