जोगिमारा दुर्घटनापछि मोडियो जीवन
खिलानाथ ढकाल . सेतोपाटीबाट
२०५७ साल माघ २३ गते राति ३ बजे। धादिङ जिल्लाको जोगिमारास्थित ट्रनिङ काट्ने क्रममा स्टेरिङको ‘टाइरड’ भाँचिएको मात्र याद छ।काठमाडौं–काँकडभिट्टा रुटको मकालु गाडीका चालक तेजबहादुर कार्की ४२ जना यात्रुसहित दुई सय मिटर तल त्रिशुली नदीमा झरेका थिए।सरदर ८०/९० स्पीडमा गाडी कुदाउँथे। ट्रनिङमा ६० स्पीड थियो।पाङ्ग्रालाई सन्तुलनमा राख्ने ‘टाइरड’ नै भाँचिएपछि त्यो ६० को पुरै स्पीड भीरबाट नदीमा पुग्यो।
अगाडिको भाग ठाडो परेर बस चुर्लुम्म नदीमा डुब्यो। ड्राइभर बसेको भागसम्म पानी नपुगेकाले उनी डुबेनन् छन्।मस्त निन्द्रामा रहेका यात्रुमध्ये ३२ जनाको घटनास्थलमै मृत्यु भयो। अरू बाँचेका थिए।कार्कीले आफू कसरी जोगिएँ भन्ने कल्पना गर्न सक्दैनन्। साढे तीन महिनापछि होस् खुल्दा उनले आफूलाई अपाङ्ग अवस्थामा पाए।
तिघ्रादेखि मुनीको दुबै खुट्टा काटिएको रहेछ। टिचिङ अस्पतालको बेड वरिपरि आफन्त रुँघिरहेका देखिन्थे।सपना हो कि विपना खुट्याउन मुस्किल परिरहेको थियो। सोधीखोजी गर्दा जोगिमारा घटनामा गाडीका स्टाफ कोही पनि बाँचेनन् छन्।बाँचेकाहरू को थिए, उनले चिनेनन्। को कस्तो अवस्थामा बाँचे भन्ने पनि पत्तो भएन।माघको ठिहीमा त्यसमाथि चिसो पानीभित्र कोही सम्भावना हुन्छ जस्तो लागेको छैन, कार्कीलाई।‘आर्मी र प्रहरीको गस्ती परेकाले चाँडै उद्धार भयो रे,’ जोगिमारा दुर्घटनाको चित्र उघार्ने प्रयास गर्दै कार्कीले भने, ‘साढे तीन महिनामा होस् खुल्दा दुबै खुट्टा काटिएका रहेछन्।’
***
सशस्त्र द्वन्द्वको बेला थियो।
तत्कालीन नेकपा (माओवादी)ले धादिङकै घोर्के भन्ने स्थानमा एम्बुस थापेको सूचना पाएपछि प्रहरी र सेना दुबै जाँदै गरेको थिए। ‘गस्ती थिएन र समयमै उद्धार भएको थिएन भने बाँच्दिनथें होला,’ कार्की भन्छन्, ‘होस् खुलेपछि सबै बृतान्त थाहा भयो।’यात्रु भरेर काँकडभिट्टादेखि काठमाडौंसम्मै उनी एक्लै हाँक्थे। अचेलजस्तो बीच बाटोमा पुगेपछि चालक परिवर्तन गर्ने नियम थिएन।उनी आफू मापसे गर्दैनथे, मकालु यातायातले त्यतिबेला मापसे गर्नेलाई इन्ट्री नै नदिने गरेको कार्कीको दाबी छ।‘बढी स्पीड हैन, दसा कसैले टार्न सक्दैन भन्ने लाग्छ,’ कार्की भन्छन्, ‘जे होस् अहिलेको जस्तो लापरबाही तरिकाले गाडी हाँकिदैनथ्यो।’
***
त्यो भयानक दुर्घटनाले कार्कीको जीवन उथलपुथल पारिदिएको छ। २०२१ सालमा ओखलढुंगा जिल्लामा जन्मिएका कार्की राजधानीमा रहेर ड्राइभिङमा संघर्ष गर्दैथिए।दस कक्षा पढेर छोडेका कार्की २०३२ सालमा राजधानी पुगेका थिए।सुरूमा सिनामंगलस्थित जडीबुटी वर्कसपमा काम गर्न थाले। त्यहीँ गाडी बनाउने काम सिके। ड्राइभिङ पनि सिक्ने मौका पाए।वर्कसपमा पाएको कामले एकातिर गाडीका हरेक पार्टपुर्जाको जानकारी लिए। अर्कोतिर हाँक्न पनि सजिलै भयो।
