स्वस्तिक श्रेष्ठ
बुटवल, ३ वैशाख
छाडाचौपायाको दिर्घकालिन ब्यावस्थापनको काम शुरु नहुदा बुटवलबासीले समस्यामा भोग्नुपरेको छ । दैनिकजसो घरघरमा पसेर खाद्यबस्तु तथा खेतका बालीनाली खानुका साथै सडकमा दुर्घटना निम्त्याउने कारणको रुपमा रहेको छाडा चौपायालाई ब्यवस्थापनको अगुवाई गरेको बुटवल उपमहानगरपालिकाले काम थाल्न ढिलाई गर्दा नगरवासीलाई समस्या परेको हो । सरोकारवाला संघसंस्थाहरुको संयन्त्र बनाएर काम अगाडी बढाउने निर्णय भएको दुई हप्ता वित्दा पनि थप काम भएको छैन ।
ट्राफिक प्रहरीले सडकमा देखिएका चौपायालाई लखेट्ने काम गरिरहेको छ । अगुवाई गर्ने उपमहानगरपालिका नतात्दा आफुहरु थप कार्य बढाउन नसकेको पश्चिामाञ्चल क्षेत्रीय ट्राफिक कार्यालयको भनाई छ । केही दिन अगाडी छाडाचौपायालाई लखेटेर रामनगर ल्याउने काम गरेको भएपनि प्राविधिक कारण देखिएपछि रोकिएको कार्यालयले जनाएको छ ।
छाडा चौपाया ब्यावस्थापन समितिको नेतृत्व बुटवल उपमहानगरपालिकाले गरेको हुदा पनि यो कामलाई महत्वदिएर अगाडी लैजानुपर्ने अन्य सरोकारवालाहरुको दाबी छ । पछिल्लो एक महिनाको अवधिमा सडकमा छाडाचौपायाको संख्यासंगै दुर्घटना बढेपछि नियन्त्रणका लागी भन्दै उपमहानगरपालिकाले दीर्घकालिन ब्यावस्थापन अप्नाउने सोच बनाएको हो । संयन्त्रको बैठकले एक हप्ताभित्र छाडाचौपायालाई एक ठाउमा संकलन गर्ने र त्यसको उचित ब्यावस्थापन समेत गर्ने निणर्य गरेको थियो । तर दुई हप्ता वितिसक्दा पनि काम अघि बढ्न सकेको छैन । छाडाचौपाया एक ठाउमा लग्ने प्रयास गरिएको भएपनि त्यसलाई ब्यावस्थापन गर्न कठिनाई देखिएकाले काम रोकिएको बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुईटेलले बताए । ब्यावस्थापन गर्नका लागी विभिन्न सरोकारवाला निकायबाट हुनपर्ने थप सक्रियता कम भएकाले काम अगाडी बढ्न नसकेको उनले बताउछ ।
बुटवलको गोलपार्क, बहुमुखि क्याम्पस, ट्राफिक चोक, पुष्पलाल पार्क, लुम्बिनी अञ्चल अस्पताल, मिलन चोक, राजमार्ग चौराहा, कालिकानगर, योगीकुटी क्षेत्रमा छाडाचौपाया दिनभर समूहमा बस्ने गर्दछ । यसले गर्दा सडकयात्रु र सानाठुला सवारी साधनलाई सडकमा हिड्न कठिनाई भएको छ । रातको समयमा भने खेतमा पसेर बाली सखाप गर्ने गरेका छन।
पश्चिम नेपाल बस ब्यवसायी समितिका अध्यक्ष दधि खरेलले गौशालाको अवधारणा ल्याउनुपर्ने सुझाव दिएका छन । कालिकानगरमा चौपाया बचाउदा बस दुर्घटनामा परेको उदाहरण दिदै उनले सडक दुर्घटनामा चालक र यान्त्रीक गडबढीमात्र बढि दोष देखाउने काम हाबी भएकोमा दुखेसो गरे ।
दिर्घकालिन समाधानका लागी विकल्पको खोजी गर्ने जिम्मेवारी पाएको कार्यदलले तिलोत्तमा नगरपालिकासंग समन्वय गरेर काम अगाडी बढाउन उपयुक्त हुने निष्र्कष निकालेको छ । छाडाचौपाया जंगलमा लगेर छोड्ने काम प्रभावकारी नहुने भन्दै तिलोत्तमा नगरपालिकाले बनाउन लागेको गौशालामा लगानीको वातावरण बनाएर काम अगाडी बढ्न सुझाव दिएको छ ।