भगवती पाण्डे
बुटवल, कार्तिक १५
ईन्धन अभावका कारण चल्न नसकेका सवारी साधनको विकल्पको रुपमा बुटवलमा ईलेक्ट्रीक रिक्साको प्रयोग बढ्दै गएको छ । १ वर्ष पहिले फाट्फुट्ट रुपमा दुईचार वटा मात्र रिक्सा भित्रिएको बुटवल बजारमा अहिले डेढ सय भन्दा बढी विद्युतिय रिक्सा संचालनमा रहेका छन् ।
सिद्धबाबा मन्दिरबाट फर्किदै गरेको रिक्सा दुई वर्ष पहिले दुर्घटनामा परी ३ जनाको ज्यान गएपछि रोकिएको यसको प्रयोग ईन्धन अभाव भएपछि ह्वात्तै बढेको देखिन्छ । विद्युतिय रिक्सा चालकको अनुमती पत्र नभएका कारण त्यस बेलाका दुर्घटना पिडीतले अहिलेसम्म राहत नपाएको गुनासो गरेका छन् ।
ईन्धन अभाव भएपछि भने प्रत्येक तिन मिनेटमा छुट्ने माईक्रो बसहरुको समय लम्बिएपछि नगरबसको काम विद्युतिय रिक्साले पुरा गरेको छ । विगत दुई महिनायता सडकमा माईक्रो बसहरुको संख्या पातलिएको छ भने विद्युतिय रिक्साहरुको संख्या बाक्लिएको छ ।
अहिले बुटवलका मुख्य सडक, चोक तथा भित्रि सडकहरुमा विद्युतिय रिक्सामा यात्रा गर्नेहरु धेरै देखिन्छन् । विगत एकवर्ष देखि विद्युतिय रिक्सा विक्री गर्दै आएका ई रिक्सा डिलर्स एशोसिएसन लुम्बिनीका सचिव यम रानाका अनुसार दशैंको अवधीमा मात्र बुटवलमा ६० वटा बढि रिक्सा थपिएका छन् ।
मानिसको श्रमबाट चलाउनुपर्ने रिक्सा भन्दा आकर्षक देखिने र बजारको दृश्य अवलोकन गर्दै यात्रा गर्न सकिने भएकोले यसको प्रयोग बढेको रानाको दावी छ ।
यस्ता रिक्साहरु करिब २ लाख साठीहजार देखि ४ लाख रुपैया सम्मका रहेका छन् । कम मुल्यका यी रिक्सा संचालनबाट दैनिक ४ हजार रुपैयासम्म आम्दानी गर्ने गरेको चालकहरु बताउंछन् ।
ईलेक्ट्रिक व्याट्रिबाट चल्ने यी रिक्सालाई फुल चार्ज गरिएको व्याट्रिबाट ८० किलोमिटर सम्म संचालन गर्न सकिने विक्रेताहरु बताउंछन् । व्याट्रि र सानो मोटरबाट संचालन हुने रिक्सा संचालनको क्रममा अन्य कुनै खर्च नहुने भएपछि राम्रो आम्दानी हुने गरेको चालकहरुको भनाई छ ।
एकपटकमा ६ जनासम्म यात्रा गर्न सकिने र माईक्रो बस नजाने भित्रि सडक तथा गल्लीहरुमा समेत लैजाने विद्युतिय रिक्सामा बुटवल नगरक्षेत्र भित्र प्रति यात्रु २५ रुपैया भाडा तय गरिएको लुम्बिनी ई रिक्सा यातायात व्यवसायी संघका अध्यक्ष्ँ केशव रानाले बताए ।
माईक्रो बसको लागि १५ रुपैया निर्धारण गरिएको बुटवल नगरक्ष्ँेत्रमा रिक्साको भाडा २५ रुपैया तय गरिएपछि उपभोक्ताले भने केहि महंगो भएको महशुस गरेका छन् ।
अहिले अन्य जागिरबाट अवकास प्राप्त व्यक्ति, अन्य सवारी साधन संचालन गर्ने चालक तथा महिलाहरुले समेत रिक्सा संचालन गर्दै आएका छन् । बुटवलसंगै रुपन्देहीको देवदह, नवलपरासीको सुनवल, बर्दघाट लगायतका क्षेत्रहरुमा करिब २० जना रिक्सा चालक महिलाहरु रहेका छन् ।
रिक्सा संचालनबाट सिप भएका तर बेरोजगार युवाहरुलाई स्वरोजगार बन्ने अवसर मिलेको रानाले बताए ।
यद्यपी मोटर र मेशिनबाट संचालन हुने सवारी साधन भएर पनि सवारी चालक अनुमती पत्र नभएका व्यक्तिहरुलाई रिक्सा संचालन गर्न दिईएको भन्दै यसको आलोचना समेत हुने गरेको छ ।