नबिर्सौं जनताले किनिदिएको प्राडो, पजेरो चढेर हामी सुरक्षित भएका हौं
विगत केही महिनामा भएका दुर्घटना श्रृङ्खला कहालीलाग्दो छ। दुर्घटनामा ज्यान गुमाउनेको तथ्याङ्क झनै पिडादायी हुन्छ। सार्वजनिक सवारीको अधिकांश दुर्घटनामा ज्यान गुमाउने स्वस्थ र सक्रिय उमेरका स्वस्थ नागरिक हुन्छन्। परिवारमा रोजीरोटी जोहो गर्नेको अचानक ज्यान गयो भने बालबच्चा र बुढापाकाको कति बिचल्ली हुन्छ भन्ने हामीले देखे जानेकै छौं।
सार्वजनिक यातायातका अधिकांश यात्रु गरिब र निम्न मध्यम वर्गीय हुन्छन्। मकवानपुरको चुरीया माईमा भएको ट्रक दुर्घटनालाई सम्झना गरौं। त्यहाँ गरिब परिवारका श्रम गर्ने व्यक्तिको मृत्यु भयो। हाड घोटेर परिवार पाल्ने व्यक्ति नै नभएपछि परिवारमा पर्ने असर भयावह हुन्छ। परिवार झन् गरिब हुन्छ। स्कूल जाने उमेरका बालबच्चाको पढाई रोकिने सम्भावना रहन्छ।
दुर्घटनामा गम्भीर घाइते वा अशक्त हुनेको कथा झन् दर्दनाक हुन्छ। सबैभन्दा बढी श्रम गर्ने सदस्यलाई उपचार गर्दागर्दै परिवार थला पर्छ। अशक्त व्यक्तिको स्याहारसुसारमा परिवारका अरु सदस्य जिन्दगीभर तल्लिन हुनुपर्ने हुन्छ। यस्तो अवस्थामा मध्यमवर्गीय परिवार पनि केहि समयमै गरिबीको दुष्चक्रमा पर्छ। आर्थिक रुपमा सक्रिय वयस्कहरु निक्रिय भएपछि एउटा हाँसिखुसी परिवारमा सदाका लागि दुःखको ग्रहण लाग्छ।
दुर्घटनाको यो चक्रले केटाकेटीमा पर्ने मानसिक आघात त लेखाजोखा गर्नै नसकिने खालको हुन्छ। चालक तथा यातायता व्यवसायीको हेलेचेक्र्याइ र सरकारी निकायको उदासिनताले हुने अधिकांश दुर्घटनाको हामीले यति महँगो मूल्य चुकाइरहेका छौं।
सार्वजनिक यातायता सुरक्षा कसरी बढाउन सकिन्छ भन्ने मुद्दामा दसैंयता मैले सबैभन्दा बढी समय दिइरहेको छु। यससँग सरोकार राख्ने सरकारी अधिकारी र सरोकारवालासँग सधैजसो घन्टौं छलफल गरेको छु। सार्वजनिक यातायात सुरक्षामा काम गरेका न्युजिल्याण्डदेखि अष्ट्रेलियासम्मका विज्ञहरुको कुरा सुन्यौं। नेपाली मुलका ती विज्ञले हामीलाई उनीहरुको अनुभव नि:शुल्क सुनाइदिए। सवारी चालक अनुमति पत्र (लाइसेन्स), यातायात सञ्चालन अनुमित पत्र (रोड पर्मिट) नै सडक सुरक्षा ग्यारेन्टी गर्ने प्रमुख माध्यम भएको धारणा उनीहरुले व्यक्त गरे।
विडम्बना सरकारले लाइसेन्स दिएको चालकको भर परेर सरकारले अनुमति दिएको बस/जीपमा सरकारले तोकेजति भाडा तिरेर यात्रा गर्दा निर्दोष सर्वसाधरणले दिनहुँ ज्यान गुमाउनु परिरहेको छ। यस्तो अवस्थामा हामी सरकारी ओहोदामा बसेकाहरु जवाफदेही हुनुपर्छ की पर्दैन। म भन्छु अवश्य पनि यो हाम्रो जिम्मेवारी हो?
