७ दिन सम्ममा घर धनी आफैले भत्काउने प्रतिबद्धता
भगवती पाण्डे
बुटवल, जेठ १०
सडक सिमा मिचेर घर निर्माण गरेकाहरुले पटक पटक आग्रह गर्दापनि घर नभत्काएपछि स्थानीय प्रशासनले हटाउन थालेको छ ।
बुटवल बेलहिया व्यापारीक मार्ग परियोजना सडक सिमा मिचेर बनाईएका घरहरुका कारण सडक बिस्तार कार्यमा अवरोध सृजना गरेकाहरुलाई पटकपटक सुचना गरी सडक अवरोध हटाउन आग्रह गरेपनि अवरोध नहटाएपछि आज डोजर लिएर घर भत्काउन गएको थियो ।
सवै भन्दा बढी अटेर गरेका केही घरहरु भत्काउदै गर्दा पुगेको बुटवल उद्योग वाणिज्य संघले संस्थागत रुपमै घरधनीहरुको तर्फबाट घर भत्काउन एक हप्ताको समय अवधी मागेपछि परियोजनाले एकहप्ता समय थप गरेको छ ।
राजमार्ग चौराहमा सडक मिचेर बनाईएका संरचना भत्काउन प्रहरी पुगेको परियोजनाको टोलिले घर भत्काउन शुरु गरिरहंदा उद्योग वाणिज्य संघका अध्यक्ष, उपाध्यक्ष, सहित बुटवल नगरविकास समितीका अध्यक्ष समेत घर नभत्काउन दवाव दिन पुगेका थिए ।
बुटवल बेलहिया व्यापारिक मार्ग परियोजनाका ईञ्जिनियर लिला भण्डारीले बुटवल उद्योग वाणिज्य संघले संस्थागत रुपमै व्यवसायी र घरधनीहरुको तर्फबाट एकहप्तामा आफैले घर भत्काउन समय अवधी मागेपछि एकसातालाई समय सिमा दिईएको बताए ।
उद्योग वाणिज्य संघले संघका अध्यक्ष महेशमान सिंह, निवर्तमान अध्यक्ष सुरेन्द्र श्रेष्ठ, पत्रकार, स्थानीय उपभोक्ता र प्रहरी प्रशासनको उपस्थितीमा एकसाता भित्रमा आफैले घर भत्काउने समय मागेपछि त्यो अवधीभर डोजर नलगाईने तर एकसाता भित्र पनि भत्काउन शुरु नगरिए सडक सिमा भित्र रहेका घरहरुको पिल्लर समेत भत्काउने लिखित सहमती भएको उनले बताए ।
सडक सिमा मिचेर बनेका घर भत्काउन अटेर गर्नेमा निर्वतमान अध्यक्ष शुरेन्द्र श्रेष्ठ समेत छन । श्रेष्ठको घरको पहिलो तल्लाको रेलिंङ्क परियोजनाले भत्काई दिएको छ । उनि संगै परियोजनाले चिनिया काजी श्रेष्ठ,कृष्ण श्रेष्ठ, प्रकाश चन्द्र श्रेष्ठ, दिप आचार्य लगायतको घरको अग्र भागको केही अंश डोजरले भत्काएको छ
विगत तिनवर्ष देखि निर्माण शुरु भएको बुटवल जानकीनगर खण्डको ३ किलोमिटर सडक बुटवलका सम्पन्न र विभिन्न संस्थामा आवद्धहरुकै कारण निर्माण पुरा हुन सकेको छैन । बुटवलको राजमार्ग चौराहको प्रारम्भमै रहेका केही घरधनीले ओगटेको सडक खालि नगर्दा आफूहरुलाई अन्यत्र समेत काम गर्न कठिनाई भएको परियोजनाले बताउंदै आएको थियो ।
परियोजनाले गत फागुन महिनामा अन्तिम पटकलाई भन्दै १० दिनको सुचना जारी गर्दै संरचना हटाउन आग्रह गरेको थियो । तर राजमार्ग चौराहमा रहेका केहि घरधनीहरुले यातायात मन्त्रीदेखि प्रधानमन्त्री समेतलाई भेट गरी घर नभत्काउन पहल गर्न आग्रह र अनुरोध गर्दै आएपछि परियोजनाले तत्कालको लागि घर भत्काउन सकेको थिएन ।
बुटवल राजमार्ग चौराहदेखि तिलोत्तमा जानकीनगरसम्म ३ किलोमिटर क्षेत्रमा
सडकको दायांवायां ७१ घरहरुले एक फिटदेखि नौं फिटसम्म सडक
मिचेका छन ।
अधिकांश व्यक्तिहरुले आफैले घर भत्काएपनि राजमार्ग चौराहका केहि व्यक्तिहरुले भने राजनितिक तथा संस्थागत पहुंचको आडमा परियोजनाको आग्रहलाई वेवास्ता गर्दै सडक अवरोध नहटाएका हुन् ।
अझैपनि एकसाताको लागि समय सिमा मागेका व्यवसायीहरु आफैले घर भत्काउछन् या परियोजना आफैले डोजर लगाउनुपर्ने हो त्यो भने हेर्न बांकि छ ।