सुबुना बस्नेत ,सेतोपाटीबाट
रोइकराइ मात्र गरेर अकालमा ज्यान जाने लापरबाही रोकिन्न
शनिबार बिहान ६ बजेतिर म ओछ्यानमै थिएँ। घरबाट बुबाको फोन आयो। छोरी, तेरी साथी त बस दुर्घटनामा परिछिन् नि थाह पाइस्? मैले ‘कुन साथी?’ भनी सोध्न नपाउँदै बुबाले थप्नुभयो, ‘जिना र इशा के त, चक्र कार्कीका छोरी।’
बुबाले सासै नफेरी थप्दै जानुभयो, ‘जिना घाइते छिन् रे, इशा भने यो संसारमा रहिनन्।’ म छागाबाट खसेझैँ भए। गह भरिएर आयो, शरीर त्यसै शिथिल। मैले फोन काटेँ।
सम्झेँ, चक्र अङ्कल र मेरा बुबा म जन्मनु अघिदेखि जिल्ला वन कार्यालय, इलामका कर्मचारी हुनुहुन्थ्यो। बुबाहरु खुब मिल्ने। चक्र अङ्कल बेला-बेला हाम्रो घर पनि आइरहनु हुन्थ्यो। जिना र इशा अनि आन्टीसहित चार जनाको असाध्यै सुखी परिवार। उहाँहरुलाई छोराको रहर कहिल्यै भएन। चक्र अङ्कलले दुबै छोरीलाई कुनै कुराको कमी हुन नदिई हुर्काउनु भयो। जिना र म एउटै कलेज पढ्ने, बाटो पनि एकै थियो। इशा सानी तर पढाइमा मात्र नभई नृत्य, खेलकुद, बक्तृत्वकला सबैमा अगाडि। जिल्लाकै चर्चित एफएममा बाल कार्यक्रम चलाउथिन् ऊनी। सामाजिक काममा सधैँ अगाडि, असाध्यै हँसिली, गोरो वर्ण, लामो कपाल भएकी उनीलाई देखाउँदै गाउँका अरु बाबुआमाले भन्थे, ‘त्यो इशा जस्तो बन्न सिक।’
म डिग्री पढ्न काठमाडौँ आएँ। उनीहरु दुवै दिदी-बहिनी काठमाडौँमै पढ्दै थिए। यो वर्ष दसैंं मान्न हामीले लगभग एकै समयमा काठमाडौँ छोड्यौं। पढाइ र अफिसको बहानाले म दसै सकिने बितिकै फर्कें। उनीहरु भने दसैं, तिहार अनि छठ पर्वसम्मको बिदा मनाएर मेट्रो डिलक्समा फर्कदै रहेछन्. तर इशाले फेरि काठमाडौँ देख्न पाइनन्। जिना जीवन र मृत्युको दोसाँधमा छिन्।
विश्वास गर्नै गाह्रो भयो। अनि टिभी खोलें, समाचार आइसकेको रहेछ। भनिएको थियो, ‘काठमाडौंबाट विराटनगरतर्फ गइरहेको शुभश्री यातायातले विपरीत दिशातर्फबाट आएको बसलाई मकवानपुरको बसामाडी-२ वस्तीपुरमा शनिबार बिहान ठक्कर दिँदा एक विदेशी महिलासहित नौ जनाको ज्यान गएको छ।’
साथै घटनाका घाइते ३० मध्ये १२ को अवस्था गम्भीर छ। मृतकको नाम आयो। इशाको नाम पनि आयो। आकास खसेझैँ भयो। रुन, कराउन लागें। आफूले राम्ररी चिनेका मध्ये यति नजिकको मान्छे गुमाउनु परेको यो पहिलो पटक हो। मैले इशाको फेसबुक खोलें।
उनले केही महिनाअघि मात्रै आफ्नो फेसबुकको भित्तामा हाँसिरहेको फोटो राखेर लेखेकी रहिछन्,
(म हिजो हासिरहेकी थिएँ, म आज हासिरहेकी छु र म भोलि हास्ने छु। किनकि स्पष्टै छ कुनै कुराका निम्ति रुन समय धेरै छैन।)
दिनभरि मेरो मनमा एउटै प्रश्न घुमिरह्यो, किन हिजोआज नेपालमा यति धेरै सवारी दुर्घटना भईरहेका छन्? अनि यो सब भइरहँदा सम्बन्धित निकाय के गर्दैछन्?
