चैत्र ९, २०७२- होलीमा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरेको आरोपमा प्रहरीले २ सयभन्दा बढीलाई पक्राउ गरेको छ । उपत्यका तीनवटै प्रहरी परिसरले होहल्ला गर्ने, जथाभावी सवारीसाधन चलाएको आरोपमा केही व्यक्ति भने नियन्त्रण लिई छाडेको छ ।
प्रहरीले काठमाडौंमा १२०, भक्तपुर २६ र ललितपुरमा ८७ जना पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रमसिंह थापाले जनाए । ट्राफिक प्रहरी र जनपद प्रहरीको सक्रियतामा मंगलबार बिहानैदेखि मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनेलाई पक्राउ गरिएको हो । ‘विगतभन्दा यो वर्ष होली निकै शान्त भयो,’ थापाले भने, ‘मादक पदार्थ सेवन गर्ने, होहल्ला गर्नेलाई बिहानैदेखि नियन्त्रणमा लियौं ।’
ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई पनि पक्राउ गरिएको छ । महानगरीय ट्राफिक महाशाखा डीआईजी प्रकाश अर्यालले १४ सयभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिएको बताए । ‘ट्राफिक लेन उल्लंघन गर्नेलाई नियन्त्रण लिई कारबाही चलाएका छौं,’ उनले भने । मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने र सार्वजनिक स्थलमा होहल्ला गर्नेलाई पक्राउ गरिएको एसएसपी पीताम्बर अधिकारीले बताए । घटनाको प्रकृति हेरेर पक्राउ परेकालाई छाडिने उनले बताए ।
होली पर्वको सुरक्षाका लागि उपत्यकामा ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । साथै ९३ स्थानमा चेकजाँच गर्न डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो ।