हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोमदेखि चीनको सीमाक्षेत्र कोरला नाका सडक सञ्जालसँग जोडिएको छ । स्थानीयवासी र सरोकारवाला निकायको पहलमा जोमसोम–कोरला सडकखण्डअन्तर्गत समर–भियना खण्डमा मर्मत गरिएपछि उक्त नाका जोडिएको हो ।मुस्ताङमा सम्पन्न सर्वदलीय वैठकको निर्णयअनुसार बन्द अवस्थामा रहेको सडकखण्ड मर्मत गरी नाका खुलाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो।
उहाँका अनुसार जिल्लास्थित राजनीतिक दल, स्थानीयवासी, युवा क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सीमा सुरक्षा बल र नेपाली सेनाको भीमदल गणलगायतको श्रमदानमा सडकको मर्मतकार्य सम्पन्न गरिएको छ । जिल्ला विकास समिति मुस्ताङमार्फत सडक मर्मतका लागि १२ लाख रुपैयाँ बजेटसहित आवश्यक उपकरण, दक्ष जनशक्ति, ग्याबिन तारजालीका सामाग्रीहरु उपलब्ध गराइएको थियो । पहाडमा रहेको उकालो, साँघुरो र भिरालो स्थानमा ग्रेड मिलाउने, सडक फराकिलो बनाउने, दुवैतर्फ पर्खाल लगाउनेजस्ता कामहरु उक्त सडकमा गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।
सडक निर्माणमा स्थानीयवासी, सरोकारवाला र सुरक्षा निकायसहित दैनिक झण्डै १ सय जनाले श्रमदान गरेका थिए । उक्त सडक मर्मतको कामसम्पन्न भएपछि अहिले दुइतर्फी रुपमा सवारी सञ्चालन हुन थालेका छन् । जोमसोम–कोरला सडक सञ्चालनमा आएपछि पोखरादेखि सिधै कोरलासम्म सवारी पुग्ने प्रजिअ अधिकारीले बताउनुभयो ।यसैगरी कालीगण्डकी नदीमाथी पक्की मोटरेबल पुल नबन्दासम्म सो सडकखण्डमा वर्षातको समय असारदेखि असोजसम्म भने सवारी आवागमन हुन नसक्ने बताइएको छ ।
जोमसोमबाट कोरला नाकासम्म १०० किलोमिटर सडकखण्ड रहेको छ भने गाडीको यात्राबाट एक दिनमा उक्त ठाउँमा पुग्न सकिन्छ । जोमसोम–कोरला नाका सहज रुपमा सञ्चालन भएपछि नचुङ–लिची भन्सारमा नेपाल र चीनबीच व्यापारी कारोबार, सामान आयातका साथै पर्यटकको समेत चहलपहल बढ्ने अपेक्षा गरिएको छ । योसँगै चिनियाँ मालसामानसहित दैनिक उपभोग्य सामाग्रीको आयात हुने भएको छ ।
– See more at: http://myagdikali.com/71753.html#sthash.uQg2qUob.dpuf