दिनेश पाण्डे
सडक दुर्घटना बिरुद्धको अभियानमा लागेको १३ बर्ष पुरा भएछ । यो बिचमा सडक दुर्घटनाका तिता अनुभवहरु छन । हुनत घटना होस या दुर्घटना सवै ह्दय बिदारक नै हुन्छन । कसैले रोक्छु भनेर पनि नरोकीने यो दुर्घटनाले समाजका हरेक सदस्यलाई पिडा दिई सकेको छ । यो अवधिमा मैले आफ्नै निकट परिवारको एक सदस्य गुमाएको छु भने अर्को एक सदस्य आजपनि अस्पतालको सैयामा संर्घष गरी रहेको अवस्था छ । लाग्छ अहिले हाम्रो समाजका हरेक ब्यक्ति वा परिवारमा आफ्ना नाल नाता कुल कुटुम्व वा टाढाको नातेदारको सदस्य भए पनि दुर्घटनाले पिडा दिई सकेको छ । नेपालको कुनै सडक छैन जहा सडक दुर्घटनाका कारण निर्दोषको ज्यान नगएको होस ।
समाजका सदस्य हामी हामी दुर्घटना को यो अवस्था देख्दा जती चिन्तीत छौ त्यती नै चिन्तीत सरोकारवालाहरु हुने हो भने सायद सडक दुर्घटना न्युनिकरण हुनेछ । तर जिम्मेवार तहमा रहेका वा त्यस संग प्रत्यक्ष रुपमा जोडीएकाहरुको गैर जिम्मेवारीपनका कारण सडक दुर्घटना आकासीदै गएको हो भनेमा फरक पर्दैन ।
मलाई मात्र होईन यस क्षेत्रमा चासो राख्ने हरेक सञ्चारकर्मीहरुलाई अनुभव भएको होला एउटा सडक दुर्घटनाको समाचार लेखेर वा पढेर नसक्दै अर्को दुर्घटना हुने गरेका कारण समाचारमा तथ्याङ्क फरक फरक पर्न गएको छ । सामाजिक सञ्जालमा आउने समाचारहरुको त कुरै छाडौं ।
आज दुर्घटनाको यस्तो भयावह अवस्था छ, हामी यात्रु, सवारी साधनका प्रयोगकर्ता वा सडक आसपासमा रहेका बटुवा मात्र होईन जो कोही पनि सडक दुर्घटनाको जोखिम बाट टाढा छैनौ । को कुन बेला कहा दुर्घटनामा पर्ने हो र कसको कुन सडकमा जिवन समाप्त हुने हो भन्ने त्रासको अवस्था छ । घरवाट हिडेको ब्यक्ति सकुसल गन्तव्यमा पुग्न सक्ला या नसक्ला घर परिवारका सदस्यको मनमा यही त्रास रहि रहन्छ ।
गएको साउन यताको ५ महिनाको अवधीमा मात्र नेपालमा सडक दुर्घटनमा ज्यान गुमाउनेको संख्या ३ सय नाघेको छ । बिश्व स्वास्थ्य संगठनले नेपालमा दिनमा सरदर ५ जनाको दुर्घटनामा ज्यान गएको तथ्याङ्क सार्वजनीक गरेको थियो तर अहिले यो संख्या नसोचेको ढंगले बढेको छ । अझ यस्तै अवस्था बिद्यमान रहि रहने हो भने नेपाल र नेपाली समाजले सडक दुर्घटनाको बिकराल अवस्थाको सामना गर्नु पर्ने निश्चीत छ ।
