चितवनमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सवारी जाँचका क्रममा १२५ सवारी कारबाहीमा परेको छ।
शुक्रबारदेखि आज बिहानसम्म गरेको जाँचका क्रममा ती सवारी कारबाहीमा परेको प्रहरीले जनाएको छ। उनीहरुबाट रु ७२ हजार राजस्व सङ्कलन भएको छ। यसमा १३ जना मापसे गरेर गाडी चलाउनेसमेत रहेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले छुट्टै स्थानमा गरेको छड्के जाँचका क्रममा गएराति मापसे गरेर मोटसाइकल चलाउने १९ जनालाई पक्राउ गरेको जनाएको छ।
कार्यालयले दिएको जानकारीअनुसार उनीहरुलाई अहिले मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको र आवश्यक कारबाहीपछि मात्रै छाडिने छ।
पछिल्लो समयमा जिल्ला प्रहरी र ट्राफिक प्रहरीले जिल्लामा सवारी नियम उल्लङ्घन गर्नेविरुद्ध जाँचमा कडाइ गरेको जनाएको छ।रासस