बुटवल, मंसिर, २६– व्यवसायीक र पेशागत मान्यता भन्दा माथि उठेर समाजमा रहेका संघसंस्थाहरुले सामाजिक कार्य गर्न सकेमा समाजको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
बुटवलमा शनिवार आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले समाजको विकास नै सबैको लक्ष्य भएका कारण त्यसमा भूमिका खेल्न सुझाव दिएका थिए । पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलको बार्षिक कार्यक्रम अन्तरगत आयोजित गरिव तथा जेहेन्दार विद्यार्थी छात्रवृति वितरण कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षाको उज्यालोबाट बालबालिकाहरुलाई बञ्चीत गरिएमा त्यसको असर समाजमा पर्ने हुदा शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन आग्रह पनि गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बर्तमान असहज परिश्थितिमा समाजमा रहेका सबै संघसंस्था, व्यक्तिहरुको भूमिका महत्वपूर्ण हुने हुदा सचेत नागरिकको सक्रियतामा जोड दिनु भयो । उहाले ट्रक समितिले समाजप्रतिको उत्तरदायित्वलाई सम्झेर गरेका कामको सबैले प्रशंसा गर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यालयका श्रोतव्यक्ति चन्द्रकान्त शर्माले शिक्षामा क्षेत्रमा देखिएको अन्यौलता र अप्ठ्याराहरुलाई हटाउदै बालबालिकाहरुलाई पढ्ने बातावरण बनाउनु पर्ने बताउनु भयो ।
समितिका अध्यक्ष लोकराज पोखरेलको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष यमप्रसाद पाण्डेको स्वागत तथा महासचिव टिकाराम गौतमको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न जिल्लाका सामुदायिक विद्यालयका २५ जना छात्रछात्राहरुलाई छात्रवृति वितरण गरिएको थियो । समितिले २०६३ सालबाट गरिब तथा जेहेन्दार यातायात मजदुरका छोराछोरीहरुलाई छात्रवृति अक्षयकोषमार्फत नगदसहित छात्रवृति वितरण गर्दै आएको छ ।