काठमाडौं – आगामी जेठ १ गते देखि ३ गते सम्म काठमाडौंमा भिन्टेज मोटर एक्स्पो हुने भएको छ । भिन्टेज एन्ड क्लासिक मोटर इन्क नेपालको आयोजनामा हुने उक्त एक्स्पोको तयारी पुरा भएको आयोजकको भनाइ छ ।
बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा संचालन गरिने सो प्रदर्शनी जेठ १ देखि ३ गतेसम्म चल्ने छ । प्रदर्शनीमा सहभागीहरु मूलतः अटोमोबाइलका व्यवसायीहरु, संरक्षणकर्ताहरु, नीति निर्माताहरु, कला साहित्यका स्थापित व्यक्तित्वहरु र स्कुल, कलेजका विद्यार्थीहरु हुनेछन् ।
जेठ ३ गते ५ बजे यूवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले समापन गर्ने सो प्रर्दशनीको जेठ १ गते ३ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री बल बहादुर महतले शुभारम्भ गर्ने छन् । प्रदर्शनीको मुख्य बक्तामा एलाइन्स इन्टरनेसनल डी टुरिजम् (एआईटी) का उपाध्यक्ष तथा भिन्टेज एन्ड क्लासिक कार क्लब अफ इन्डियाका अध्यक्ष नितिन डोसा रहने छन् ।
गाडीमा गरिने पेन्टिङ एक्स्पोको अर्को आकर्षण हुने छ । जुन नेपाली चित्रकला इतिहास कै सम्भवत पहिलो हो । लामो इतिहास बोकेको नेपाली चित्रकला, साहित्यमा नयाँ विधा थपिने छ भने प्रदर्शनी कै दौरान ऐतिहासिक गाडी संरक्षण सम्बन्धी अन्तरक्रिया समेत गरिने छ । प्रदर्शनीको अर्को आकर्षण ऐतिहासिक गाडीका फोटो प्रर्दशनी हुनेछ भने अटोमोवाइल सम्बन्धी विभिन्न फिल्म र डकुमेन्ट्री समेत देखाइनेछ ।
नेपालमा अटोमोबाइलको इतिहास धेरै पुरानो छैन तर नेपालमा जे जस्ता गाडीहरु छन् र तिनको जे जस्तो रोमाञ्चकारी इतिहास छ त्यो संसारमा विरलै पाइन्छ । मान्छेको काँधमा बोकिएर आएको गाडीको इतिहास भएको नेपालमा आजका पुस्ताले हेर्नै पर्ने गाडी र मोटरसाइकलहरु छन् । जसलाई संरक्षण गर्नु, सार्वजनिक गर्नु र भावी पिँढीलाई आफ्नो इतिहास प्रति गर्व गर्न सक्ने बनाउनु आजको कर्तब्य पनि हो ।
भिन्टेज र क्लासिक गाडी संरक्षणमा युनेस्को र विश्वका प्रतिष्ठित संस्थाहरु समेत लागिरहेको सन्दर्भमा नेपालमा पनि भिन्टेज एन्ड क्लासिक मोटर इन्क नेपालले आफ्नो पहिलो सार्वजनिक कार्यक्रमको रुपमा एक्स्पो आयोजना गर्न लागेको बताएको छ । कार्यक्रमलाई नासा फाउन्डेसन, सांस्कृतिक संग्रहालय नेपाल लगायतका संस्थाले सहयोग गर्ने जनाएका छन् ।