सन्तोष पोखरेल
नागरीक न्युजबाट
यो बसको पछाडि ‘एयर सस्पेन्सन राखिएको र यले बसलाई खाडलमा पर्दा बेसरी हल्लिन नदिने उनले बताए। चिया–कफी पिउँदा हल्लिने डर भएकोले एयर सस्पेन्सन राखिएको उनले बताए।
बसको मूल्य प्रतिगोटा १ करोड ७५ लाख रुपैयाँ परेको अधिकारीले बताए। कम्पनीले हाल यस्ता बस २ वटा ल्याएको छ। भारतको अशोक लेल्यान्ड कम्पनीमा निर्मित बसको प्रत्येक सिटका लागि करिब ८५ हजार भारतीय रुपैयाँ परेको उनले बताए। ‘साढे ३ करोड रुपैयाँमा दुइवटा बस भित्र्याएका छौं। सुविधाकै लागि यतिधेरै लगानी गरेका हौं,’ उनले भने।
बसभित्र पार्केटिङ गरिएको छ। कुनै पनि झ्याल खोल्न मिल्दैन। एसी, पंखा, वाइफाई सुविधा बसभित्रै उपलब्ध हुने उनले बताए। अधिकारीका अनुसार बस पोखरा–काठमाडौं–पोखरा रुटमा चल्नेछन्। एउटा बस पोखरा आइसकेको छ। दोस्रो केही दिनमै आउने र डेढ सातापछि व्यावसायिक रुपमा सञ्चालन गरिने छ।
बसभाडा स्वदेशीलाई प्रतिव्यक्ति २ हजार र विदेशीलाई २५ सय तोकिएको छ। यो भाडाले खाना, खाजा सहित बसभित्र चिया, कफी, चिसो पेय, पानी निःशुल्क पाइनेछ। ‘यात्रुले भाडा तिरेपछि मन लागे जति खान, पिउन पाउनेछन्,’ अधिकारीले भने, ‘गाडीभित्रका कुनै पनि सुविधा लिन थप पैसा तिर्नुपर्दैन।’ बसमा यात्रा गर्ने हरेक यात्रुको झोला नसाटियोस र नहराओस भनेर ‘लगेज ट्याग’ दिने कम्पनीको योजना छ।
यात्रुको सुविधामा महिला कर्मचारी (ग्राउन्ड होस्टेज) खट्नेछन्। चालक र सहचालकबाहेक एकजना ‘ग्राउन्ड होस्टेज’ रहने उनले बताए। ग्राउन्ड होस्टेजको काम यात्रुको सेवा गर्ने हुनेछ। ‘यात्रुलाई चिया–कफी, चिसो, खाना, खाजाको सुविधाको लागि ग्राउन्ड होस्टेज खटिनेछन्। सहचालकले बसको रेखदेख गर्नेछन्,’ उनले भने, ‘हवाइजहाजको जस्तै सडकमा गुड्दा पनि दिन खोजेका हौं। बसका चालक, सहचालक र ग्राउन्ड होस्टेज सबैका लागि भिन्दै पोसाक व्यवस्था गरिनेछ।’ पोखराबाट गएका र काठमाडौंबाट आएका होस्टेज खाना खाने ठाउँमा साटफेर गरिने उनले बताए।
कम्पनीले बसमा हिँड्ने सबै कर्मचारी छनोट गरेर प्रशिक्षण दिइसकेको छ। ‘यात्रुलाई कस्तो व्यवहार गर्ने भनेर उनीहरुलाई सिकाएका छौं। चालक, सहचालक, ग्राउन्ड होस्टेज सबैलाई प्रशिक्षण दिएका छौं,’ उनले भने। यातायात क्षेत्रमा नयाँ अनुभव दिन ठूलो लगानी गरेको उनले बताए।
पृथ्वी राजमार्ग बस सञ्चालक समिति अध्यक्ष ऐनकुमार साईले व्यवसायको स्वरुप परिवर्तन गर्ने क्रममा नयाँ र सुविधासम्पन्न बस भित्र्याउन थालेको बताए। ‘अरु व्यवसायीका लागि यो सिकाइ हुनसक्छ,’ साईले भने, ‘यात्रुले अहिले गाडी मात्र होइन सुविधा खोज्छन्।’ व्यवसायीले परिवर्तन चाहे पनि सरकारले सडक मर्मत सम्भारमा उति चासो नदिएको उनले बताए।