एकराज सुवेदी
एउटा २५ बर्षे लक्का जवान । लाग्छ, जिन्दगीमा संघर्ष गर्न धेरै बाँकी छ । तर औसत नेपालीको जिन्दगीसँग तुलना गर्दा उनी धेरै अगाडि बढिसकेका छन् ।
उनी अर्थात निर्देश सेढाई । चितवनको नारायणघाट कर्मथलो भएका निर्देशले मुलतः एस. एच. मोटर्स सञ्चालन गरिरहेका छन् । एस. एच. मोटर्सले ५ बर्ष यता नारायणघाटमा फोर्ड गाडीको डिलरको रुपमा कार्य गरिरहेको छ । त्यसैगरी सेढाई होल्डिङस अन्तर्गत कुरिनटारमा बाबा धाम ट्रेडर्स र भरतपुरमा ओम गौरीशंकर आयलको नाममा पेट्रोल पम्प सञ्चालन गरिरहेको छ । भर्खरै एस. एच. मोटर्स नारायणघाटमा डाइहात्सु गाडीको समेत डिलर बन्ने क्रममा छ ।
एस. एच. को अर्थ सेढाई होल्डिङ्स हो । एस. एच. अन्तर्गत नै निर्देश र उनको परिवारको व्यवसाय चलिरहेको छ । यही परिवारले एस एग्रो फार्ममा समेत सेयर लगानी गरेको छ भने आगामी दिनमा कुरिनटारमा सानो पारिवारिक रिसोर्टको रुपमा ब्रायन्स प्याभिलियन स्थापना गर्ने तयारी समेत गरेको छ ।
अटोमोबाइल क्षेत्रमा एस. एच. मोटर्सको पहिचान फोर्ड ब्रान्डले नै गराइदिएको हो भन्न सकिन्छ । बाबाधाम ट्रेडर्स संचालन गर्दा बढेको जनसम्पर्क र बैंकहरुसँगको सहकार्यले नै गाडी व्यवसायमा पनि फाइदा पुगेको निर्देश बताउछन् । यद्यपि सुरुवातका दिनमा व्यवसाय बढाउनका लागि निकै नै मेहनत गर्नुपरेको स्मरण उनको मनमा अझै पनि छ । चितवन र यसको आसपासका प्रत्येक सम्भावित ग्राहकको वारेमा जानकारी लिएर ‘डोर टु डोर’ भ्रमण गरेको उनले बताए । त्यसपछि अनुमानका आधारमा मात्र सन् २०११ को अन्त्यतिर नारायणघाटमा फोर्डको सोरुम स्थापना गरेका थिए ।
शोरुम स्थापना पश्चात फोर्डका गाडी बिक्री गर्न थाले । त्यतिखेर फोर्डका अहिले जस्तो धेरै मोडलका गाडी थिएनन् । त्यतिखे फोर्डको फिगो कारले राम्रो बजार लिएको थियो । त्यसपछि क्लासिक, न्यु फिएस्टा, इकोस्पोर्ट आदि गाडीले पनि राम्रो व्यापार कायम गराउन भूमिका खेले । अहिले पनि न्यु फिगो र एस्पायर जस्ता गाडीले ग्राहकमा फोर्डको थप पहिचान कायम गराउने उनी विश्वास गर्छन् । बीचको समयमा न्यु फिएस्टा कार चितवन र यसको आसपासका क्षेत्रमा निकै नै बिक्री भएका थिए । नेपालमै एस. एच. मोटर्सले सर्बाधिक संख्यामा यो कार बिक्री गर्न सफल भएको थियो । गत ४ बर्षको अवधिमा सबै गरी ५ सय भन्दा बढि फोर्डका गाडी बिक्री गरेको निर्देश सगर्व बताउछन् ।
अब अलिकति हाइ क्लासका गाडी पनि बिक्री गर्नुपर्छ भन्ने उद्देश्यका साथ डाइहात्सुको डिलर राख्न थालेको उनी बताउछन् । जापनिज गाडी र उपयुक्त मूल्य भएकाले यो ब्रान्ड धेरैले रुचाउने उनको अनुमान छ ।
गाडी बिक्री गर्ने सबै मानिस गाडीका शौखिन हुन्छन् भन्न सकिदैन । यद्यपि निर्देश सेढाईको हकमा भने यो कुरा लागू हुन्छ । उनीसँग अहिले पनि फरक फरक रेन्जका ५ वटा गाडी छन् । उनले टोयोटा ल्यान्डक्रुजर प्राडो, फोर्ड फिगो, फोर्ड फिएस्टा, टोयोटा यारिस र निसान नभारा गाडी प्रयोगका लागि राखेका छन् । भन्छन्, ‘फरक फरक अवस्थामा आवश्यकता अनुसार फरक फरक गाडी प्रयोग गर्छु ।’ कुनै बेला यी गाडीमा सवार भएर लङ ड्राइभमा पनि निस्कन्छन् । अहिले सम्म लङ ड्राइभ गएको स्थान मध्ये बर्दिया राष्ट्रिय निकुञ्ज पुगेको क्षण उनका लागि सधै स्मरणयोग्य छ रे । नेपालबाहेक उनी युरोपका विभिन्न राष्ट्रदेखि लिएर भारत, बंगलादेश, चीन, मलेसिया, थाइल्यान्ड, फिलिपिन्स, दुबई, सिंगापुर आदि देशको भ्रमण गरिसकेका छन् ।
सामाजिक कार्यमा पनि निर्देश उत्तिकै सक्रिय छन् । उनी नेपाली युवा उद्यमी मञ्च चितवनको अध्यक्ष हुन् । त्यसैगरी बालबालिकाका लागि प्रहरी नागरिक अभियानका कार्य समिति सदस्य हुन् । अभियानले हाल ४० जना चितवनका सडक बालबालिकालाई संरक्षण प्रदान गरी शिक्षा प्रदान गरिरहेको छ । त्यसैगरी उनी इन्टरप्रेनर्स अर्गनाइजेसन नेपालका सदस्य पनि हुन् ।
निर्देशले यी सबै कार्य गर्नका लागि प्रेरणाको स्रोत आफ्नी आमालाई मान्छन् । आमा नै सेढाई होल्डिङ्सको डाइरेक्टर पनि हुन् । कुनै समय चितवनकै प्रेसिडेन्सी कलेज पढ्दै गर्दा नै उनी सेयरमा लगानी गर्थे र बैंकमा पनि नगद जम्मा गर्थे । त्यसरी जम्मा गरेको पैसा पनि उनको व्यवसायमा जोडिएको छ । कुनै पुर्ण बिजनेस हाउसका लागि सबै सेगमेन्टको बिजनेस आवश्यक हुन्छ भन्ने उनको मान्यता छ । त्यसैले नै उनले सबै सेगमेन्टको व्यवसायमा लगानी गर्ने योजना बनाएका छन् । यो क्रम अझै जारी छ । आगामी दिनमा समेत यो कार्यले निरन्तरता पाउने निर्देशको भनाइ छ ।
– See more at: http://nepalauto.com/%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0-%E0%A4%AF%E0%A4%BE%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%87%E0%A4%B6/#sthash.QgKHmcdA.dpuf