बैसाख ३०
पश्चिम नेपाल बस व्यवसायी संघका पूर्व अध्यक्ष स्वर्गिय कलाधर न्यौपानेकी धर्मपत्नी एवं व्यवसायी देवकला न्यौपानेको निधन भएको प्रति संघले दुःख व्यक्त गर्दै संघले राहत रकम हस्तान्तरण गरेको छ ।
स्वर्गिय न्यौपानेका देवर माधव शर्मा न्यौपानेलाई संघका कार्यवाहक अध्यक्ष नारायण प्रसाद घिमिरेले दुईलाख रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो । संघमा आबद्ध जुनसुकै व्यवसायीको निधनपछि पनि संघले दुईलाख रुपैया मृतक सदस्यका परिवारलाई उपलब्ध गराउंदै आएको संघका महासचिव जिवन कुमार बञ्जाडेले जानकारी दिनुभयो ।
चेक हस्तान्तरणको अवसरमा संघका पूर्व अध्यक्ष दामोदर ज्ञवाली, सचिव रामचन्द्र भुसाल लगायतका संघका कार्यसमिती सदस्य, कर्मचारी तथा व्यवसायीहरुले मृतकको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।
विगत केहि समययता क्यान्सर रोगबाट ग्रसित न्यौपानेको ४९ वर्षको उमेरमा यहि बैशाख २२ गते राती आफ्नै निवास बुटवल १३ देविनगरमा निधन भएको थियो । स्वर्गिय न्यौपानेका २ छोरा र १ छोरी हुनुहुन्छ ।