बिहान ६ बज्दा नबज्दै शुरु हुन्छ उनको दैनिकी । बिहान उठ्नासाथ कार्य क्षेत्रमा पुगि हाल्छन् । अघिल्लो दिनको कामको अवलोकन गर्छन्, बिग्रे नबिग्रेको अनुगमन गर्छन्, रातभरमा कतै दुर्घटना भए कि ? या दुर्घटनाका कारण सडकमा क्षति पुग्यो कि ? हेर्छन् । दिनभरका काम समीक्षा गर्छन्, सामाजिक सञ्जालमा राय सुझाव संकलन गर्न समेत भ्याउ“छन् । खाना खाने र कार्यालय जाने समय अरुको जस्तो सहज छैन । राती नसुत्दा सम्म आफु जिम्मेवारीमा रहेको सडकको संरचना बारे छलफल चलाउछन् ।
सडक निर्माणका लागी आवश्यक नदीजन्य पदार्थको अभाव छ । जसका कारण ठेकेदारले समयमा काम भ्याउदैन भन्नेमा उनि सशंकित र चिन्तित पनि छन् । सडक बिस्तार समयमा सकियोस मात्र होइन राम्रो र उत्कृष्ट बनोस् भन्ने उनको ध्याउन्न छ ।
पछिल्लो समय नदीजन्य पदार्थ अभाव भएपछि चिन्तित उनले बिभिन्न सञ्चार माध्यममा लेख लेखे । उद्देश्य सबैका माझमा समस्या पुगोस् जसले समाधान निकाल्छ कि भन्ने थियो । कतिपय सहकर्मीले कर्मचारीले लेख लेखेको चित्त बुझाएनन् । कोठे आलोचना समेत गर्न भ्याए । तर यथार्थता त्यहि थियो जुन कारण उनी चिन्तित थिए । त्यसकारण उनको कलम चल्यो ।
उनी अर्थात लीला भण्डारी । बेलहिया बुटवल व्यापारिक मार्ग परियोजनाका इन्जिनियर लीला भण्डारी । १० बर्ष अगाडि सरकारी सेवामा प्रवेश गरेका लीला पछिल्लो दुई बर्ष यता नेपालकै महत्वपुर्ण मानिएको बेलहिया बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनामा कार्यरत छन् ।
आयोजना शुरुवातिका दिनमा बुटवल र बेलहिया तर्फबाट सडक किनारमा रहेका संरचना हटाउन हम्मे हम्मे परेको थियो । काम चलाउ प्रकृतिका संयन्त्रहरुमा काम गर्न निकै कठिन हुने अवस्थामा सडक बिस्तारको काम त्यति सहज थिएन । त्यसमथि सडक किनारका घर धनीहरुको अवरोध र राजनीतिक दलका नेताहरुको अस्पष्टता र मौनताका बीच घर टहरा भत्काएर सडक बिस्तार अभियानको जिम्मेवारी लिए लीलाले ।
आयोजना प्रमुखको योजना र कार्यालयका अन्य सहयोगीहरुको साथ समर्थन नभएको भए काम गर्न निकै असहज हुने थियो । हरेक समय टिम मिल्यो, काममा सफलता पनि मिल्यो । तरपनि स्थानीयको मन दुखाउन नपरेको भए अझ राम्रो हुन्थ्यो । लीला भन्छन्, “कर्मचारीले सर्वसाधारण नागरिकको घर भत्काउनु रहर थिएन ।”
लीला भन्छन्, ‘सडक बिस्तार हुँदा कसैको बास उखेलियोस् भन्ने आफुहरुको चाहना होइन । कतिपयले हाम्रो चाहनाले भत्काएको बुझ्छन् । हामी केवल राज्यले दिएको जिम्मेवारी पुरा गरेका हौं । कतिपयको बास उखेलिदा आफ्नै मन दुखेपनि जिम्मेवारी पुरा गर्ने पथ्र्यो । सरकारी जग्गा मिचेर घर नबनाएको भए त्यस्तो हुदैनथ्यो ।’