एउटा भनाई छ, ‘सबैको जवाफदेहिता कसैको पनि जवाफदेहिता हुँदैन।’ हाम्रो यातायात सुरक्षाको प्रमुख समस्या यो पनि हो। सडक सुरक्षा फलानो निकायको एकलौटी जिम्मेवारी हो भनेर प्रष्ट किटिएको छैन। त्यसैले एउटाले अर्कालाई देखाएर पन्छिने चलन छ। सडक विभागले प्रहरी, प्रहरीले यातायात, यातायतले सडकलाई देखाएर कहिलेसम्म पन्छिने?
त्यसैले अब कुनै निकायलाई सडक सुरक्षाको समग्र जिम्मेवारी दिने बेला भएको छ। हाम्रोमा अर्को कमजोरी पनि छ कतिपय अवस्थामा हामी कुनै निकायलाई जिम्मेवारी दिन्छौं तर प्रशस्त अधिकार दिँदैनौ। त्यसमा पनि सुधार जरुरी छ।
दुर्घटनाको चोटप्रति हामी (सरकारी)ले सरकारी निकायहरुलाई पुरापुर संवेदनशिल बनाउन सकेका छैनौं। सार्वजनिक यातायातमा चढेको निर्दोष मानिसले अनाहकमा ज्यान गुमाउँछ। हामी (म मुख्य सचिव सहित) त्यही बाटोबाट जनताले तिरेको करले किनेको प्राडो, पजेरोमा यात्रा गरेर सुरक्षीत छौं। त्यसैले दुर्घटनाविरुद्व लडेर आफ्नो मुलुकको सडक सुरक्षीत बनाउन हामी सरकारी निकाय कठोर निर्णय सहित प्रभावकारी रुपमा कार्यारम्भ गर्न बितिसकेको छ।
बबरमहल दुर्घटनाकै कुरा गरौं। मोटरसाइकल चालकहरुले आफ्नो लेनमा मन्द गतिमा हाँकिरहेका थिए। उनीहरुको खल्तीमा सरकारले दिएको लाइसेन्स पनि थियो। मोटरसाइकलको कन्डिसन बिलकुल दुरुस्त हालतमा थियो। अनुशासित भएर मोटरसाइकल हाँक्दाहाँकदै पनि अर्काको गल्तीमा उनीहरुको ज्यान गयो। सडक सुरक्षाको सबैभन्दा ठूलो चुनौती यो पनि हो।
कहालीलाग्दो दुर्घटनामा निजी क्षेत्र झन् महत्वपूर्ण पक्ष हो। यात्रुसँग भाडा असुलेपछि उनीहरुप्रतिको दायित्व स्वतः सिर्जना हुन्छ। यातायात व्यवसायीहरुमा असाध्यै कम दायित्वबोध देखिन्न। कतिपय रुटमा सातदिनसम्म बस/माइक्रोबस/जीपलाई बसपार्कमा थन्काएर निकै कमलाई मात्र गुडाएको देखिन्छ। आठ जनाको सिट क्षमता भएको सवारीमा पच्चिस जना चढाएपछि ढिलो चाँडो दुर्घटना हुन्छ हुन्छ। यस्तो चरित्र देखाएर सार्वजनिक यातायात सञ्चालन गर्न पाइन्न।
सार्वजनिक यातायात सञ्चालनको अनुमति पाउने बित्तिकै यसलाई सुरक्षीत र सुबिधाजनक तरिकाले संचालन गर्ने दायित्व सिर्जना हुन्छ। व्यवसायीहरुले सुरक्षीत यात्रालाई आफ्नो मन्त्र बनाउनुपर्छ। व्यवसायीहरुले यसको मनन गरेकै दिन पचास प्रतिशत दुर्घटना स्वतः कम हुन्थ्यो।
मैले भौतिक योजना तथा यातायात मन्त्रालय र गृह मन्त्रालयका सहकर्मीहरुसँग अत्याधिक दुर्घटना हुने कुनै क्षेत्रलाई नमूना बनाएर सुरक्षीत सडकका लागि एकीकृत कार्यक्रम गर्नेबारे छलफल गरिरहेको छु। यसमा व्यवसायीको सहयोग अपरिहार्य हुन्छ। किनकी दुर्घटना कम गर्ने प्रमुख दायित्व व्यवसायीको पनि हो।