मंसिर महिना लाग्दा नलाग्दै ४७ जनाको ज्यान भेरी नदिमा सकीयो । अझै ८ जना कता छन पत्तो छैन । केही दिन अर्थात अर्को दुर्घटना नहुन्जेल भेरी नदिमा भासीएको बस र त्यसमा ज्यान गुमाएकाहरु प्रति थक्क गर्छौ अनी अर्को दुर्घटना हुन्छ भेरी नदि किनारमा उठाएका सव र तिनका परिवारले पाएको पिडा बिर्सन्छौ । यो हाम्रो परम्परा र स्वभाव बनेको छ । त्यस पछि वाग्लुङका जनप्रतिनीधी हरि खडकाले ज्यान गुमाए । त्यस क्षेत्रका जनप्रिय नेताको पहिचान बनाएका नेता गुमाउदाको पिडा र आक्रोस कम हुन नपाउदै काठमाण्डौको ववरमहलमा भएको सडक दुर्घटनाले उनको मृत्युको पिडाबोध हाम्रो समाजले गर्न सकेन । अर्थात अर्को घटना घटेपछि त्यस अघिको घटना बिर्साएको छ । यो घटना र हाम्रो प्रवृतीले यस अघिका घटनालाई बिर्साउने गरेको छ जसका कारण हामी सडक दुर्घटनाको समस्या बाट मुक्त हुन सकेका छैनौ र यही प्रवृती कायम रहीरहे् सक्दा पनि सक्दैनौ ।
दुर्घटना बढनुमा हामी आफु पनि जिम्मेवार छौ सडकमा बेपर्वाह हिडने हामी वा हाम्रा सन्तान लाई हामी कुनै बेला दुर्घटनाको जोखीममा छौ भनेर बुझाउन सकेका छैनौ । के हामीलाई थाह छैन होला सडकमा लार्पवाही गर्दा ज्यान जान सक्छ भन्ने कुरा ? त्यो थाह हुदा हुदै पनि हामी किन यस बिषयमा सोच्न सकेका छैनौ आश्चर्यको बिषय छ ।
सडक दुर्घटनामा हामी केवल चालक लाई दोष दिन्छौ वा घटनालाई अतिरञ्जीत गर्ने हाम्रो मानवीय प्रवृती छ । आज पनि हामी हरेक घटनामा चालकले ब्याक गरेर किचेको मात्रै भन्छौ तर आफु आफ्नै लार्पवाही वा अन्य कुनै कारणले दुर्घटनामा ज्यान गुमाउनेको संख्या र अन्य कारणले हुने दुर्घटनाको संख्याका बिचमा बिश्लेषण गर्ने र त्यसका कारणहरुलाई निरुत्साहन गर्न सकेका छैनौं । के हामीले भने जस्तै सडक दुर्घटनको कारण चालक मात्रै हो त ? । प्रश्न उठनु स्वभाविक छ ।
एक अध्यायनले सवारी दुर्घटनामा ज्यान गुमाउनेमा १८ देखि ३५ बर्ष सम्मका युवाहरुको संख्या ठुलो छ त्यसमा पनि मोटर साईकल चलाउने युवाहरुको समुह आफ्नै लार्पवाहीले दुर्घटनामा परेर ज्यान गुमाई रहेको छ । एउटा याुत्र बाहक सवारी दुर्घटना हुदा ठुलो जनधनको क्षती हुन्छ त्यसैले चर्चा बढी हुन्छ । तर सानो सवारी र मोटर साईकलमा सवार गर्दा ज्यान गुमाउने वा अंग भंग हुनेहरुको संख्या त्यो भन्दा ठुलो भए पनि त्यसले चर्चा र बहसको रुप लिन सकेको छैन ।
हामी हाम्रा सन्तानहरुलाई अध्यायनको बेला समेत परिक्षामा राम्रो नतिजा ल्यायौ भने मोटर साईकल वा स्कुटर किनी दिन्छु सर्त राख्छौं यहि हाम्रोे सर्त उनिहरुको मृत्युको कारण पनि बन्न सक्छ भन्ने हेक्का गर्न सक्दैनौं । उसले राम्रो संग सारिरीक क्षमताको बिकास गर्न सकेको छ या छैन उसले चलाउन चाहेको सवारी साधनको सक्ति वा वजन वा सिसी उसको सारिरीक वनोट र उसले चलाउन सक््ने सिपको बिकास गरेको छ या छैन भन्ने तर्फ सोच्दैनौ । जसका कारण आफ्नो सुन्दर फुलवारी उजाड हुदै गई रह्को छ ।
