मिना ढकाल
—
बुटवल, २२ मंसिर । जबजब ४ वर्षिय नावालक छोराले भन्छ— “बाबा म पनि खेल्न जान्छु, बाबा म पनि साथीहरुसँग खेल्छु, मलाई अर्को यस्तै खुट्टा ल्याईदिनुस न, बाबा यस्तै खुट्टा ल्याईदिनुस न” । नवलपरासी जिल्ला कावासोतीका सुभास भुसाललाई आफै भक्कानियर रुन मन लाग्छ, उनि भावह्विल हुन्छन, किनकी उनलाई थाहा छ छोराको त्यो माग पुरा गर्न कहिल्यै सक्दैनन् । तर अबोध बालक छोरोलाई बाबुको त्यो असह्य पिडा थाहा छैन । उनि आफ्नो भाग्य र दैवको लिलालाई दोष दिदै भन्छन—महसुश गर्ने उमेरनै कहाँ भाको छ र बिचरा निर्दोश बालकको ।
दुईबर्ष अघि तानसेनमा लु १ ख ५०८५ नंम्बरको ट्रकले सौरभलाई किच्दा उनको एउटा खुट्टासँगै आमा बाबुको सपना पनि चुँडियो । सारा खुशी हरेर लग्यो दैवले, बाबु सुभास फेरि भक्कानिन्छन र रुँदै भन्छन—बाबुको खुट्टा किच्यो, मेरो त सारा जिवनका सपना चकनाचुर भएजस्तो जिवन कहालीलाग्दो र उराठलाग्दो बन्यो ।
टुकुटुकु हिड्न थालेका छोरा सौरभको साढे दुईबर्षको उमेरमा दैवको लिला भनौ या दुर्भाग्यको खेलले एउटा खुट्टा चुँडेर लगेपछि उनका आँखा सायदै ओभाएको दिन भेटिएको होला दुईबर्षदेखि आजसम्म । कैले बाबा मेरो एउटा खुट्टा किन छोटो छ ? यो खुट्टा किन यो जस्तै बराबर हुन्न ? म अरु साथीको जस्थै साच्चै खुट्टामा खेल्न सक्दिन ? किन यो अर्को खुट्टा लगाउने ? यि र यस्तै कुराले गर्दा बुबा आमा दिक्क छन् नपरुन पनि कसरी । भर्खर साथीभाईसँग खेल्नु कुद्ने रमाउने समयमा आफ्नो दाइने खुट्टा गुमाएका छन् सौरभले ।
एक छोरी एक छोरा इश्वरका बरदान मानी खुशीको संसारमा रमाउदै थिए शुभाष भुसालका परिवार । छोरी सरना भुसाल जन्मेकोे ५ वर्ष पछि पुनः भगवानले आमा लक्ष्मीको काखमा एक छोरा दिए खुशीको सिमा नै थिएन । घरपरिवार इष्टमित्र सबैलाई छोरो जन्मिएको खबरले खुशी बनाएको थियो । आफुहरुपनि अब यि दुई सन्तानको लानपालन गर्ने र कसरी उनिहरुलाई उच्च शिक्षा दिन सकिन्छ भन्दै अगाडी बढीरहेका थिए ।
पेशाले शिक्षक दुवै बुवा आमा एक छोरा एक छोरी सानो र सुखी परिवार । यो इश्वरले पनि के गर्यो कुन्नी कहिल्यै निको नहुने घाउ लाग्यो, बाबुलाई देख्यो की मनमा आगो दनकन थाल्छ बाहिर हासेबोले पनि मनको पिडा निको नहुने गरी बास बसिसक्यो बोल्दा पनि भक्कानो फुट्छ उनि केहि छिन बोल्न सक्दैनन् । यो पिडा भोग्न कसैलाई नपरोस उनि भगवानसँग प्राथाना गर्छन । सौरभकी आमा आफ्नी बैनीलाई भेट्न पाल्पा तानसेन गएका बेला बसपार्कमा बसबाट ओर्लेर बाटो काट्न लाग्दा सँगै गएका २ बर्षिय नादान बालकको मैन जस्तो खुट्टामाथि पहाड सरह निर्मम ट्रक चढेको थियो ।
परिस्थितीले ठगिएका, भाग्यले लुटिएका सौरभ अहिले कृतिम अर्थात नक्कली खुट्टा राखेर बिद्यालय जान थालेका छन । पढाईलेखाईमा निकै रुचि राख्ने सौरभ आफु डुलो भएपछि डाक्टर बन्ने इच्छा राख्छन् । साथै बाबु आमालाई म ठुलो डाक्टर बन्ने हो र म जस्तै खुट्टा नभएकको औषधी गर्ने हो भन्ने गर्छन । त्यो सपना पुरा गर्न सकिन्छ वा सकिदैन । हामी छोराको त्यो माग पुरा गर्ने प्रयन्त गर्नेछौं उनि बताउछन् ।
यस्तै हाल कक्षा १२ मा पढ्ने खैरेनी रुपन्देही निवासी सृजन मल्ल, ९ बर्षको उमेरमा ३ कक्षामा पढदा पढदै सवारी दुर्घटनामा परि दुबै खुट्टा घुँडादेखि मुनी गुमाएका अर्का अबोध बालक हुन । रुपन्देही देवदह स्थित खैरेनीचोकमा शनिबारको दिन घरदेखि दुकान तर्फ जाँदा बाटो काटने क्रममा दुबै खुट्टा गुमाएका अभागि बालक बनेका छन उनि ।
अग्लो शरीर, लोभ लाग्दो अनुहार, हाँसीरहने बानी भएका ति बालकको पनि आफ्नै खुट्टामा हिड्ने सपना सबै बा २ ख ९१४६ नंम्बरको ट्रकले चकनाचुर पार्यो । अहिले ९ बर्षपछि पनि त्यो दुर्घटनाले दिएको पीडामा तड्पी तड्पी बाँचिरहेका छन । सृजन बैशाखीको सहाराले बिद्यालय जान्छन । उनकी आमा गीता मल्लका अनुसार पापी दैवले गर्नु गर्यो पीडा माथि पीडा थप्दै गयो । घरमा एक छोरा एक छोरी सुखी संसार थियो हाम्रो । ख्यै त्यो खुशी दैवलाई सह्य नभएर त होला अहिले यो अवस्थामा पुरायो । घर परिवार सबैलाई पिडा हुन्छ, तर आमा बाबुको मन न हो कहा थामिन्छ र ? जब बाबुलाई देख्छौं सहि नसक्नु पिडा हुन्छ न पैसाले किन्न सक्छांै न अन्य चिजले । उनको उपचारमा थुप्रै रकम लाग्यो उनको मुद्धा अहिले सर्बोच्चमा समेत पुगेकोे छ , क्षतिपुर्ति पाउन अझै बाँकी छ । सृजनकी आमा भन्छिन् दुख भन्ने कुरा जस्लाई पर्छ उस्लाई थाहा हुन्छ त्यो व्याख्या गर्न सकिने अवस्था नै छैन । श्रीमान् विदेश धनकमाउन जानु भएको घरमा छोरा छोरी र म थियौं । सानो परिवार सुखको संसार । के गर्ने जे नहुनु थियो भैहाल्यो अब हामीले बाबुका ति खुट्टाहरु त बचाउन सकिएन, तर उनलाई हामी उचित शिक्षा दिक्षा दिएर आत्म निर्भर बनाउछौं । पढाई प्रति रुचि राख्ने सृर्जन भविष्यमा बैर्कस बन्ने लक्ष्य लिएका छन् । त्यसैले मेहन्तका साथ देवदहको ग्रिनप्लान्टमा उच्च शिक्षा हासिल गर्दै अगाडी बढीरहेका छन् ।