सरकार एकीकृत पहलका नाममा ठूलो धनराशी, इञ्जिनियर, विज्ञ लगायतको स्रोत साधन थप्न सक्ने अवस्थामा छैन। यी विभिन्न माग अघि सारेर त्यो पूर्ती नभएका कारण दुर्घटना कम गर्न सकिएन भनेर धर पाउने अवस्था पनि अब छैन। पहिचान भएका समस्यालाई भएकै स्रोतसाधनबाट समाधान गर्ने प्रयास हुनुपर्छ भन्ने मेरो प्रष्ट धारणा छ। भएकै स्रोत साधन, विद्यमान एन, कानून र निकायले आफ्नो अधिकार इमान्दारीपूर्वक कार्यान्वयन गर्न थाल्ने हो भने अवश्य पनि सकारात्मक सुधार देखिन थाल्छन्।
समस्याहरु पहिचान गर्ने नाममा समिति बनाएर नक्कल गरेको (कपि, पेस्ट) प्रतिवेदन तयार गर्न आवश्यक छैन। कुनै पनि मुलुक यस्ता नक्कले प्रतिवेदन र विदेशबाट झिकाइएका महँगा परामर्शदाताको सल्लाहले रातारात बनेको छैन। आफनै देशको प्रणालीको इमान्दारी, समर्पण, प्रतिवद्वताले देशको मुहार फेरेको छ। सडक सुरक्षाको मुद्दा पनि हामीले नै समाधान गर्ने हो।
हामी उसै पनि द्विविधाको विन्दुमा छौं। प्रायजसो राजनीतिक दलका नेता, राजनीतिक अस्थिरता, संविधान लगायत ठूलठूला दोषारोपण गरेर आफू पन्छिन खोज्छौं। ठीक छ आरोप लगाउन पाइन्छ। यस्ता जटिल विषयमा गफ मात्र गरेर हामीले समय बर्बाद गर्यौं हाम्रो भविष्य झन् गएगुज्रेको हुन्छ।
अरुको मात्र आलोचना गर्न छाडौं। कम्तीमा सरकारी कर्मचारी समयमै अफिस आएर आफ्नो कर्तव्य पालन गन सक्यौं भने पीडितलाई कति राहत मिल्थ्यो होला? कुनै दिक्दारी नदिई, घुस नमागि आफनो तोकिएको काम गर्न थाल्ने हो भने पनि सेवाग्राही कति दंग पर्दा हुन्?
हामीलाई तोकिएको यो काम गर्न संविधान चाहिन्छ? राजनीतिक स्थिरता चाहिन्छ? यसका लागि असल राजनीतिज्ञ चाहिन्छ? मलाई लाग्छ हाम्रो टेबुलको काम इमान्दारीपूर्वक गर्न हाम्रो प्रतिवद्वता नै काफी छ। अरु केहि चाहिन्न।
पहिला हामीलाई तोकिएको अधिकार र कर्तव्यको पुरापूर प्रयोग गरौं। त्यसपछि थप सुधारका लागि मैदान नपुग्ला अनि बल्ल हामी संविधानको कुरा गरौं। राजनीतिक स्थिरताको माग गरौं। असल राजनेताको खोजौं। काम गर्ने मैदान अपुग भएपछि ठूलो संगठन, धेरै बजेट र ऐन, कानून संशोधनको माग गर्ने आधार पनि बन्छ।
दुर्घटनाको विश्लेषण गरौं त। अयोग्यले चालकको लाइसेन्स, कण्डिसन ठीक नभएका मोटरले जाँच पास, खराव सडकमा रुट पर्मिट वा कुनै न कुनै कमजोरीले दुर्घटना दिनहुँ राष्ट्रिय अखवारहरुको मुख्य समाचार बनिरहेको छ। अब यस्तो स्थिति अन्त्य गरि निर्दोष यात्रुको अमूल्य ज्यान जोगाउन व्यवसायीहरुलाई पनि उत्तिकै जिम्मेवारी र जवाफदेही बनाउँ। सार्वजनिक यातायातलाई सुरक्षीत र भरपर्दो बनाऊ।
(सार्वजनिक यातायात सुरक्षाबारे गोष्ठीमा पौडेलले दिएको अंग्रेजी वक्तव्यबाट अनुदित र सम्पादित) सेतोपाटी बाट