श्याम पोखरेल
बुटवल, २१ पुस ।
सडक दुर्घटना न्युनिकरण गर्ने उद्वेश्यले नवलपरासीको कावासोतीमा सचेतना कार्यक्रम गरिएको छ । बढ्दो सडक दुर्घनना न्युनिकरण गर्नका लागि पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले सचेतना कार्यक्रम गरेको हो ।
कसरी सडक दुर्घटना न्युनिकरण गर्न सकिन्छ भन्ने उद्वेश्यले आयोजित उक्त सचेतना कार्यक्रममा यातायात व्यवसायी, सवारी चालक र सहचालकहरुको सहभागिता रहेको थियो ।सोही सचेतना कार्यक्रममा बोल्दै पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख तथा प्रहरी उपरिक्षक प्रकाश अधिकारीले सडक दुर्घटना न्युनिकरणमा सामूहिक एकता आवश्यक रहेको बताउनुभयो ।
बढ्दो सडक दुर्घटना न्युनिकरण गर्न चालकलाई जिम्मेवारी बनाउनुपर्ने बताउंदै चालकलाई हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभयो ।
सडक र सवारी साधनको अवस्थाबारे जानकारी लिएर मात्र चालकहरुले सवारी साधन चलाउने वानीको विकास भएमा दुर्घटनामा कमी आउन सक्ने बताउनुभयो । उहांले सवारी धनीको दवावमा बढी समान बोक्ने र यात्रुको दवावमा सवारी साधन चलाउनुपर्ने चालकको बाध्यताले पनि सडक दुर्घटना हुने गरेको बताउंदै कसैको दवावमा नपरी सवारी साधन चलाउन चालकहरुलाई आग्रह गर्नुभयो ।
अधिवक्ता महेन्द्रप्रसाद पाण्डेले मानवीय मृत्युको ठूलो कारण सडक दुर्घटना भएकाले सचेतनामूलक कार्यक्रमलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिनुभयो ।केयौ दुर्घटना चालकहरुका कारणले हुने गरेकाले चालकहरुले आफ्नो आनीवानी र आचरणमा सुधार ल्याउनु पर्ने बताउनुभयो । उहांले चालकहरुलाई राम्रो व्यवहार गरेमा पेशा पनि मर्यादित हुने र सडक दुर्घटनामा पनि कमी आउन सक्ने बताउनुभयो ।
नेपाल यातायात मजदुर संघका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष कृष्ण वेलवासेले सवारी दुर्घटनामा परी धेरैले अकालमा ज्यान गुमाउनु परेको बताउंदै यसको न्युनिकरणका लागि नीजि क्षेत्रसंगै राज्यले प्रभावकारी कार्यक्रमहरु ल्याउन आवश्यक रहेको बताउनुभयो ।
सोही सचेतना कार्यक्रममा प्रशिक्षण दिंदै पश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षक ज्ञानु पाण्डेले सडक दुर्घटना न्युनिकरणका लागि सबै सडक प्रयोग कर्तालाई ट्राफिक नियमबारे जानकार हुनुपर्ने बताउनुभयो ।
उहांले ट्राफिक नियम पालना नगरेकै कारण केयौ दर्घटनाबाट मानवीय क्षेती भएको उल्लेख गर्दै सबै सडक प्रयोग कर्तालाई ट्राफिक नियम पालना गर्न आग्रह गर्नुभयो ।
सडक दुर्घटना न्युनिकरण एकल प्रयासले मात्र सम्भव नभएकाले सबैको साझा पहल आवश्यक रहेको उहांले बताउनुभयो ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष लोकराज पोखरेलको अध्यक्षता, महासचिव टिकाराम गौतमको सञ्चालन र वरिष्ठ उपाध्यक्ष यमप्रसाद पाण्डेको स्वागतमा कार्यक्रम भएको थियो ।