उता रानीबगिया निवासी दिपु थापा पनि १६ बर्षका भए । उनी ७ बर्षको हुँदा रानिबगिया चोकमा बसले ठक्कर दिएको थियो । उनको घुँडा भन्दा मुनी एउटा खुट्टा र्छैन । पढाइ छुट्यो, धेरै बर्ष पछि बैशाखीको भरमा बिद्यालय जान थालेका दिपु अहिले क्क्षा ७ मा पढ्ने जमर्को गरेका छन । समय वित्दै गयो साथीभाई सबैले पढ्नुपर्छ भन्न थाले अनि पुनःविद्यालय जान थाले उनी भन्छन् । शुरुमा एउटा मात्र खुट्टा नहुदा लाज पनि लागयो साथीभाईले के भन्छन्, समाजले के भन्ला भन्ने कुरा मनमा खेल्न थाल्यो पछि जब उमेर पनि बढ्दै गयो अरुहरुपनि त्यस्तै समाज देख्न थालेपछि स्कुल शुरु गरेको आमा नन्दा थापा बताउछिन् । के गर्ने हेर्दा त सबै राम्रो छ एक छोरा एक छोरी सानो र सुखी परिवार । भाग्यको नियतनै खोटो रहेछ यस्तो कल्कलाउदो छोरोको सानै उमेरमा यो गति छ । बाहिर हेर्दा सबैलाई रामै्र छ तर मनको पिडा देखाउन नमिल्ने रैछ कुनै चिज दिएर बाबुको खुट्टा पाउने भए जे अमुल्य चिज दिएर भएपनि ल्याउने थिए तर सम्भव छैन । गहभरी आँशु पादै नन्नदा भन्छिन मलाई त यो दुख आई परो हे इश्वर अब यस्तो पिडा कसैलाई नदेउ ।
सुभास, सृजन र दिपु जस्ता बालकहरु मात्रै होइन दुर्घटना पश्चातको दुर्दशा भोग्ने थुप्रै यस्ता बालबालीकाहरु छन हाम्रो समाजमा । हरेक बर्ष हुने सवारी दुर्घटनाको सिकार सयौँ बालबालीका हुने गरेका छन । हुनत सवारी दुर्घटनाले सबैलाई क्षति पुराएको हुन्छ । धेरैको लाखौँ करोडौँको धनजनको क्षती गरेको हुन्छ । तर बालबालीकाको सन्दर्भमा यसप्रकारका घटनाले जिवनभर नमेटिने घाउ र पीडा दिएर गएको हुन्छ । जव भाग्यले यसरी धोका दिन्छ, जिवनका सारा सपना चकनाचुर हुन्छन, सवारी दुर्घटनाका कारण असक्त भै मर्नु न बाँच्नु भएर जिवनयापन गरिरहेका बालकहरुको भावना, ईच्छा, आकांक्षा र उनिहरुको भबिष्यले कता कस्तो मोड लिनेहो भन्ने पिरले अभिभावकलाई सँधै चिन्तित तुलाईरहुन्छ । अभिभावक पनि गर्न नै के सक्छन र पिडा ब्यथा बोकेर जिन्दगी र भाग्यलाई दोष दिँदै ति बालकहरुको अनुहार हेरेर चित्त बुझाउने प्रयास गर्नु बाहेक केहि चाला नै छैन ।
यि बालकहरु त प्रतिनिधि पात्र मात्र हुन, मुलुकमा उनिहरु जस्ता हातखुट्टासँगै सपना चुँडिएका अवोध वालबालिका कति छन् त्यो यकिनका साथ भन्न सकिने अवस्था छैन । हजारौँ बालबालीका साथै हजारौँ अभिभावक पनि आफना अमुल्य अंग गुमाउन गै अङ्गभङ्ग भै बाँचेका बालकसँगै मनमुटु र दिमागमा चोट पिडा सहेर बाँच्न बाद्य छन । यसमा हाम्रा सडक, सवारी साधनको अवस्था, चालकको लापरवाही, यात्रुको लापरवाही, कारबाहीका लागि कडा कानुनको अभाव लगाएत धेरै कारणहरु छन । एकले अर्कोलाई दोष लगाउने चलन पनि ब्याप्त छ हाम्रो नेपालमा । यद्यपी सबैभन्दा बढी यस्ता सवारी दुर्घटना चालकको लापवाहीका कारण नै हुने गरेको एक अध्ययनले जनाएको छ । त्यस्तै सडकको दुरावस्था, यात्रुहरुको लापवाही, सडकमा छाडिएका छाडा चौपाया आदिका कारण पनि दुर्घटना बढेको पाइएको छ । यस्ता सवारी दुर्घटनामा परि आफ्ना अमूल्य अंग गुमाउन पुगि हजारौं बालबालिका तथा अन्य व्यक्तिीहरु फरक क्षमता भएका व्यक्ती (अपाङ्ग) भै बस्न बाध्य भएका छन् ।
विश्वरमा हरेक वर्ष १३ लाख मानिसहरु सवारी दुर्घटनामा परि मृत्यु हुने गरेको छ भने नेपालमा हरेक वर्ष २३ सय जनाको मृत्यु र हजारौंको अंगंभंग भएर बाच्नु परेको अवस्था छ । हेर्दा सानो लापवाही देख्न सकिन्छ तर त्यही सानो लार्पवाहीका कारण जीवनभर पीडा र पश्चाताप बाहेक अरु केही पाउन सक्ने छैन् । अहिले सम्मका यसप्रकारका दुर्घटना हेर्दा जति पनि सवारी दुर्घटना छन् धेरै जसो बाटो पार (चयबम अचयकक) गर्दा हुने गरेको एक अध्ययनले जनाएको पाइएको छ । यसमा यात्रुहरुको पनि भुमिका रहेको प्रहरीको भनाईछ । ति दुर्घटनाहरुमा बाल–बालिकाको भुमिका नभएपनिसँगै रहेका अभिभावकको सानो बेवास्तापन र लापरबाहीले ठुलो दुर्घटना निम्त्याउने गरेको ट्राफिक प्रहरीको भनाई छ ।
पश्चिम क्षत्रिय ट्राफिक प्रहरी कार्यालय बुटलका अनुसार चालक तथा यात्रुहरुमा हामीले त्यो चेतना फैलाउन सकिएको छैन । अभिभावकले आफना छोराछोरी साथम लिएरहिड्दा हात सामातेर हिड्नु पर्छ, जथाभावी बाटो काट्न हुदैन, जेब्राक्रसिङ्गबाट हिड्नु पर्छ आदि । पश्चिम क्षत्रिय ट्राफिक प्रहरी कार्यालय प्रमुख, प्रहरी उपरिक्षक हरिराज वाग्लेका अनुसार सवारी दुर्घटना हुनुमा सबैमा लापरवाही हुनुनै प्रमुख कारण हो । उहाँ भन्नु हुन्छ— चालकले सवारी साधन जथाभावी चलाउने, जथाभावी रोक्ने, कागजपत्र ठिकठाक नराख्ने, यात्रुहरुले सडक प्रयोग गर्दा ख्याल नगर्ने , लापरवाही ढंगले बाटो काट्ने, जेव्राक्रसिङ्गको प्रयोग नगर्ने, प्रहरीलाई नटेर्ने, सडकमा छाडा चौपाया छाड्ने, बजार क्षेत्रमा तिव्रगतिले सवारीसाधन चलाउने लगाएतका कारणबाट पनि सवारी दुर्घटना बढेको र जनधनको क्षतिमा पनि बृद्धी हुने गरेको बताउनु हुन्छ । समग्रमा हेर्दा देशभरमा आर्थिक वर्ष २०६८÷०६९ देखि २०७०÷०७१ सम्मको सवारी दुर्घटनाका कारणलाई अध्ययन गर्दा तीन वर्षमा सवारी दुर्घटनाका ५ कारणहरु रहेका छन् । त्यसमा चालकको लापवाही ६७ प्रतिशत, तीव्रगति १५ प्रतिशत, यान्त्रिक गडबडी ४ प्रतिशत, उछिन्न खोज्दा ४ प्रतिशत, यात्रुको गल्तिका कारण ४ प्रतिशत र अन्य ६ प्रतिशत रहेका छन् । विगत ३ वर्षसम्म कुल २५ हजार ७ सय ८२ सवारी दुर्घटनामा परेर ५ हजार ४ सय ४० जनाको मृत्यू भएको छ । त्यसमध्ये ११ हजार ५ सय २० जना गम्भिर घाईते भएका छन् । हाम्रो देशमा प्रत्येक दिन २३ वटा सवारी दुर्घटनामा पर्ने गरेको छ भने एउटा दुर्र्घटनामा सरदरमा ४ भन्दा धेरैको मृत्यु भएको छ । भौतिक पूर्वाधार तथा यातयात व्यवस्था मन्त्रालयको आर्थिक वर्ष २०७०÷०७१ को तथ्याङ्गक अनुसार कुल संख्याको १६ लाख ५० हजार २ सय ५० सवारी साधन रहेका छन् ।
यता सवारी दुर्घटना न्यूनिकरण अभियन्ता दिनेश पाण्डेका अनुसार सवारी चालक, पैदल यात्रु, नियमनकारी निकाय, ब्यबसायी सबैको भुमिकाबाट मात्र सवारी दुर्घटना न्यूनिकरण भै धनजनको क्षति पनि न्युन हुन्छ । सुरक्षित यात्रा अभियान नेपालका सचिव समेत रहेका पाण्डेका अनुसार सवारी दुर्घनामा पर्ने उमेर समुहको कुरा गर्दा १५ देखि २९ वर्ष सम्म उमेरका युवाहरु बढि जोखिममा रहेको बताउनु हुन्छ । उहाका अनुसार नेपालमा वर्षैनी २१ सय जनाले अकलमै न्यान गुमाउने गरेको बताउदै बिदेशमा पनि नेपालीहरु सडक दुर्घटनामा परि मर्नेको सख्या २ सय देखि २ सय ५० रहेको छ । यसरी हेर्दा एक दिनमा सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या औसतमा ६ जनाको मुत्यू हुने गरेको पाइन्छ । सवारी दुर्घटनामा परि मृत्यू भएमा ५ लाख, उपचार खर्च २ लाख र विरामी कुरुवालाई ५० हजार सम्म दिने गरेको छ । तर त्यो प्रयाप्त हुन सकिरहेको अवस्था छैन । तथ्याङ्गक हेर्ने हो भनी अहिले सम्मकै सबैभन्दा बढी उपचार खर्च ४० लाख सम्म खर्च लाग्ने गरेृको पाइएको छ । दुर्घटना भए लगतै आफन्तले आतिएर हेलिकप्टर मगाउने र उद्धार गरिर्ने उपचार गर्दा महंगो र ठुलो अस्पतालमा पुराउने तर उपचार गर्दा रकम अभाव हुने जस्ता समस्या पनि देखा पर्ने गरेको पाइएको छ ।
त्यस्तै अर्का सवारी दुर्घटना न्यूनिकरण अभियानमा लाग्नु भएका प्रकाश नेपालका अनुसार दुर्घटना बढ्नुमा सबैभन्दा बढी अव्यवस्थि शहर र लथालिङ्ग बाटोका करण सबै भन्दा बढी सवारी दुर्घटना हुने दावी गर्नु हुन्छ । सुरक्षित यात्रा नेपालका महासचिव समेत रहनु भएका नेपालले राज्यको स्पष्ट निति र कानुन अभावका कारण पनि सवारी दुर्घटना हुने गरेको बताउनु हुन्छ । सवारी साधनको उचित व्यवस्थापन नहुनु, चालक, सवारी धनी तथा मजदुरलाई प्रशिक्षणको कमी, लाइसेन्स दिदा उमेरको हकबन्दि नहुनु, यान्त्रिक गडबडी, अव्यस्ति बजार आदि कारण मुख्य रहेको बताउनु हुन्छ । साथै राज्यले यातयात सम्बन्धि उचित नियम र कानुन तर्जुमा नगर्दा दुर्घटना बृद्धि भैरहेको छ चालकलाई काम गर्दा सम्म मात्रै होइन काम छाडेपछि पेन्सनको व्यवस्था हुनु पर्ने, दुर्घटना गराएकाहरुलाई २५ प्रतिशत भन्दा बडी रकम तिराउने र कानुनी दायरामा ल्याउने गरेमा यो समस्या न्यूनिकरण गर्न सकिने बताउनुहुन्छ ।
