बिष्णु घिमिरे बुटवल १२ कात्तिक ।
सवारी दुर्घटनामा परी पश्चिमाञ्चल क्षेत्रमा पछिल्लो तीन महिनामा मात्रै १ सय ३० जनाको मृत्यु भएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक गोपाल गैरेका अनुसार आर्थिक वर्ष ०७३।७४ को शुरु तीन महिना साउन, भदौ र असोज महिनामा पश्चिमाञ्चलमा २ सय १० वटा सवारी दुर्घटना भएका छन । दुर्घटनामा परि २ सय ५३ जना गंभिर घाइते भएका छन भने १ सय ४७ जना घाइते भएका छन । रुपन्देही, नवलपरासी, तनहु, कास्की जिल्लामा बढी सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सबैभन्दा धेरै १ सय ४८ वटा मोटर साइकल, दुर्घटना भएका छन भने यस तीन महिनाको अवधीमा ४९ वटा बस, ४७ वटा जीप कार र ३५ वटा ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । पश्चिमाञ्चलमा आर्थिक वर्ष ०७२।७३ मा ८ सय ४६ वटा दुर्घटना भएका थिए भने ५ सय २० जनाको मृत्यु भएको थियो । जसमा सबैभन्दा धेरै ४ सय ५८ वटा मोटरसाइकल दुर्घटना भएका थिए । त्यस्तै २ सय ३३ वटा बस र १ सय ६२ वटा ट्रक दुर्घटना भएका थिए । बढ्दो सवारी साधनमा सडक निर्माण सुस्त पछिल्ला वर्षहरुमा सवारी साधनको चाप ह्वात्तै बढ्दै गएको छ तर सडक निर्माण तथा विस्तारको गति सुस्त रहदा सडकहरु जोखमयुक्त बन्दै गएका छन ।
लुम्विनीका चार जिल्लामा पछिल्लो वर्ष सडक निर्माण कच्ची र पक्की गरेर जम्मा एक सय किलोमिटर थपिएको छ तर सवारी साधन ६० हजार भन्दा पनि बढी थपिएका छन । नेपाल राष्ट बैंक भैरहवाले गरेको अध्यानमा रुपन्देही, नवलपरासी, कपिलवस्तु र पाल्पामा ०७१।७२ मा ४ सय १८ दशमलब १० किलोमिटर कच्ची सडक रहेकोमा ०७२।७३ मा ४ सय ७८ दशमलब ५६ किलोमिटर पुगेको छ । अर्थात जम्मा ६० किलोमिटर कच्ची सडक थपिएको छ । त्यस्तै ०७१।०७२ मा ८ सय ३८ दशमलब ३६ किलोमिटर पक्की सडक रहेकोमा ०७२।०७३ मा ८ सय ७९ दशमलब ५६ किलोमिटर सडक पक्की पुगेको राष्ट बैंक भैरहवाका प्रमुख रेवतीप्रसाद नेपालले बताए । पक्की सडक जम्मा ४१ किलोमिटर थपिएको छ । ६० हजार थपिए सवारी साधन ०७१।७२ मा २ लाख ८२ हजार ५ सय ३३ रहेकोमा ०७२।०७३ मा ३ लाख ४४ हजार ३ सय ७६ पुगेका छन । अर्थात एक वर्षमा ६१ हजार ८ सय ४६ थपिएका छन । दैनिक झण्डै दुइ सय सवारी थपिने गरेको तथ्याकले देखाएको छ । राष्ट्र बैंकले यस क्षेत्रको विकासका लागि पर्यटकीय क्षेत्रहरु जोड्ने सडकहरुको निर्माण हुनुपर्नेमा जोड दिएको छ ।
नया पत्रिकाबाट