बुटवल, फागुन २९ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ मा कानुनी प्रक्रिया नै पूरा नगरी सडक बिस्तार गर्न लागिएको भन्दै स्थानीय बासिन्दाबीच विवाद भएको छ ।
स्थानीय केही उपभोक्ता सडक बिस्तार गर्नुपर्ने भन्दै श्रमदानमा जुटपछि केही उपभोक्ताले भने त्यसको विरोध गरेका छन् । तिलोत्तमा १५ को महनाजोत हुँदै मणिग्राम जाने बाटो उपभोक्ता समिति नै गठन नगरी बिस्तार गर्न लागिएको भन्दै स्थानीय केही उपभोक्ता विरोधमा उत्रिएका हुन् ।
“गाउँका सबै बासिन्दाको आम सहमतिबिना नै सडक बिस्तार गरिएको छ, यसमा हाम्रो असहमति हुँदाहुँदै व्यक्तिगत स्वार्थका नाममा केही व्यक्ति बाटो बिस्तारमा जुटेका हुन्” स्थानीय समाजसेवी रनबहादुर रेगामीले भन्नुभयो ।
गाउँको विकासका लागि वर्षेनी २०, ३० हजार बजेट आएपनि त्यसको यथार्थ हिसाव सार्वजनिक नगरी सीमित व्यक्ति र समूहको स्वार्थमा काम हुनु लज्जाको विषय भएको उहाँले बताउनुभयो । उहाँका अनुसार हाल बिस्तार भैरहेको सडकमा बाटोको नक्सांकन समेत कायम गरिएको छैन । अहिले सबै कानुनी प्रक्रिया पूरा नगरी स्थानीय बासिन्दा सडक निर्माणका लागि जनश्रमदानमा जुटिरहेका छन् ।
हाल निर्माण भैरहेको सडकमा उल्लेख्य मानव बस्ती नभकाले बाटो बिस्तार आवश्यक नरहेको समाजसेवी रेगामीको तर्क छ । साविकको मक्रहर गाविस वडा नं. ९ अन्तर्गत तुकतुकिया चोकबाट जनता माविसम्म जाने सडकको आसपासमा मानव बस्ती रहेको छैन । केही स्थानीयले सोही सडक बिस्तारका लागि जुटेपछि केही स्थानीय विरोधमा उत्रिएका हुन् ।
उता, केही स्थानीय बासिन्दाले भने गाउँका धेरै जनता बाटो निर्माणको पक्षमा रहेको भन्दै विरोध गर्नुको अर्थ नरहेको बताएका छन् । “हामीले गाउँ समाजको बैठकबाट निर्णय गरी सडक बिस्तारको काम थालेका हौं, केही बासिन्दाले विरोध गर्नुको अर्थ छैन” समाजका एकजना सदस्य हरि काफ्लेले भन्नुभयो ।
उहाँले सडक बिस्तारको लागि नगरपालिकाबाट ५० हजार बजेट आउने आशा राखेको समेत बताउनुभयो । अधिकांश स्थानीय सहमत भैसकेपछि केहीले मात्रै विरोध गरेर सडक बिस्तार नरोकिने उहाँले बताउनुभयो । तर रेगामीले भने सडक निर्माण स्थानीय जनताको हितमा नरहेको बताउनुभयो ।