भगवती पाण्डे
बुटवल, चैत्र १०
होलीको मनाउने क्रममा सवारी नियम उल्लंघन गरेर सवारी हाक्ने ७ सय ७६ जनालाई प्रहरीले कार्वाही गरेको छ ।
पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयले होलीको दुईदिनको अवधीमा गरेको चेकजांचको क्रममा नियम उल्लंघन गरेर सवारी हाक्ने सवारी चालकहरुलाई कारवाही गरेको हो ।
कारवाहीमा पर्ने अधिकांश मोटरसाईकलका चालक रहेको प्रहरीले जनाएको छ । त्यसमध्ये सबैभन्दा बढि रुपन्देहीमा २ सय १७ सवारी कारवाहीमा परेका छन् । त्यसैगरी नवलपरासीमा ३७ र कपिलवस्तुमा २९ सवारी साधनलाई कारवाही गरिएको पश्चिम क्ष्ँेत्रिय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक प्रकाश अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार मोटरसाईकलमा ३ जना चढ्ने, हेलमेट नलगाउने र होहल्ला गर्दै तिव्र गतिमा हिड्ने मध्ये गम्भिर प्रकृतिका गल्ति गर्ने ९६ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाही थालिएको छ ।
त्यस्तै प्रहरीले बुधवार मात्रै रुपन्देही, कपिलवस्तु र नवलपरासीमा मादक पदार्थ सेवन गरी सवारी हाक्ने ६९ जनालाई कारवाही गरेको जनाएको छ ।
सोहि चेकजांचको क्रममा मंगलबार पश्चिमाञ्चलका १३ वटा पहाडी जिल्लामा ४ सय ९३ र बुधवार तराईका ३ वटा जिल्लामा २ सय ८३ वटा सवारी साधनका चालकलाई कारवाही गरेको हो ।
विगतका वर्षहरुमा होली मनाउने क्रममा सवारी दुर्घटना भई मानिसको ज्यानै समेत गएकोले यस वर्ष प्रहरीले चेकजांचलाई कडाई गरेको थियो । जसको कारण सवारी दुर्घटनाका घटना अत्यन्त न्यून भएको प्रहरीले दावी गरेको छ ।
गतवर्ष होलीको अवधीमा सवारी दुर्घटनाबाट दुईजनाको ज्यान गएको पश्चिम क्षेत्रमा यसवर्ष ज्यान जाने गरी दुर्घटना नभएको प्रहरीले जनाएको छ । मेलमिलाप, सद्भाव र एकताको पर्व होलीमा अवाञ्छित गतिविधी बढ्दै गएको भन्दै सर्वत्र आलोचना हुन थालेपछि प्रहरीले चेकजांचलाई कडाई गरेको हो ।