श्याम पोखरेल
बुटवल, फागुन २३ ।
कानुनी प्रकृयाबाट दर्ता गरी ई–रिक्सालाई विस्थापित नहुने गरी उचित रुपमा व्यवस्थापन गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।
ई– रिक्सालाई समयमै उचित व्यवस्थापन गर्न नसकिए भोलीका दिनमा विकराल अवस्था आउन सक्ने उनीहरुको भनाई छ ।
रुपन्देहीको बुटवल भैरहवा लगायतका क्षेत्रमा सञ्चालन भएका ई– रिक्साहरुको संख्या निर्धारण गरी रुट कायम गर्नुपर्ने बताए ।
जापनीज कम्पनी टेरोज मोटर्सले उत्पादन गरेको ई– रिक्साको आधिकारिक विक्रेता ग्रीन लुम्बिनी इन्टरप्राईजेजले आईतबार बुटवलमा आयोजना गरेको ई– रिक्सा व्यवस्थापनका चुनौति विषयक कार्यक्रममा वोल्ने वक्ताले यस्तो बताएका हुन् ।
यातायातका साधनलाई सही ढंगले व्यवस्थापन गरिए व्यवसायी व्यवसायीबीच अस्वस्थ्य प्रतिष्पर्दा नहुने र दर्घघटना पनि कम हुन सक्ने बताए ।
ई– रिक्साले थुप्रै बेरोजगार युवालाई रोजगार प्रदान गरेकाले व्यवसायी र मजदुरहरुलाई विस्थापित गर्ने गरी ई– रिक्सा विस्थापित गर्न नहुने बताए ।
सोही कार्यक्रममा बोल्दै पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलका प्रमुख तथा प्रहरी उपरिक्षक प्रकाश अधिकारीले ई– रिक्सा चलाउनु राम्रो भएको बताउंदै यसलाई सही ढंगले व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
दुर्घटनाको आधारमा सवारी चलाउन दिनुहुदैन भन्ने मान्यता गलत भएको बताउनुभयो ।
उहांले व्यवसायीलाई सवारी चालक अनुमति पत्र लिएर मात्र चलाउन दिन आग्रह गर्नुभयो ।
ई– रिक्सा व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद तिवारीले प्रहरी प्रसाशन र सर्वदलीय वैठकले ५ वटा रिक्सा विस्थापित र एउटा ई– रिक्सा स्थापित गर्ने निर्णय कार्यान्वयन नभएकाले समस्या उत्पन्न भएको बताउनुभयो ।
उहांले सम्बन्धित निकायले ई– रिक्साको रुटक कायम गर्दिनुपर्ने बताउनुभयो ।
यातायात व्यवस्था कार्यालय बुटवलका अधिकृत दुर्गासिंह थापाले लुम्बिनी अञ्चलमा ई– रिक्सा दर्ता गर्ने विषयमा विभागले कार्यविधि बनाई रहेको जानकारी गराउनुभयो ।
पश्चिम नेपाल वसव्यवसायी संघका अध्यक्ष दधिराम खरेलले लुम्बिनी अञ्चलबाट अनुमति नलिई सञ्चालन गरिएका ई– रिक्साले बुटवलको सुन्दरता विगारेको बताउनुभयो ।
उहांले यातायात व्यवस्था कार्यालयमा दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्ने र मुख्य सडकमा ई– रिक्सा चलाउन नपाईने बताउनुभयो ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष नर्वु लामाले ई– रिक्साले आम उपभोक्ताई सेवा दिएकाले यसलाई विस्थापित गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा ई– रिक्सा व्यवसायी संघ लुम्बिनीका महासचिव पे्रम थापा, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष यानेन्द्र जी.सी, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष तेजकुमार पाठक, पश्चिम नेपाल वस व्यवसायी संघका महासचिव जीवन वञ्जाडे, रुपन्देही व्यपार संघका महासचिव डिल्लीराज भण्डारी,बुटवल उद्योग वाणिज्य संघका मुक्ति अधिकारी, नेपाली कांगे्रस बुटवल नगर सचिव ज्योति भण्डारी लगायतले बोल्नुभएको थियो ।
ग्रीन लुम्बिनी इन्टरप्राईजेजका प्रोपाईटर ज्ञानु वस्यालको अध्यक्षता र विनोद परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।
सोही कार्यक्रममा ग्रीन लुम्बिनी इन्टरप्राईजेजका प्रोपाईटर ज्ञानु वस्यालले पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलका प्रमुख तथा प्रहरी उपरिक्षक प्रकाश अधिकारीलाई एक थान ई–रिक्सा प्रदान गर्नुभएको थियो ।