‘खै के सुर चढेर हो इन्डिया जान मन लाग्यो,’ उमेर छँदै धमिल्लिएको विगतबारे कार्की भन्छन्, ‘बरु उतै बसेको भए यस्तो हुने थिएन कि!’२०३९ सालमा भारत गएका रहेछन्।भारतको हिमाञ्चल प्रदेशमा ९ वर्ष बसे। त्यतै ट्रक चलाउँथे। कमाई राम्रै भइरहेको थियो। नेपाल फर्किएपछि उता जान मन लागेनछ। दुई वर्ष त्यतिकै काठमाडौं बसे।२०५२ सालमा मकालु यातायात समातेछन्। दस कक्षा पढेको र अनुभवले खारिएको चालक पाउँदा मकालुले सजिलै जागिर दियो कार्कीलाई।उतिबेला मकालु भन्ने गाडी धेरै लोकप्रिय मानिन्थ्यो। मकालु भनेपछि मान्छे यात्रा गर्न तम्सिहाल्थे। यस्तो गाडीमा रोजगारी पाउँदा गर्बिलो महसुस गरिरहेका थिए।
‘पाँच वर्षसम्म गाडी चलाइयो,’ कार्की भन्छन्, ‘काठमाडौंको काँडाघारीमा चारकोठे घर बनाइसकेको पनि थिएँ।’साढे तीन वर्षसम्म त उपचार गर्दै बित्यो। धन्न मकालु यातायातले उनको उपचार खर्च ब्यहोरिदिएको थियो।
***
साढे तीन वर्षपछि घर पुग्दा उनलाई धेरै बिरानोजस्तो भएको थियो। अस्पताल बस्दाबस्दा उनलाई दिक्क लागिसकेको थियो। घरमा टिभी हे¥यो, बस्यो बाहेक उनको केही काम थिएन।उठाइदिने अर्कैले, बसाइदिने अर्कैले।दिसा पिसाब अर्कैले गराउन लैजानुपर्ने भो। अपाङ्ग भएपछि कस्तो हुँदो रहेछ भन्ने उनले केही अवधिमै अनुभव गरे। हेलोहोचो पनि सकनुप¥यो।
‘परिस्थिति उल्टोतिर लागेपछि यस्तै हुन्छ भनेर चित्त बुझाउँथें,’ कार्कीले लामो स्वास लिएर भने, ‘अपाङ्ग भएपछि सबैले दिक्क मान्दिँदा रहेछन्।’ अपाङ्ग भएर हेला सहनुभन्दा केही गरेर देखाउनुपर्छ भन्ने भावना जाग्न थालेको थियो। तर के गर्ने भन्ने सोच्नै सकिरहेका थिएनन् कार्की।
***
एक दिन एभिन्युज टिभी हेर्दाहेर्दै। विश्व साइकलयात्री पुस्कर साहको अन्तर्वार्ता स्क्रिनमा आउन थाल्यो। त्यो अन्तर्वार्ता पुरै सुनेपछि भएभरको उत्साह एकैठाउँ जुटेर आयो। ‘खुट्टा भएको भए कतै पुगिहाल्थेंजस्तो लाग्यो,’ उनी भन्छन्, ‘त्यसपछि मैले पनि यात्री बन्ने सपना देखें।’ खुट्टा नभएपछि कसरी चलाउने र साइकल त! त्यसैले सोचे, ह्वीलचियर । २०६१ साल जेठ ४ गते। सहयोगीसहित ह्वीलचियर लिएर पहिले मेची–महाकाली यात्रामा निस्किए।
‘धेरै संघर्ष हुँदोरहेछ,’ तीन महिनामा यात्रा पूरा गरेको सम्झँदै उनी भन्छन्, ‘जिविस, नगरपालिका, प्रशासनले खर्चबर्चमा सहयोग गर्थे।’ ठाउँ–ठाउँमा सर्वसाधारण नागरिकले सहयोग गरेका रहेछन्। मेची–महाकाली यात्रा पूरा भए पनि त्यसले आत्मसन्तुष्टि दिएन। नेपालभरि घुम्ने इच्छा लाग्यो।मनाङ, मुस्ताङ, म्याग्दी र प्युठानबाहेक सबै जिल्ला घुमे।
तराईमा ह्वीलचियरले सम्भव भयो, पहाड कसरी यात्रा? ‘यात्रा न हो, ह्वीलचियर चल्ने ठाउँमा चलाउँछु,’ उनको जवाफ छ, ‘नचल्ने ठाउँमा भरिया लगाउँछु, पैसा तिरेर।’
***
अपाङ्ग भएर के भो त! उनी सपाङ्गलेझैं केही गरेर देशको इज्जत राख्न चाहन्छन्। अपाङ्गहरूको हित, पहिचानका लागि लड्न उनले यसो गरेका हुन्। नेपाल भ्रमण सकेपछि उनलाई विश्वयात्रामा निस्किन मन लाग्यो।दाङकी यमुना डाँगी जो, उनको यात्रामा सारथी बनिन्। उनी जहाँ–जहाँ जान्छन्, त्यहाँ–त्यहाँ यमुनाको साथ रह्यो।यमुना दुबै खुट्टा भए पनि टेक्न सक्दिनन् थिन्। अरू आठ जना स्वयंसेवक लिएर उनी निस्किए।
