पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।
कास्कीको लेखनाथ नगरपालिकास्थित छिनेडाँडामा बन्न लागेको बिमानस्थलको बुधबार दिउँसो प्रधानमन्त्रीले शिलान्यास गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास निर्माणका कार्यमा सबैको सहभागिता हुनुपर्ने भन्दै आफूसँग रहेका प्रमुख दलका शीर्ष नेताहरुलाई इँटा थप्न आग्रह गरेका थिए
कार्यक्रममा सहभागी एमाओवादी अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा र उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार र कांग्रेस महामन्त्री शशांक कोइरालाले शिलान्यासका क्रममा इँटा थपेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा विमानस्थल सम्बन्धी ऋण सम्झौता भएपछि विमानस्थल बन्न लागेको हो । भ्रमणका क्रममा चैत्र ८ गते अर्थमन्त्री विष्णु पौडेल र चिनियाँ समकक्षीबीच ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । पोखराको छिनेडाँडामा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङसँग २०७१ जेठ ८ गते नै ठेक्का सम्झौता भएको थियो । सम्झौता नेपाल सरकारले सोही वर्षको कात्तिक १० गते स्वीकृत गरेको थियो ।
पोखरा विमानस्थल निर्माणका लागि २१ करोड ७० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । चीनको एक्जिम बैंक सस्तो ब्याजदरमा सहुलियत ऋण दिन तयार भएको छ । ठेक्का सम्झौता अनुसार विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन, अन्तराष्ट्रिय र आन्तरिक टर्मिनल बिल्डिङ, एयर ट्राफिक कन्ट्रोल टावर, कार्गो टर्मिनल बिल्डिङ, एयरपोर्ट हृयांगरलगायत निर्माण हुनेछन् ।
– See more at: http://nepalauto.com/%E0%A4%AA%E0%A5%8B%E0%A4%96%E0%A4%B0%E0%A4%BE-%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF-%E0%A4%B5%E0%A4%BF/#sthash.oGtrC9qG.DT3XGta6.dpuf