बुटवल चैत्र २२
सवारी दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला निकायका विचमा आवश्यक समन्वय र सहकार्य आवश्यक रहेको सोमबार बुटवलमा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
सवारी दुर्घटना मानविय लापर्वाहिका कारणले हुने भएको भन्दै उनिहरुले यसको रोकथामका लागि सबै पक्ष सजग र सतर्क बन्नु पर्ने बताए । बुटवल जेसिसले आयोजना गरेको सडक, सवारी दुर्घटना र हामी विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो धारणा राखेका हुन् । सवारी दुर्घटना हुने कारणहरु खोजेर त्यसको रोकथामका लागि लाग्न सके धेरै नागरिकहरुको दुर्घटनाबाट हुने मृत्यु रोक्न सकिने उनिहरुले बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रकाश अधिकारीले सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि आफु जस्तो सुकै कदम चाल्न तयार रहेको बताउनुभयो । उहांले सरोकारवाला पक्षका विचमा समन्वय गरेर काम गर्नका लागि आफ्नो तर्फबाट कुनै कसर बांकि नराख्ने बताउनु भयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विष्णु खनालले सडकको अवस्था, सडकमा गुड्ने सवारी साधन, सवारी चालक एवं यात्रु समेतका कारण दुर्घटना हुने भन्दै सबै पक्षका विचमा हातेमालो भएको खण्डमा दुर्घटना न्यूनिकरण हुने बताउनु भयो । पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जिवन बञ्जाडेले सवारी ऐन नियमावलीको कार्यान्वयन तथा सरोकारवाला पक्ष जिम्मेवार भए दुर्घटनाको अनुपात कम हुने विश्वास व्यक्त गर्नुभयो । सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेले नेपालमा दैनिक ६ जनाको दुर्घटनाका कारण ज्यान जाने गरेको भन्दै मानवश्रृजित घटना कमगर्न सके दुर्घटना स्वतः कमहुने बताउनु भयो ।
कार्यक्रममा यातायात व्यवस्था कार्यालय बुटवलका अधिकृत बालकृष्ण हुमागाई, सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर खुम भण्डारी, पश्चिमाञ्चय यातायात व्यवसायी संघका यमप्रसाद पाण्डे, निर्माण व्यवसायी संघका अध्यक्ष जमिन कक्षपती, इ रिक्सा व्यवसायी संघका कृष्ण तिवारी, उद्योग वाणिज्य संघका अनुपमान सैंजु, उद्योग संघका माधव प्रसाद पौडेल, साना तथा मझौला ढुवानी व्यवसायी संघका अध्यक्ष लक्ष्मण क्षेत्री लगायतले बोल्दै दुर्घटना न्यूनिकरणका आगि आआफ्नो क्षेत्रबाट भुमिका खेल्न तयार रहेको बताउनु भएको थियो ।
कार्यक्रम बुटवल जेसिसका अध्यक्ष राजु पौडेलको अध्यक्षता तथा महासचिव राजेन्द्र घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।