काठमाडौँ – राजमार्गका होटलमा कडाई गर्न थालिएको छ । उपभोक्तालाई अस्वस्थकर खाना खुवाएको गुनासो बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजमार्गका होटलमा कडाई गर्न थालेको हो ।
विभागले हालसम्म खाद्य गुणस्तरका आधारमा मुलुकभरका ६ सय ६८ होटल तथा रेस्टुराँको स्तरीकरण गरेको छ । त्यसमध्ये अधिकांश होटल राजमार्गक्षेत्रका रहेका छन् ।
विभागले राजमार्गका मलेखु, मुग्लिन, रामनगर, मनहरी, गैँडाकोट, कोहलपुर, चन्द्रपुर, इटहरी, विराटनगर, चिसापानी, अत्तरीयालगायतका स्थानमा अनुगमन गरी सो वर्गीकरण गरेको जनाएको छ ।
विभागको आव २०७२/०७३ को दोस्रो चौमासिक प्रगति समीक्षा तथा आव २०७३/०७४ को योजना तर्जुमा गोष्ठीमा बताइएको थियो । विभागका अनुसार उत्तमस्तरका ८६, मध्यमस्तरका ४ सय १४ र न्यूनस्तरका १ सय ६८ होटल तथा रेस्टुराँ रहेको विभागका महानिर्देशक सन्जीवकुमार कर्णले जानकारी दिए ।
विभागका यी क्रियाकलापबाट उपभोक्ता वर्गमा खाद्य स्वच्छता र पोषणको ज्ञान विस्तार भएको महानिर्देशक कर्णले बताए । होटल स्टिकर वितरणमार्फत होटलको स्वच्छतामा अपेक्षित सुधार भएको महानिर्देशक उनको भनाई थियो ।
विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले खाद्य तथा दाना उद्योग, होटल रेस्टुराँ तथा राजमार्गका होटलमा ८ सय ३५ पटक अनुगमन गर्ने लक्ष्य रहेकोमा एक हजार ३ सय ७५ पटक अनुगमन निरीक्षण गरेको जानकारी दिए ।
त्यस्तै, विभागले यस अवधिमा तीन हजार ६३५ नमुना जाँच विश्लेषण गर्ने लक्ष्य रहेकोमा जम्मा सात हजार ९३८ नमुना जाँच विश्लेषण गर्नुका साथै मुलुकभर १९३ नयाँ खाद्य उद्योगलाई अनुज्ञापत्र, ४२५ उद्योगको अनुज्ञापत्र नवीकरण तथा २९५ खाद्य उद्योगलाई स्थापनाको लागि सिफारिस प्रदान गरेको छ ।
यस अवधिमा विभागले अनुगमनका क्रममा प्रशोधित पिउने पानी, प्रशोधित दूध तथा दुग्ध पदार्थ, तेल आदि खाद्यपदार्थअन्तर्गतका ५९ मुद्दा दायर गरेको छ ।
तीमध्ये विभागबाट चार, क्षेत्रीय कार्यालय हेटौँडाबाट ३१, धनगढीबाट १२, विराटनगरबाट पाँच, भैरहवाबाट पाँच र नेपालगन्जबाट दुईवटा मुद्दा दायर गरिएको हो ।