काठमाडौं, चैत ७
महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई लक्षित गरी विशेष सडक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।
महाशाखाले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गरी हेल्मेट नलगाई मोटरसाइकल चलाउने, क्षमताभन्दा बढी यात्रु चढाउने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने तथा सवारीसाधनमा बसेर लोला हान्नेहरुमाथि कारवाही गर्नका लागि विशेष सडक सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो।
महाशाखाले सुरक्षा योजना अर्न्तगत होलीका दिन उपत्यकाका करिब ९० स्थानमा प्रहरी र ट्राफिकको संयुक्त चेकिङ्ग प्वाइन्ट राखेर होलीका नाममा उत्श्रृङ्खल गतिविधि गर्नेमाथि कारवाही गर्ने बताएको छ।
महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले महानगरीय प्रहरी परिसर काठमाडौ, भक्तपुर र ललितपुरसँग समन्वय गरी सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको भन्दै होलीका नाममा जर्बजस्तीरुपमा लोला हान्ने र रंग दल्ने, होहल्ला गर्ने तथा नियमविपरित सवारीसाधन चलाउने कसैलाई पनि नछाड्ने बताए।
उनले संयुक्त चेकिङ्ग प्वाइन्टमार्फत होलीका दिन दिनभर मापसे जाँच गरिने पनि बताए। प्रहरीले जर्बजस्तीरुपमा लोला हान्ने र रंग दल्ने लगायतका उत्श्रृङ्खल गतिविधि गर्नेमाथि १० हजार रुपैयाँसम्म जरिवाना गर्ने तथा एक वर्षसम्मको कैद सजाय दिइने बताएको छ।