नवलपरासी ।
नवलपरासीको अरुणखोलामा शुक्रबार राति भएको सवारी दुर्घटनामा परी घाइते भएका मध्ये एक जनाको ज्यान गएको छ । नयाँबेलहानी ८ मा पूर्वबाट पश्चिमतर्फ जांदै गरेको ना ६ ख ३०१७ नम्बरको ट्रक र बुटवलबाट नारायणगढ आउंदै गरेको बा ८ च ९१३ नम्बरको कार एक आपसमा ठक्कर खाँदा कारमा सवार ४ जना घाइते भएका थिए ।
घाइते मध्ये बुटवल उपमहानगरपालिका १४ निवासी ४० बर्षीय यातायात ब्यवसायी गणेश गैरेको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।गैरे यातायात व्यवसायी एवम् भलाई कोष रुपन्देहीका पूर्व सचिव हुन् ।
दुर्घटनामा परी कार चालक ख्याम पौडेल, कारमा सवार विद्या गैरे र बर्षा गैरे घाइते भएका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । त्यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका ८ चालिस किलोमिटर जंगलमा शनिबार विहान भएको सवारी दुर्घटनामा परि ८ जना घाईते भएका छन ।
ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार विहान पौने ६ बजेतिर काठमाण्डैबाट लुम्बीनी उत्सवकालागी हिडेको तिर्थयात्री बोकेको लु १ ख ७६,६९ नम्बरको बस आफै अनियन्त्रीत भई रुखमा ठोकिन पुग्दा भएको सवारी दुर्घटनामा परि चालक गम्भिर घाईते भएको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईतेको मध्यविन्दु अस्पतालमा उपचारपछि फर्किएको र चालकलाई बुटवल पठाईएको प्रहरीले जनाएको छ ।
यस्तै बुटवल धागो कारखाना नजिकै भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । लु १ ख ३३८९ नम्बरको माइक्रो बस र ना ४ ख ६५५२ नम्बरको मिनि बस बुटवल धागो कारखाना अगाडि ठोक्किदा नवलपरासी सुनवल ३ की सबिता पुनको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार २७ जना यात्रु घाइते भएका छन् ।