यता पश्चिम नेपाल बस व्यावसायी संघका अध्यक्ष दधिराम खरेलका अनुसार सवारी दुर्घटना हुनुमा सबै भन्दा बढी दोषी मानविय लापर्वाही हो । चाहे चालको लापर्वाही होस , या यात्रुको सबै मानविय लापर्वाही हो । त्यस्तै सडक अतिक्रमण गरी बस्ने, सडकको मर्मत संभार नगर्ने, राजनैतिक दलको दवाव या आड्मा विना योजना गाँउगाँउमा सडक खन्ने, सडकको अवस्था नहेरी रुट परमिट दिने आदि मुख्य कारण रहेको उहाँको भनाई छ । बाटोकै कारण हालै भएको अर्घाखाचीको हंसपुरमा भएको सवारी दुर्घटनामा १९ जनाको ज्यान गएको तथ्य पनि ताजै छ । सरकारले रुट परमिट दिदाँ सडक, सवारी साधन र क्षमता नहेरी दिने हुदा यस्ता घटनाहरु बढेको पाइन्छ । अर्को कारण खुल्ला सिमानाका कारण नक्कली पाटपुर्जाको कालो बजारी पनि समस्याको रुपमा देखा परेको उहाको भनाई छ । व्यवसायीले कर तिर्नु पर्ने समस्याका कारण पनि यस्ता नक्कली र सस्तो पाटपूर्जा खरिद गर्ने परिपाटी पनि अर्को जल्दोबल्दो समस्या हो । यातयात व्यवस्था कार्यालयले प्राविधिक जाँचपास गर्नु पर्ने, क्वालिटी र क्वान्टीटी मा ख्याल नगर्ने, राज्यको राजश्व भन्दा कर्मचारीको खल्ती बढी भर्नुपर्ने समस्याका कारण व्यावसायीहरु कालो बजारी गर्नतर्फ अग्रसर भएको पनि बताउदै राज्यको अस्वस्थ प्रतिशपर्दाका कारण पनि दुर्घटना बढेको बताउनु हुन्छ ।
दुर्घटना नहुन थियो भयो त्यस पछि उसको परिवारमा के कस्तो समस्या भोग्नु परेको छ ? कसैले घरबारनै सक्काए सडकमा आएको अवस्था छ । न उनिहरुले पाउने उचित क्षतिपूर्तिनै पाएक छन्, नत राज्यले नै कुनै सहयोग गरेको छ । राज्यले दैनिक जसो हुने सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि र अङ्गभङ्गभै बाँचेकाहरुका लागि आवश्यक निति ल्याउन जरुरी छ । दुर्घटनाको प्रकृति हेरी पूर्ण, आंसिक र सामान्य अवस्था हेरी त्यस्था व्यक्तीहरुलाई राहतदिनु जरुरी छ । अहिले सम्म दिने गरेको जुन अपाङ्ग भक्ता छ, त्यो सारै न्यून छ । यस्ता अपाङ्ग भएर पनि आफनो जीवनमा केही गछौं भन्ने युवाहरुलाई सरकारले हौसला बढाउनका लागि निःशुल्क उच्च शिक्षा र रोजगारीको व्यवस्था मिलाउन जरुरी देखिन्छ तब मात्र सौरभ डाक्टर, सृजन बैकंर्स र दिपु एक योग्य र कर्मठ नागरीक बन्न सक्छन् । त्यसका लागि हामी सबैको सहयोगको खाचँे छ ।