तर जे होस् अहिले यो सडक सुन्दर र फराकिलो बनेको छ । जसको घर भत्काउन लगाइयो उसैसँग राम्रो मित्रता समेत बन्यो । लीला खुसी हुन्छन् । ‘जसले हाम्रो बाध्यता र आफ्नो कमजोरी स्वीकार्न सके तिनीहरुसँग राम्रै सम्वन्ध बिकास भयो’, उनले अनुभव सुनाए ।
कति मेहनत र लगानीका साथ सडक बनेको छ तर स्थानीयले सडकको महत्व अझै बुझेको देखिएन । आफ्नो घर अगाडिको सडक खुला र आधुनिक बन्दा सुरक्षित हुन्छ भन्ने कुरा सडक किनाराका बासिन्दाले बुझेनन् । लीलाको गुनासो छ ।
‘घर अगाडिको सडक राम्रो होस्, नाली ठुलो होस्, तब हामीलाई राम्रो हुन्छ भन्ने सडक किनाराका बासिन्दाले नबुझ्दा सडक राम्रो हुन पाएन । जसले सडक र नाली निर्माण गर्दा असहयोग गरेका छन् तिनैले बाटो बिगारेको आरोप हामीलाई लगाउँछन्’लीलाको गुनासो छ ।
त्यति मात्र होइन सडक किनाराका व्यापारीले कहिले फुटपाथमा सामान राख्छन्, कहिले निर्माण सामाग्री, कहिले कमजोर संरचना माथि ठुला ठुला सवारी साधन राखेर लोड अनलोड मात्र होइन नालीको ढकन माथि राखेर गाडी मर्मत गर्दा लीलाको मन खिन्न हुन्छ ।
‘हामी त सरकारी जिम्मेवारी लिएर आएका हौं । काम सकिए पछि जान्छौ । यो सडकको माया तपाईहरुलाई हुनु पर्ने हो । खोई त माया ?’ उनि प्रति प्रश्न गर्छन् । बनाएको सडक नबिग्रोस भनेर सजग बन्नु पर्नेहरुलाई नै मतलव छैन, उनि आश्चर्य मान्छन् ।
‘घर अगाडि हरीयाली होस् भनेर बिरुवा लगाएका छौं तर बिरुवामा मलजल गर्ने साटो कतिपय स्थानीयले प्लाष्टिक र अन्य कागजात राखेर आगो लगाउँछन् । सडक किनाराका बासिन्दाले नबुझेसम्म बिरुवा हुर्कदैन । अझ छाडा चौपायाको समस्या त यथावतै छ ।’ लीला पिडा व्यक्त गर्छन् । स्थानीय निकायले चासो देओस् भन्ने लीलाको आग्रह छ ।
‘सडक बनेर सुरक्षित आवागमन होस् भन्ने चाहना हो । तर खुल्ला सडकमा लापरवाही गर्दा धेरैको ज्यान जाने संकेत देखियो । अब सडक प्रयोगकर्तालाई सजग बनाउने अभियान थाल्नुपर्छ ।’ लीलाले योजना सुनाए । सडकमा मान्छेको ज्यान नजाओस् भनेर अनेक बिधि अपनाइएको छ । तरपनि सडक प्रयोगकर्ताहरुको लापरवाही कम नहुँदा उनलाई चिन्ता लाग्छ ।
हरेक दिन चर्को घाममा सडकमा भेटिने लीलाको दिउसोको समय कार्यालय भन्दा बढी सडकमै बित्छ । निर्माण कम्पनीले गरेको कमजोरीको जिम्मेवारी र जवाफदेहिता आफ्नो काँधमा हुने भएकोले पनि होला लीलालाई चर्को धुपको कुनै परवाह छैन । ‘मैले राम्रो सँग हेरिन भने कसले हेर्ला ?’ उनि प्रश्न गर्छन् ।
हुन त लीला यही सडक निर्माणको रेखदेख र अनुगमनको लागि राज्यको तलब खाएर खटिएका हुन् । तरपनि सरकारी तलब खाएर काम नगरी दश बजेदेखि पाँच बजाउने सरकारी कर्मचारीहरुका बीचमा भने लीला उदाहरणीय पात्रको रुपमा रहेका छन् ।