भगवती पाण्डे
बुटवल, फागुन २५
सडक यातायातमा संलग्न सबै सरोकारवालाको लापरवाही, गैरजिम्मेवारीपन र भ्रष्टचारको कारण सडक यातायात जोखिमपूर्ण र अस्तव्यस्त भएको बुटवलमा आयोजित एक कार्यक्रमका सहभागीहरुले औंल्याएका छन् ।
सरकारी क्षेत्रबाट समयमा निती निर्माण र कानुन नबनाईनु, प्रशासनबाट त्यसको कार्यान्वयन र अनुगमन नगरिनु, यातायात व्यवसायीहरु जिम्मेवार नहुनु र सडक तथा सवारी साधन प्रयोगकर्ताहरुले कानुन र निती नियमको पालना नगर्नाले दिनप्रतिदिन सडक दुर्घटना बढ्दै गएको उनिहरुको भनाई थियो ।
सुरक्षित यात्रा अभियान नेपाल र नेपाल अटोमोबाईल्स एसोसिएन नासाको संयुक्त आयोजनामा मोटर ड्राईभिङ स्कुलमा कार्यरत प्रशिक्षकहरुको लागि आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उदघाटन कार्यक्रममा बोल्ने बक्ताहरुले सडक यातायातलाई सुरक्षित र मर्यादित बनाउनको लागि सडकसंग सम्बन्धित सरोकारवालाहरु जिम्मेवार हुनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले पहुंचको आधारमा विना डिजाईन र मापदण्ड विपरित निर्माण भएका सडक, विग्रीएका सडकको समयमा निर्माण र मर्मत नगर्ने सडक विभाग, सवारी साधनको नियमित मर्मत सम्भार नगर्ने यातायात व्यवसायी, नियम विपरित सवारी संचालन गर्ने चालक परिचालक तथा यी सबैको अनुगमन प्रति चासो नदिने र अनुगमन गरेपनि कामचलाउ गर्ने प्रशासन लगायतका सबै निकाय सडक दुर्घटनाका दोषि भएको बताए ।
उनले सडक निर्माणमा हुने गरेको अनियमितता, लापरवाही र भ्रष्टाचारको कारण पनि नेपालमा दुर्घटनाको सम्भावना बढ्दै गएको बताए । प्रमुख जिल्ला अधिकारी ढकालले दक्षताको आधारमा भन्दा पनि भनसुन र पहुंचको आधारमा सवारी चालक अनुमती पत्र दिने प्रवृत्तिका कारण पनि सडक दुर्घटनाको संख्या बढ्दै गएको बताए ।
“राम्रो संग सिप नसिकी लाईसेन्स लिनु भनेको आफैले आफ्नो मृत्युपत्र लिनु हो भन्ने नबुझ्दा सम्म सवारी दुर्घटना कम गर्न सकिन्न त्यसैले पनि लाईसेन्स दिने निकाय र लिने व्यक्ति यसप्रति जिम्मेवार हुनुपर्छ । ”ढकालको भनाई थियो ।
सुरक्षित यात्रा अभियानका अध्यक्ष नारायण प्रसाद अधिकारीको अध्यक्षता एवं सचिव दिनेश पाण्डेको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक प्रकाश अधिकारीले सवारी दुर्घटनालाई कम गर्न सबैभन्दा पहिले सवारी चालक अनुमती पत्र वितरणको लागि लिईने परिक्षा प्रणालीलाई नै परिवर्तन र परिमार्जन गर्न जरुरी रहेको बताए ।
सवारी दुर्घटनाबाट भएका ३ सय ५२ मृत्युमध्ये ५७ मृत्यु ट्याक्टरको कारण भएको भन्दै ट्याक्टरको लागि लिईन परिक्ष्ाँ प्रणाली अत्यन्त फितलो हुने गरेको उनको भनाई थियो ।
नासाका महासचिव गोविन्द भट्टराईले सवारी दुर्घटनालाई रोक्न नसकेपनि दुर्घटनापछि समयमा उद्धार उपचार गर्न सके दुर्घटनाको कारण हुने मृत्युलाई रोक्न सकिने बताए । उनले दुर्घटना न्यूनिकरणका पांच आधार मध्ये बैज्ञानिक पूर्वाधार विकास, चालकहरुको दक्षता र उनिहरुको व्यवहार, सवारी साधनको अवस्था र आवश्यक निती निर्माण र त्यसको कार्यान्वयन गर्न सके सडक यातायातलाई सुरक्षित बनाउन सकिने औंल्याए ।
पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले सडक यातायातको सुरक्षाको लागि यातायात क्षेत्रलाई सम्मान गर्ने र सवारी चालकलाई गुण र दोषको आधारमा मूल्यांकन गर्ने परम्पराको विकास गर्न जरुरी रहेको बताए । विभिन्न नाममा खोलिएका मजदुरका संगसंगठनहरुले दुर्घटना न्यूनिकरणको लागि भन्दापनि दुर्घटना भईसकेपछि चालकको संरक्षण गर्ने परिपाटीको कारण पनि दुर्घटना प्रति चालकहरु जिम्मेवार हुन नसकेको उनको भनाई थियो ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केशी, सिद्धार्थ यातायात व्यवसायी समितीका अध्यक्ष सुर्य कुमार सारु मगर, बुटवल यातायात समितीका अध्यक्ष्ँ डिल बहादुर थापा लगायतले सवारी दुर्घटना न्यूनिकरणको लागि कसैको एकल प्रयासले सम्भव नभएको भन्दै सबैको सामुहिक प्रयास आवश्यक रहेको बताएका थिए ।
दुईदिन सम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा लुम्बिनी, नारायणी, राप्ती र भेरीका ३० जना प्रशिक्षक चालकहरुको सहभागिता रहेको छ । प्रशिक्ष्ँण कार्यक्रममा नासाका प्रशिक्षकहरु देव कुमार श्रेष्ठ र पुष्पराज पौडेलले सहजीकरण गरेका छन् ।