काठमाडौं – हलिउड अभिनेत्री तथा ग्लोबल रोड सेफ्टी एम्बेसडर मिचेल योह र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का पदाधिकारी बीच भेटघाट सम्पन्न भएको छ । भेटघाटमा नासाका अध्यक्ष दशरथ रिसाल, उपाध्यक्ष मेघराज पौडेल र महासचिव गोविन्द भट्टराई सहभागी थिए ।
उक्त अवसरमा नासाले संचालन गरिरहेको सडक सुरक्षा अर्थात रोड सेफ्टी सम्बन्धी विविध गतिविधिका बारेमा छलफल भएको थियो । युएनडिपीको समन्वयमा आयोजित उक्त भेटघाटमा युएनडिपीका उच्च पदाधिकारीहरुको समेत संलग्नता रहेको र आगामी दिनमा युएनडिपीले नासाका विभिन्न कार्यक्रममा सहयोग गर्ने बारेमा समेत छलफल भएको छ ।
मिचेल योह हाल संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को समन्वयमा नेपाल आएकी हुन् । उनी युएनडिपीको समेत सद्भावना दुत हुन् । नेपालमा भूकम्पपीडितका लागि संचालित विभिन्न गतिविधि निरीक्षणका लागि उनी आएकी बताइएको छ । स्मरणीय छ, गत २०७२ बैशाख १२ को भूकम्पको समयमा मिचेल नेपालमै थिइन् । त्यतिखेर नेपालमा एफआईए एसिया प्यासिफिक स्पोर्ट रिजनल कांग्रेस भइरहेको थियो । नासा एफआईए अर्थात फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइलको सदस्य हो । नासाको समन्वयमा त्यतिखेर नेपालमा रिजनल कांग्रेस भएको थियो ।
भूकम्पको लगत्तै पनि उनी नेपाल आएकी थिइन् । त्यतिखेर उनले नै एफआईएको तर्फबाट नासा सोलिडारिटी फन्डको घोषणा गरेकी थिइन् । हाल उक्त फन्ड अन्तर्गत नासाले विभिन्न कल्याणकारी र मोबिलिटी सम्बन्धी कार्यक्रम गरिरहेको छ ।
नासाले नेपालमा सडक सुरक्षा सम्बन्धी विभिन्न गतिविधि गरिरहेको छ । मिचेल ग्लोबल रोड सेफ्टी एम्बेसडर हुन् । गत बर्ष घोषणा गरिएको हाइ लेभल प्यानल फर रोड सेफ्टी २०३० की प्रबक्ता समेत हुन् ।