सडक दुर्घटना एक दुर्घटना मात्र होईन यो मानव श्रृजीत घटना पनि हो हामीले चाह्यौ भने ठ्याक्कै रोक्न नसके पनि न्युनिकरण गर्ने कार्यमा हाम्रो भुमिका महत्वपुर्ण हुन्छ । कतिपय अवस्थामा हामीले गर्ने लार्पवाही र हेल्चेक्र्याईका कारण मानिसको अनाहकमा ज्यान गएको छ । सडक प्रयोग गर्दा अरुको ख्याल नगर्ने वा सडकमा म मात्र हु भन्ने गलत सोचाईले हामीलाई सडकमा समाप्त हुने दिशा तर्फ उन्मुख गराई रहेको हुन्छ तसर्थ सडकमा अरु पनि आउन सक्छन अरुले गर्ने लार्पवाहीले पनि मेरो ज्यान जान सक्छ भन्ने कुरा ध्यान दिन सक्यौं भने अवश्य पनि अकालमा ज्यान जान अवस्था बाट जोगीन सक्छौं
सडक दुर्घटनाले मात्र मानिसका ज्यान जादैन तर सडक दुर्घटनामा परेकाहरुको समयमा उद्धार हुन नसक्दा उपचार नपाएर ज्यान गएको चिकित्सकहरुको भनाई छ । अधिकांश दुर्घटनाका घाईतेहरु लामो समय उपचार बाट बञ्चित हुदा वा समयमा उद्धार हुन नसक्दा मृत्युवरण गर्न परेका थुप्रै घटनाहरु छन । जुन पछिल्लो उदाहरणको रुपमा बाग्लुङका सभाषद हरी खडकाको मृत्युलाई लिन सकिन्छ । चिकित्सकहरुका अनुसार सभाषद खडकालाई समयमै उद्धार हुन सकेको भए वा समयमै अस्पताल पुर्याउन सकेको भए ज्यान जादैनथ्यो । कतिपय दुर्घटनाका घाईतेहरु समयमा उपचारको पहुचमा नहुदा मृत्यु वा बाचेको खण्डमा पनि अंगभंग भएर जिउनु परेको छ । यस्तो अवस्था आउन नदिन राजमार्ग वा त्यस संग जोडिएका महत्वपुर्ण सहरहरुमा ट्रमा सेन्टर सञ्चालन गर्न अत्यावश्यक देखिन्छ ।
पछिल्लो समय चौतर्फी जनदवाव बढेपछि राज्य केही जवाफदेही बन्न खोजेको होकी भन्ने संकेत देखिन थालेको छ । सरकारले भर्खरै सार्वजनीक गरेको सवारी तथा यातायात नियमावली २०७१ ले सार्वजनिक सवारी साधन चलाउनेहरुको योग्यता वारे स्पष्ट पारेको छ जसका कारण दुर्घटना न्युनिकरण हुन्छकी भन्ने आशा गर्न सकिन्छ तर बर्तमानमा जस्तै कानुनको तर्जुमा गर्ने तर कार्यान्वयनको पक्षमा हेक्का नगर्ने अवस्था हाम्रो राज्य संयन्त्रलाई नसुधार्ने हो भने सडकमा मानिस मरिरहने अवस्थाको न्युनिकरण कल्पना मात्र हुनेछ ।
सरकारले सार्वजनीक सवारी साधन हाक्ने चालकको योग्यताको चर्चा संगै केही मजदुर संघ संगठनहरुले असहमती जनाउने वा नागरीकको रोजगारी गर्न पाउने अधिकार कुण्ठीत गर्न खोजेको भन्दै बिरोध गर्न थालेको संकेत देखा परेको छ । एउटा ब्यक्ति जो दर्जनौ यात्रुको ज्यान लिएर हिडेको हुन्छ त्यसको योग्यताको मापदण्ड तोकीनु मानवधिकारको हनन होईन मानिसको बाच्न पाउने अधिकारको सम्मान र संरक्षण पनी हो भन्ने बुझ्नु जरुरी छ ।
सचिव सुरक्षित यात्र अभियान नेपाल