मनोरंजन शर्मा
भैरहवा, २७ फागुन – सडक मापदण्डविपरीत बढी भार वहन गरेका भारतीय ट्रकलाई ट्राफिक प्रहरी रुपन्देहीले कारबाही तीव्र बनाएको छ । विशेषगरी भारतबाट मार्बल, चामल, क्लिंकर, एमएस ब्लेड, खाद्यान्नलगायत सामग्री बोकेर आउने ट्रकमाथिको कारबाही प्रहरीले तीव्र बनाउँदै लगेको हो ।
सडक डिभिजनले सडक निर्माण गर्दा कुन ट्रकले कतिसम्म भार वहन गर्नसक्ने भनेर सडक निर्माण गर्नुपूर्व नै निर्धारण गरिसकेको हुन्छ । तर, अहिले सडक मापदण्डविपरीत भारतीय ट्रकले क्षमताभन्दा दोब्बर बढीसम्म सामान ढुवानी गर्ने गरेका छन् ।
सडक डिभिजनले निर्धारण गरेको बाटोको बनावट र क्षमताअनुसार ६ चक्के ट्रकले १० टन, १० चक्केले १७ टन, १२ चक्केले २१ टन र १४ चक्के ट्रकले २५ टनसम्म सामान ढुवानी गर्न सक्ने ट्राफिक कार्यालय रुपन्देहीका निमित्त प्रमुख तथा प्रहरी सहायक निरीक्षक विष्णु जिसीले जानकारी दिए ।
“क्षमताभन्दा बढी सामान ढुवानी गरेको पाइएपछि नियन्त्रणका लागि प्रयास सुरु भएको छ । सजिलै अर्को गाडीमा लोड गर्न मिल्ने सामानलाई अर्को ट्रकमा क्षमताअनुसार लोड गरेर लैजाने र बढी क्षमता बोकेबापत जरिवाना पनि लिने गरेका छौं,” उनले भने ।
भैरहवाको बेलहिया नाका हुँदै नेपाल भित्रिने मालवाहक ट्रक क्षमताभन्दा बढी सामान लिएर आउने गर्छन्, जसले गर्दा नेपालका सडक छिटै बिग्रिने गरेका छन् । क्षमताभन्दा बढी भार वहन गर्ने ट्रकलाई भन्सार बिन्दुबाटै नेपाल प्रवेश गर्न रोक नदिई बढी सामान अर्को गाडीमा लोड गरेर मात्र लैजाने व्यवस्था ऐनमा भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा भारतीय ट्रकले क्षमताभन्दा दोब्बर बढीसम्म सामान बोकेर आउने गरेका छन् ।
बढी क्षमता भार वहन हुँदा नेपालका सडक तथा पुल जीर्ण बन्दै गएका छन् भने निर्माण सम्पन्न भएको १ वर्षसम्म हुने परीक्षण समय (मर्मत समय) नहुँदै भत्किने तथा सवारी दुर्घटनासमेत बढ्दै गएको छ ।
बढी भार वहन गरी आउने ट्रकलाई भन्सारमै रोकेर अर्को ट्रकमा लोड गरी ढुवानी गर्ने व्यवस्था भए पनि नेपाली ट्रकले समेत ढुवानी गर्न पाउने लुम्बिनी ट्रक व्यवसायी समितिका अध्यक्ष विष्णु खरेलले बताए । “हामी भन्छौं, बढी भार वहन गर्ने ट्रकलाई नेपाली सडकमा गुड्न दिनै हँुदैन । तर, प्रहरीले नेपाली ट्रकलाई मात्रै बढी भार वहन गरेको पाए अर्को ट्रकमा लोड गराउने तर भारतीय ट्रकलाई १ हजार रुपैयाँ जरिवाना लिएर छाड्छन्,” अध्यक्ष खरेलले भने ।
ट्राफिक प्रहरीले भने पछिल्लो समय आफ्नो सक्रियता बढाउँदै लगेको ट्राफिक प्रहरी पोस्ट बेलहिया नाकाका इन्चार्ज विष्णु कार्कीले बताए । “अहिले हामीले ओभरलोड गर्ने ट्रकलाई कारबाहीस्वरूप जरिवाना गर्नेमात्रै नभई अर्को ट्रकमा लोड गर्न मिल्ने प्रकृतिका सामान छन् भने अनलोड गराउने गरेका छौं,” उनले भने,”