अब विद्युतीय सवारी साधन पनि दर्ता नगरी चलाउने नपाइने भएको छ। यातायात व्यवस्था विभागले काठमाडौं उपत्यका लगायतका देशका विभिन्न स्थानमा अहिले दर्ता बिना चलिरहेका विद्युतीय सवारी साधनहरुको आज चैत १ गतेदेखिको १५ दिनभित्र दर्ता गररे मात्र प्रयोग गर्न आग्रह गरेको छ। साथै विभागले उपत्यकामा १२ सय वाटभन्दा कम क्षमताको यस्ता साधन प्रयोग गर्न पनि नदिने भएको छ।
उपत्यका बाहिर भने ३ सय ५० वाट देखिका सवारी साधन दर्ता गरेर प्रयोग गर्न पाइने विभागले जनाएको छ। ३ सय ५० वाटभन्दा कम क्षमता भएका सवारी साधनले भने दर्ता गर्न नपर्ने पनि विभागले जनाएको छ। यस्ता सवारी साधन बिना दर्ता नै चलिरहेका हुँदा हालको लागि रोड वर्थनेस टेष्ट (Road worthness Test) गरेरमात्र संचालनमा ल्याउन पर्ने विभागका प्रवक्ता बसन्त अधिकारीले बताए।
विद्युतीय सवारी साधन दर्ता नियमन सम्बन्धी कार्यविधी स्वीकृत भए पश्चात् भने सोही बमोजिम हुने र अहिलेलाई भने ‘रोड वर्थनेस टेष्ट’ अनुसार लागू हुने अधिकारीले बताए। १५ दिनको अवधिभित्र दर्ता गरेर सवारी संचालनमा ल्याउनुपर्ने नियमको वेवस्ता गरेर अवधि पछि पनि दर्ता नगरी चलाएमा विभागले कडा कारबाही गर्ने अधिकारीले बताए। विभागले विद्युतीय सवारी साधनको बिक्री गर्ने बिक्रेताले पनि सवारी दर्ता गर्न नपर्ने, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नचाहिने, कर तिर्न नपर्ने जस्ता गलत सुचना र विज्ञापन नगर्न समेत निर्देशन दिएको छ।
दर्ता गर्न आवश्यक कागज पत्रः
विभागका अनुसार सवारी साधन दर्ता गर्न अन्य सवारी दर्ता जस्तै नागरिकताको प्रतिलिपी, खरिद बिल र भ्याट बिल आवश्यक पर्छ। साथै सावारी दर्ता शुल्क भने पेट्रोल डिजलबाट चल्नेभन्दाको कम रहेको अधिकारीले बताए। सवारी दर्ता अनिर्वाय भएपनि वार्षिक कर भने नलाग्ने विभागले जनाएको छ। दर्ता शुल्क भने न्यूनतम १ सय ५० रुपैयाँबाट सुरु हँुदै वाट अनुसार फरक पर्ने अधिकारीले बताए। सबै प्रक्रिया पुरा गरेर सवारी सञ्चालन गर्दा लाइसेन्स र ब्लु बुक अनिर्वाय हुनुपर्ने उनले बताए।
सेतोपाटी बाट