सुरूमा पश्चिम बंगाल हुँदै भुटान यात्रा गरे। त्यसपछि भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, अफगानस्तान घुमे।‘कतै थोरैथोरै यात्रा गरेर फर्किएको छु,’ उनी भन्छन्, ‘मेरो सोच विश्व घुम्ने हो।’ उनलाई विश्व घुमेर गिनिजबुकमा नाम लेखाउन रहर लागेको छ। दुबै खुट्टा नभएको अपाङ्गले विश्व यात्रा गर्यो भनेर सबैतिर सन्देश जाओस् अनि नेपालको प्रतिष्ठा बढोस् भन्ने मनोकांक्षा उनले बोकेका छन्।
दक्षिण एसियाली राष्ट्रको यात्रा पूरा भएपछि कार्की भारत हुँदै म्यानमार लाग्दै थिए।‘म्यानमारको सेनाले हवाइजहाजबाट आउनु भन्दै फर्काइदियो,’ उनी भन्छन्, ‘सेनाले फर्काएपछि भ्रमण त्यतिकै रद्ध भयो, सबै फर्के।’
२०७० साल माघमा नेपाल फर्किनुपर्यो।
***
घर फर्किए पनि मन अडिएन।
केही समय आराम गरेर कार्की फेरि चार महिनाअघि नेपालबाट मलेसिया जाने भन्दै यात्रामा निस्किएका थिए।
‘पानी जहाजबाट जाने सोच थियो,’ कार्की भन्छन्, ‘तर बिरामी परें।’भारतको कलकत्तामा पुगेपछि उनको स्वास्थ्यमा समस्या देखाप¥यो।
धेरै ह्वीलचियरमा बसेका कारण पछाडि घाउ भएछ। धेरै ह्वीलचियरमा बसेर पिल्सिँदा पिल्सिँदा घाउ निस्केपछि यात्रामा थोरै ब्रेक लागेको छ। कम्तीमा कलकत्तास्थित दूतावासबाट भारत भ्रमण गरेको प्रमाणपत्र लिएर मात्र फर्किने सोच बन्यो।त्यहाँ पुगे। दूताबासले दिल्ली नै जानुपर्छ भन्दियो। बिरामी अवस्थाबारे कार्कीले जानकारी गराए।‘त्यहाँको दूतावासले नै मेरो अवस्था देखेर जोगबनीसम्म ल्याइदियो,’ उनी भन्छन्, ‘त्यसपछि म अस्पताल भर्ना भएँ।’
***
कार्की फागुन १२ गतेदेखि उपचारका लागि कोसी अञ्चल अस्पताल भर्ना भएका छन्। सर्जिकल वार्डमा उपचारमा अनवरत उनलाई दुई सातापछि घाउ निको हुने डाक्टरले बताएका छन्।कोसीका मेडिकल सुपरीटेन्डेन्ट डा. रोशन पोखरेलका अनुसार कार्कीको उपचार निःशुल्क गरिएको छ।
नेपालमा अपाङ्गता भएका व्यक्तिहरूले भागेको पीडादेखि उनी एकदमै निराश छन्। बाटोमा माग्दै हिँडेको देखेका छन्। सडकमा सकिनसकि, घिस्रिएर, हिँडेको दृश्य उनको अगाडि आउँछ। कतिपयले छि ..छि.. र बचन लगाएको भोगेका पनि छन्।सरकारले अपाङ्गता भएकाहरूका निम्ति खासै केही पनि नगरेको उनको भनाइ छ। यतिसम्मकी अपाङ्गहरूको यकिन संख्या नै सरकारसँग नरहेको उनको आरोप छ। बाँच्नका निम्ति अपाङ्गले धेरै संघर्ष गर्नुपरिरहेको उनी बताउँछन्।
‘मेरो भोट त अपाङ्ग हैन, तर किन व्यवहार फरक गरेको होला?,’ उनको प्रश्न छ।
नेपालमा अपाङ्गता भएकाहरूका लागि खुलेको धेरै संस्था छन्, एउटा अपाङ्गको हैसियतले उनले सबै चियो गरेका रहेछन्।‘अपाङ्गका लागि भनेर खुलेका संस्थाले डलरको खेती गरेका छन्,’ उनी भन्छन्, ‘आएको सबै पहुँचवालाले पचाउँछन्।’घाउ निको हुनासाथ फेरि यात्रामा निस्किने सोच छ। पहिलेका सबै साथीले छाडेकाले नयाँ टिम बनाउने तयारी गर्दैछन्।
‘अबको यात्रा मलेसिया हो,’ उनी भन्छन्, ‘देशको जनता अपाङ्गले मागेर मात्र खान्छ भन्ने हैन । केही गर्छ भन्ने देखाउन लागिपरेको छु ।’