मैले धेरैलाई यही प्रश्न गरें। जवाफमा कसैले २०७१ सालको सुरुवातमा कुनै प्रख्यात ज्योतिषीले यो साल नेपालको लागि राम्रो छैन भनेकै कारण यसो भइरहेको बताए भने कसैले साँगुरो राजमार्गलाई र कसैले ट्राफिकको कमजोरी देखाए। तर मेरो चित्त बुझेन। मनमा आगाको दन्को बालेर मैले दुई दिन बिताएँ। न निद्रा लाग्यो, न केही खाऊ झैँ। प्रत्येक क्षण बाल्यकालका सम्झना आइरहे।
दुई दिनपछि अफिस जादै गर्दा फेरि घरबाट फोन आयो। यस पटक ममीको आवाज थियो। सधैंभन्दा फरक र मलिन स्वरमा ममीले भन्नुभयो, ‘छोरी तँलाई सबै ठीकै छ नि? सन्चै त छस्? म भर्खरै मलामी गएर आएकी। इशाको दाह संस्कार भयो, माई खोलामा। हजारौं मलामी थिए। बाटोमा धेरै जाम थियो, पुग्न निकै गार्हो भयो। सारा इलाम रोएको छ आज। होइन कस्तो दिन आयो? भगवान पनि किन यति निस्ठुरी भएका? फक्रिन लागेका फूलजस्ता केटाकेटीलाई कसरी यत्तिकै लैजान सकेका होलान्?’
मलाई ममी धेरै भावुक भएको लाग्यो। आमाको मन न हो। मैले उहाँलाई बीचमा रोक्दै भनें, ‘मलाई सञ्चै छ ममी, केही चिन्ता गर्नु पर्दैन, सबै राम्रो चलिराखेको छ।’
ममी यतिमै रोकिनेवाला हुनुहुन्नथ्यो। उहाँ बर्बराउन लाग्नुभयो, ‘इशाकी आमा मुर्छित छिन्। अनि उद्योग वाणिज्य संघ इलामले आज उनीहरुको शोकमा सारा इलाम बजार बन्दको अनुरोध गरेको छ। त्यस्तै केटाकेटीहरुको स्कुल पनि लागेन आज।’
मैले ममीलाई केही भन्न सकिनँ। सान्त्वना दिएर फोन काटेँ।अनि फेरि सोच्न थालेँ, ‘आखिर यस्तो अप्रिय घटना घट्यो किन? चालकको लापरवाही हो भने उसलाई यो छुट कसले दियो? कतै हाम्रो न्यायालयको अक्षमता देखिएन?
म आफ्नो घर (इलाम) जाँदा धेरै पटक यस्तै गाडी चढेँ। मलाई अचम्म लाग्छ, लामो दूरीका यात्रामा किन मापासे चेकिङ हुँदैन?
एक पटक मैले क्याबिनमा बसेर यात्रा गरेँ। आधा रातमा ब्युझिँदा चालकलाई बनोटमा निदाईरहेको देखेँ। अनि ड्राइभिङ सिटतिर हेरेर झसंग भएँ। खलासी दाइले बस गुडाइरहनु भएको थियो। मैले सोधेँ, ‘तपाईलाई पनि गाडी चलाउन आउँछ?’
उसले फुर्ति लगाउँदै भन्यो, ‘अलिअलि, यी त सिकीरहेको छु।’ मैले उनीमाथि शंका गर्दै सोधेँ, ‘अनि तपाईं यति धेरै यात्रु बोकेर सिकीरहनु भएको? त्यो पनि यत्रो स्पिडमा?’
उसले हास्दै भन्न लाग्यो, ‘डराउनु पर्दैन, पहिलो पटक भएर डर लाग्या होला तिमीलाई। सबैले यसरी नै सिक्ने हो। हाम्रा गुरुजीले पनि यसरी नै सिक्नु भएको हो।’
म छक्क परेँ। त्यसपछि आँखा बन्द गर्न सकिनँ। भगवान जप्दै बिर्तामोडसम्म पुगियो, अलिअलि उज्यालो भयो। बल्ल ड्राइभर दाइले स्टेरिंङ समात्नु भयो अनि म निदाएँ। त्यस दिन त भाग्यले म लगायत सबै यात्रुको ज्यान बच्यो। दिनँहु यस्तो कति हुँदो हो? म कल्पना गर्न सक्दिनँ। आखिरमा आज यो सब देख्नु पर्यो।
यस पटक घटनामा मारिनेहरु उच्च शिक्षा हासिल गरिरहेका, कोही मेडिकल, कोही बिज्ञान, कोही व्यवस्थापन आदि पढिरहेका थिए। बाँच्नेहरु पनि त्यस्तै होनहार। तर, अफसोच आज सबै जसोको टाउकोमा गम्भीर चोट लागेको छ। यो राज्यको लागि पनि ठूलो क्षति हो।
अरुले जे गरे नि म भने यस घटनाका लागि भगवानलाई दोष दिँदै पुर्पुरोमा हात राखेर बस्न सक्दिनँ। आज म लगायत सम्पूर्ण इलामबासी अनि ड्राइभरको लापरवाहीका कारण आफन्त, प्रियजन गुमाउनु परेकाहरुको यही माग छ। घटनाको उचित छानबिन हुनुपर्छ र दोषीलाई कडा सजायको व्यवस्था गर्नुपर्छ। त्यसका लागि हामी जागौं।
त्यसो भए भोलि कसैले मैले जस्तै प्रिय साथिलाई गुमाउनुपर्ने दिन नअाउँला।
सेतोपाटीबाट