बुटवल जेठ १७
देवदहमा सञ्चालन हुन लागेको ईमरजेन्सी रेस्क्यु सेन्टर व्यवस्थापनका लागी स्थानिय व्यवस्थापन तथा सञ्चालन समिती गठन गरीएको छ ।
सुरक्षित यात्रा अभियान नेपालको समन्वयमा गठित ९ सदस्यीय समितीको संयोजकमा समाजसेवी ऋषिराम सापकोटा रहनु भएको छ भने सदस्य सचिवमा देवदह स्वास्थ्य चौकीका ईन्चार्ज जय किसन अधिकारी रहनु भएको छ ।
त्यसैगरी नवगठित समितीका सदस्यहरुमा समाजसेवी रुद्रमान ढकाल,बिष्णु प्रसाद ज्ञवाली, अन्जु श्रेष्ठ, पार्वती न्यौपाने, अर्जुन पोखरेल, प्रकाश अर्याल र यमलाल तिवारी रहनु भएको छ ।
सुरक्षित यात्रा अभियान नेपालका अध्यक्ष नारायण प्रसाद अधिकारीको अध्यक्षता तथा सचिव दिनेश पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा रेस्क्यु सेन्टर स्थापनाको आवश्यकता र अगामी दिनमा व्यवस्थापन समितीले खेल्नुपर्ने भुमिका बारेमा जानकारी गराईएको थियो ।
ब्यवस्थापन समितीले उक्त रेस्क्यु सेन्टरको व्यवस्थापन गर्नुका साथै दैवी प्रकोपमा परेकाहरुको उद्धारकालागी युवाहरुको परिचालन गर्ने छ । यसका साथै उक्त सेन्टरमा सडकको सुरक्षित प्रयोगबारे नियमित प्रशिक्षण दिईने छ ।
सडक दुर्घटनामा परेकाहरुको उद्धार र उपचारमा सहयोग गर्ने उदेश्यले नेपाल अटोमोवाईल्स एशोसिएसन नासासंगको सहकार्य र नासा फाउण्डेसनको सहयोगमा सुरक्षित यात्रा अभियान नेपालले उक्त सेन्टर स्थापना गर्न लागेको हो ।
रेस्क्यु सेन्टरमा दुर्घटनामा परेकाहरुलाई उद्धारका लागी उद्धार सामग्री र प्राथमिक उपचार सामग्रीहरुको व्यवस्थापन गरीने छ भने त्यस क्षेत्रका २५ जना युवाहरुलाई आकस्मीक घटनामा उद्धारबारे प्रशिक्षण प्रदान गरिने छ ।
उक्त रेस्क्यु सेन्टरमा लामो दुरीमा सवारी चलाउदा थाकेका चालकहरुका लागी बिश्राम गर्ने व्यवस्था मिलाईने सुरक्षित यात्रा अभियानले जनाएको छ ।